विराटनगर । प्रदेश १ सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले थप तीन मन्त्रीलाई नियुक्त गर्ने तयारी गरेका छन् ।

यसअघि पुस २५ गते आफ्नो सपथसँगै ३ ‘विनाविभागीय मन्त्री’ नियुक्त गरेका मुख्यमन्त्री कार्कीले थप ३ जनालाई नियुक्त गर्ने तयारी गरेका हुन् ।

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार नेकपा माओवादी केन्द्रका २ र नेकपा एमालेका १ मन्त्रीको नियुक्तिपछि आजै सपथ हुनेछ । प्रदेश प्रमुखको कार्यालयमा मन्त्रीहरुको सपथको तयारी छ ।

माओवादी केन्द्रबाट तेह्रथुमका दुर्गा चापागाई र मोरङका जीवन आचार्य मन्त्री बन्दैछन् । आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाई हुन् । पार्टीको प्रदेश कमिटि उनलाई मन्त्री बनाउन नहुने पक्षमा भएपनि प्रचण्डको निर्देशनमा उनले मन्त्री हत्याउन सफल भएका हुन् ।

यस्तै आज नै नेकपा एमालेको तर्फबाट सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारीले पनि मन्त्रीको सपथ लिँदैछन् । मन्त्रालयको टुंगो नलागेको र भागबण्डा पनि भइनसकेकोले आज नियुक्त हुने मन्त्रीहरु पनि ‘विनाविभागीय’ हुनेछन् ।

यसअघि नै मुख्यमन्त्री कार्कीले एमालेबाट ताप्लेजुङका तिलकुमार मेन्याङ्बो, राप्रपाबाट झापाका भक्तिप्रसाद सिटौला र जसपाबाट ताप्लेजुङकै निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरिसकेका छन् । आजको नियुक्तिसँगै कार्कीको मन्त्रिपरिषद ७ सदस्यीय हुनेछ ।