विराटनगर । काठमाडौँको कपनस्थित सरस्वतीनगरमा भएको निरु भन्ने नीरा पाण्डेको हत्यामा संलग्न आरोपमा प्रहरीले झापाबाट एक व्यक्तिलाई पक्राउ गरेको छ।
झापाको धुलाबारीबाट पक्राउ परेका विनोद विक नाम गरेका बाउन्सरलाई प्रहरीले काठमाडौं लैजाने तयारी गरेको छ ।
अभियुक्त विक काठमाडौँस्थित एक रेष्टुरेन्टमा बाउन्सरको काम गर्ने गरेको बताइएको छ । नीराको हत्यापछि उनी भागेर झापा पुगेको बताइएको छ ।
कपनस्थित सरस्वतीनगरमा भाँडा पसल सञ्चालन गर्ने निरुको वैशाख ७ गते पसलमै हत्या भएको थियो । उनको शरीरका झन्डै २० ठाउँमा चक्कु रोपिएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न पहिचान हुन नसक्दा यसबीच प्रहरीले केहि व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो । निरुको सिक्री बाउन्सर विनोदको साथमा रहेको पाइएकोले हत्या उनैले गरेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।
करिब १३ वर्षदेखि भाँडा पसल सञ्चालन गर्ने निराको दिउँसै हत्या भएपनि प्रहरीलाई अपराधीसम्म पुग्न सकस परेको थियो । प्रहरी स्रोतका अनुसार पक्राउ परेका विक धुलाबारीकै बासिन्दा हुन् ।
निरा पाण्डे आचार्यको हत्या लुटपाटकै उद्देश्यबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । हत्याको संलग्न विनोद विक शनिवार साँझ झापाबाट पक्राउ परेपछि हत्याको उद्देश्य लुटपाट नै रहेको खुलेको हो ।
शुक्रबार राति मात्रै आरोपीको पहिचान भएको थियो । प्रहरीको प्राविधिक विश्लेषणबाट हत्यामा संलग्न रहेका युवक विनोद भएको खुलेको थियो । त्यसलगत्तै प्रहरीले शनिवार बिहानै विनोद बस्ने गरेको काठमाडौँस्थित कोठामा छापा मारी हत्यामा समयमा प्रयोग भएको कपडा र अन्य केही प्रमाण बरामद गरेको थियो । काठमाडौँबाट भागेर झापा पुगेका विकलाई प्रहरीले झापा नै पुगेर पक्राउ गरेको हो ।
घटनामा विनोदको संलग्नता रहेको आशङ्कापछि प्रहरीले विनोदको खोजी गरेको थियो । सोही क्रममा विनोदको डेरामा पुगेको प्रहरीले डेराबाट रगत लागेको कपडासमेत बरामद गरेको प्रहरी स्रोतको दाबी छ ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको थियो । सोही समितिले शुक्रबारदेखि अनुसन्धान तीव्र पारेको थियो ।
विनोदको संलग्नता पुष्टि भएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय (अपराध महाशाखा)का दुई डीएसपी विनोदको खोजीमा शनिवार अपराह्न झापा गएका थिए । शनिवार नै विनोदलाई झापामा रहेको साथीको कोठामा लुकिबसेको अवस्थामा प्रहरीले पक्राउ गरेको स्रोतले जनाएको छ ।
वैशाख ७ मा सामान किनेको पैसा बुझाउन जाँदा एकजना महिलाले काउन्टरमा ३५ वर्षीया निरा रगतपच्छे भएर ढलेको देखेपछि परिवारलाई खबर गरेकी थिइन् । उनको पसल नजिकै श्रीमान योगेन्द्र आचार्यको अर्को पसल भएपनि उनले घटनाबारे केहि थाहा पाएका थिएनन् ।
योगेन्द्र र निराकी १० वर्षीया छोरी छिन् । राजधानी काठमाडौंमै भएको विभत्स हत्या अनुसन्धानमा ढिलाई भएको संसदमा पनि प्रश्न उठेको थियो ।