विराटनगर । प्रदेश १ को चौथो मुख्यमन्त्रीमा बहुमत प्रदेशसभा सदस्यको समर्थनसहित दावी पेश गरेका हिक्मतकुमार कार्कीले आगामी ५ वर्ष यहि गठबन्धनको सरकार कायम हुने बताएका छन् ।

मुख्यमन्त्रीको दावी पेश गर्नु अगाडि प्रदेशसभा सचिबालयमा सञ्चारकर्मीसँग कुरा गर्दै कार्कीले आगामी ५ वर्षसम्म यहि गठबन्धन कायम हुने बताएका हुन् ।

मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रसँग आलोपालो गर्ने सहमति भएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा घुमाउरो तरिकाले कार्कीले त्यसलाई स्वीकार गरेका छन् । ‘आगामी ५ वर्ष यहि गठबन्धनको सरकार जान्छ’ उनले भने, ‘तर, मुख्यमन्त्री र मन्त्रिहरु फेरिन सक्छन् ।’ एमाले र माओवादीबीच गठबन्धन गरेर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने सहमति बन्दा आलोपालोको सहमति भएको थियो । प्रदेश सरकारहरुमा पनि आलोपालो गर्ने सहमति शीर्ष तहमै भएको बताइन्छ ।

प्रदेश १ को मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोको पनि दावी थियो । तर, शीर्ष नेताहरुबीच पहिलो चरणमा कार्की मुख्यमन्त्री बन्ने र अढाइ वर्षपछि दोस्रो चरणमा आङ्बो मुख्यमन्त्री बन्ने सहमति भएको बताइन्छ । यद्यपी नेताहरुले त्यसबारे औपचारिक प्रतिक्रिया भने दिएका छैनन् ।

आज विहान कार्की र आङ्बोबीच एक्लाएक्लै छलफल भएको थियो । सो छलफलमा पनि आलोपालो मुख्यमन्त्री बन्नेबारे कुराकानी भएको अनुमान गरिएको छ । यद्यपी आङ्बोले आलोपालोको सहमति भएकोबारे सोधिएको प्रश्नमा कुटनीतिक जवाफ दिएका छन् । ‘अहिले एमाले दलको नेतालाई मुख्यमन्त्री बनाउने सहमति भएको हो’ उनले भने, ‘बाँकी कुरा मुख्यमन्त्रीको नियुक्तिपछि सहमति हुनेछ ।’