विराटनगर । हिंजो सम्पन्न निर्वाचनको सबै मतपेटिका आज बिहानै संकलन भएको भएपनि पाँचथरमा अझै मतगणना हुन सकेको छैन । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार आजसाँझबाट मतगणना सुरु हुनेछ ।

कुम्मायक गाउँपालिका–४ स्थितको सिद्ध माध्यमिक विद्यालय तिङ्देन मतदान केन्द्रमा भएको मतपत्रको विषयमा विवाद उत्पन्न भएपछि मतगणनामा ढिलाइ भएको हो । मतदान केन्द्रमा खटिएका कर्मचारीको असावधानीका कारण २१ थान मतपत्र प्रदेशसभा तर्फको वितरण हुनपर्नेमा प्रतिनिधिसभातर्फको परेको थियो ।

सोही मत्रपत्रमा मतदाताले मतदान गरेको पाइएपछि विवाद भएको थियो । विवादको समाधान भइसकेको कारण अब प्रत्यक्षर्फको तीन दिन भित्रमा मतगणना सम्पन्न गर्ने र समानुपातिकको पनि तीन दिनमै परिणाम सार्वजनिक गर्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

पाँचथरमा ५४ प्रतिशत मतदान भएको जिल्ला निर्वाचन कार्यालय प्रमुख कुमारप्रसाद भट्राईले बताए । जिल्लामा कुल एक लाख ३८ हजार ९३२ मतदाता रहेकामा ७४ हजार ८ सय ९८ जनाले मतदान गरेका छन् ।

खुम्बुको मतपेटिका सल्लेरी ल्याइयो
उता, सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ । खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको हो ।

हेलिकप्टरमा प्रतिपटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुई वटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी लयाइएको छ भने नौ वटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । मतपेटिका संकलन भइसकेपछि मतगणनाको तयारी गर्न सर्वदलीय बैठकको तयारी गरिएको छ ।