विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) को प्रदेशसभाका लागि नेपाली काँग्रेसले बेलबारी ८ निवासी मानबहादुर लिम्बूलाई टिकट दिने भएको छ ।
लिम्बू नेपाली काँग्रेस केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा नेविसंघ मोरङका पूर्व सभापति हुन् । उक्त क्षेत्रका उम्मेद्वार तथा प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापाको मृत्यु भएपछि निर्वाचन आयोगले काँग्रेसलाई नयाँ उम्मेद्वारको मनोनयनका लागि आज १० बजेदेखि १ बजेसम्मका लागि समय दिएको थियो ।
नेपाली काँग्रेस प्रदेश १ का उपसभापति रमेशजंग रायमाझीले लिम्बूले टिकट पाइसकेको पुष्टि गरे । ‘मानबहादुर लिम्बूले टिकट पाउनु भएको छ,’ रायमाझीले भने, ‘मनोनयनको तयारी भइरहेको छ ।’ लिम्बूले टिकट पाएसँगै अब एमालेबाट उम्मेद्वार बनेका दिलिप राईसँग उनले प्रतिस्पर्धा गर्ने भएका छन् ।

