विराटनगर । पुस १० गते देशको राजनीति एकाएक परिवर्तन भयो । पुरानो सत्ता गठबन्धन टुटेर नयाँ गठबन्धन बन्यो ।
नेकपा एमालेको समर्थनमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बने । एमाले–माओवादी समेतको सत्ता गठबन्धन बनेपछि देशैभर नयाँ समीकरण बनेको छ ।
सत्ताविहीन हुने ठानिएको एमाले सत्ताको केन्द्रमा पुगेको छ भने कांग्रेस देशैभर प्रतिपक्षमा पुग्ने अवस्था आएको छ । नयाँ राजनीतिक उथलपुथलबीच प्रदेश १ मा पनि दोस्रो ठूलो दल कांग्रेस प्रमुख प्रतिपक्षी हुने भएको छ ।
अघिल्लो गठबन्धन हुँदासम्म सरकार कसले बनाउने भन्ने निश्चित नभएको प्रदेश १ मा अहिलेको सत्ता गठबन्धनले सहजै सरकार बनाउन सक्ने देखिएको छ ।
सरकार बनाउन ४७ सांसद चाहिन्छ । प्रदेश सभामा कुल सांसद ९३ जना छन् । एमालेका ४०, माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपाको १ गरी ६० सांसद सत्ता पक्षमा रहेका छन् ।
साबिकको गठबन्धन कायम रहिरहेको भए कांग्रेस २९, माओवादी केन्द्र १३, एकीकृत समाजवादी ४ गरी ४६ सांसद हुन्थे । एमाले र राप्रपाका सांसद जोड्दा पनि ४६ जना नै हुन्थे । सरकार बनाउन १ जना सांसदको आवश्यकता पर्थ्यो ।
१ जना मात्रै सांसद रहेको जसपा कि निर्मला लिम्बू निर्णायक बनेकी थिइन् । पुरानो गठबन्धन कायमै रहेको भए प्रदेश १ सरकारको चाबीनै जसपाकी निर्मलाको हातमा हुने थियो ।
तर एकाएक राजनीतिमा आएको परिवर्तनसँगै फेरिएको समीकरणले निर्मलाको चर्चा पनि हराउन थालेको छ । उनीविना पनि सरकार बनाउन बुहमत पुग्ने भएकाले दलहरूले निर्मलालाई वास्ता गर्न छाडेका छन् ।
पहिला दैनिकजसो नै निर्मलाको फोनमा घन्टी बज्ने गरेको थियो । एउटा नेताको फोन राखिनसक्दै अर्को नेताको फोन आइहाल्थ्यो ।
उतिबेला फोन गरेर सहयोग गर्नुपर्यो भन्ने नेताहरूले अहिले वास्ता गर्न छाडेको उनले बताइन् ।
‘पहिला मुख्यमन्त्रीका आकांक्षीहरूले हामीलाई सघाउनुपर्यो भनेर फोन गर्ने गर्नुभएको थियो । मुख्यमन्त्रीका आकांक्षी भनेर मिडियामा चर्चामा आएका केही माननीयज्यूहरूले दिनहुँजसो फोन गर्नुहुन्थ्यो,’ उनले भनिन्, ‘केन्द्रको निर्णय पर्खनुहोस्, अनि मात्रै बधाई दिउँला भन्ने गरेको थिएँ । अहिले त उहाँहरूले ‘मिस्ड्कल’ पनि गर्न छाड्नुभयो ।’
उतिबेला मागेको मन्त्रालय दिन्छु भन्ने नेताहरूले वास्ता गर्न छाडेका छन् ।
‘अहिले हाम्रो पाटीले सरकारलाई समर्थन मात्रै गरेको छ,’ उनले भनिन्, ‘सरकारमा सहभागी भएको छैन । त्यसैले मन्त्री बन्नेरनबन्ने भनेर बोल्ने बेला नै भएको छैन ।’
पार्टीले गर्ने निर्णय अन्तिम हुने भएकाले सरकारमा जानेरनजाने टुङ्गो नलागेको उनले बताइन् । उनी जसपाकी प्रदेश सह–इञ्चार्ज हुन् ।
नयाँ सत्ता समीकरणबाट दुईजना सांसद मुख्यमन्त्रीको दौडमा छन् । चौथो मुख्यमन्त्रीका लागि नेकपा एमालेका हिक्मतबहादुर कार्की र माओवादी केन्द्रका इन्द्रबहादुर आङ्वो दौडमा रहेका हुन् ।
दुवैजना संसदीय दलको नेतामा सर्वसम्मत चयन भइसकेका छन् । उनीहरू केन्द्रको निर्णयको पर्खाइमा छन् ।