विराटनगर । विराटनगरका अगुवा नागरिक तथा राजनीतिक व्यक्तिहरुले आन्दोलनका समयमा भएका घटनामा आधारित भएर नेताहरुमाथि चलाइएको मुद्दा खारेज हुनुपर्ने बताएका छन् ।
वृहत् मधेशी नागरिक समाज विराटनगरले शनिबार विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी वक्ताहरुले सांसद लक्ष्मी महतो र रेशमलाल चौधरीमाथि लागेको मुद्दा राजनीतिक प्रकृतिको भएको भनदै खारेज हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवकुमार मण्डलले सांसद महतो र पूर्व सांसद चौधरी मुक्ती आन्दोलनमा सहभागी भएको भन्दै त्यस क्रममा भएका घटनालाई कारवाहीको विषय बनाउन नहुने बताए । उनले विगतमा सञ्चालन गरिएको जनयुद्धताका पनि कतिपय कमजोरी भएको र त्यसलाई सच्याउँदै आन्दोलनले राजनीतिक इतिहास बनाएकोले सबै आन्दोलनहरुबाट भएका उपलब्धीहरुको रक्षा गर्नुपर्नेमा जोड दिए । नेता मण्डलले सांसदद्वय राजबन्दी भएकोले निःशर्त राज्यले माफी दिनुपर्ने बताए ।
त्यस्तै प्रदेश न. १ का एमाले सांसद जयप्रकाश चौधरीले नेपालमा अहिलेसम्म सञ्चालित सबै वाम प्रजातान्त्रिक आन्दोलनहरुमा मधेशी र थारुहरु एकजुट भएर सहभागी भएको भन्दै जातीय मुक्ति आन्दोलनमा ठूला पार्टीहरुको बक्रदृष्टि पर्ने गरेको टिप्पणी गरे । उनले लक्ष्मी महतो र रेशम चौधरी निर्दोष हुँदाहुँदै पनि राज्यले झुटो मुद्दा लगाएकोले मुद्दा खारेज गर्नै पर्ने बताए ।
त्यस्तै कार्यक्रममा नेपाली कांग्रेस मोरगका उपाध्यक्ष भक्ति माझीले थारु तथा मधेशीहरुको हकहितका लागि निरन्तर काम गर्दै आएको बताए । पार्टी राजनीतिबाट विरक्तिएका पत्रकार रामरिझन यादवले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । उनले थारु र मधेशी एक अर्काको पूरक भए पनि सत्ता स्वार्थबाट ग्रसित नश्लीय चिन्तनको कारण कालान्तरमा यी दुई जाति भिन्दाभिन्दै आन्दोलन गरेकोले समष्टिगत रुपमा सफलता प्राप्त गर्न नसकेको बताए । यादवले सांसदद्वय महतो र चौधरीमाथि लागेको मुद्दा शीघ्र खारेजीको माग गरे ।
कार्यक्रममा तमलोपाका केन्द्रीय सदस्य बरेज हक, प्राध्यापक महेन्द्रनारायण यादव, डा. योगेन्द्र प्र. यादव, भूपू क्याम्पस प्रमुख सरोज देव, अध्यापकद्वय डा. कामेश्वर यादव तथा सूर्यनारायण यादव, वरिष्ठ अधिवक्ता रामलाल सुतिहार, पत्रकार श्यामलाल सुतिहार, कुशवाहा कल्याण समाजका उपाध्यक्ष परमानन्द मेहता, जनमत पार्टीका केन्द्रीय सदस्य सूर्यदेव यादवलगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।
वृहत् मधेशीनागरिक समाज, विराटनगरका अध्यक्ष सूर्यनाथ सिंहको अध्यक्षतामा सम्पन्नभएको सो कार्यक्रममा कोषाध्यक्ष योगेन्द्रप्रसाद यादवले स्वागत गरेका थिए । समाजले मोरङका प्रजिअमार्फत् सरकारलाई ज्ञापनपत्र बुझाएर सांसदद्वयको रिहाइका लागि दवाव दिने तयारी गरेका संस्थाका सचिव सूर्यनारायण यादवले बताए ।

