विराटनगर । भारत सरकारले बथनाह–कटहरी रेलमार्ग नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । भारतीय सीमास्थित भन्सार विन्दुबाट नेपालतर्फको आठ किलोमिटर रेलमार्ग निर्माण सकिएकाले नेपाल सरकारलाई हस्तान्तरण गर्न लागेको हो ।
रेल विभागका प्रवक्ता अमन चित्रकारले कटहरीसम्म कुल १३ किलोमिटरमध्ये निर्माण सम्पन्न भएको ८ किलोमिटर हस्तान्तरण गर्न लागेको जानकारी दिए । बाँकी रहेको पाँच किलोमिटर रेलमार्ग निर्माण कार्य पनि अघि बढाइएको प्रवक्ता चित्रकारले जानकारी दिए ।
बाँकी खण्डमा भने जग्गा विवादका कारण निर्माण सुरु हुन सकेको छैन । ‘कटहरी क्षेत्रमा जग्गा विवादको समस्या अझै पनि छ’, उनले भने, ‘सर्वाेच्च अदालतमा मुद्दा विचाराधीन छ ।’ भारतको बथनाहदेखि नेपालको कटहरीसम्म कुल १८ दशमलव छ किलोमिटर छ । नेपालतर्फ बुधनगरदेखि कटहरीसम्म १३ दशमलव छ किमी लम्बाइ छ । जसमध्येको आठ किलोमिटर खण्डमा निर्माण पूरा भएको हो ।
सन् २०१० मा राष्ट्रपति रामवरण यादव भारत भ्रमणका क्रममा दुई देशको सीमा जिल्ला जोड्ने गरी पाँच स्थानमा रेलमार्ग निर्माण गर्ने सहमति भएको थियो । भारत सरकारको अनुदान सहयोगमा पाँच स्थानमा रेल निर्माण गर्ने भनिए पनि बथनाह–कटहरी र जयनगर–कुर्था अन्तर्गत रेलमार्ग निर्माण भएको थियो । जयनगर–कुर्था खण्डमा रेल सञ्चालन भइसकेको छ । त्यसबाहेकका न्यु जलपाइगुडी–काँडडभिट्टा, नौतनवा–भैरहवा र रुपैडिया–नेपालगञ्ज क्षेत्रमा भने निर्माण सुरु हुन सकेको छैन ।