विराटनगर । नेकपा एमाले मोरङको जिल्ला अधिवेशन आगामी फागुनमा हुने भएको छ । शुक्रबार बसेको जिल्ला सङ्गठन कमिटीको सचिवालय बैठकले अधिवेशनको मिति तय गरेको छ । फागुन १७, १८ र १९ गते अधिवेशन गर्नेगरी मिति तय भएको सङ्गठन कमिटीका सचिव रविन थापाले जानकारी दिए । बैठकले संगठनका गतिविधि टोलटोलसम्मै पुर्याउने निर्णयसमेत गरेको छ ।
एमाले मोरङका तत्कालीन अध्यक्ष एवं प्रतिनिधिसभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले अध्यक्ष पद छाडेपछि गत जेठ १८ गते बाबुराम कार्की नेतृत्वमा सङ्गठन कमिटी बनेको थियो ।
पाटी भित्र आन्तरिक विवाद बढ्दै गएपछि एमालेको अधिवेशन हुन सकेको थिएन । पार्टीको विधानले तोकिदिएको अवधि भने सङ्गठन कमिटीले समेत अधिवेशन गर्न सकेको थिएन । सङ्गठन कमिटी बनेको ६ महिना भित्रमा अधिवेशन गराउनु पर्ने एमालेको विधानमा उल्लेख छ ।
पछिल्लो समय मोरङ एमालेमा दुई समूह देखिएपछि अधिवेशन रोकिएको हो । निवर्तमान राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्षबीच मोरङमा शक्ति संघर्ष उत्कर्षमा छ ।
२०८० असोज १२–१३ गते कोशी प्रदेशको अधिवेशनमा समेत दुई समूह बनाएर नै प्रतिस्पर्धा गरेका थिए । प्रदेश अध्यक्षमा ओली पक्षले घनश्याम खतिवडालाई साथ दिएका थिए भने भण्डारी समूहले ढकाल समूहलाई समर्थन गरेका थिए ।
विराटनगर महानगरका तत्कालीन अध्यक्ष सागर थापासहितका ढकाल निकटका नेताहरूलाई कारबाही गरेपछि एमालेको विवाद सतहमा आएको थियो । त्यसपछि अधिवेशनको मिति तय गर्न एमालेलाई हम्मे–हम्मे परेको थियो ।