विराटनगर । मोरङ क्षेत्र नम्बर ३ (१) मा काँग्रेसबाट उम्मेद्वार बनेका शेखरचन्द्र थापाको निधन भएसँगै अर्को उम्मेद्वारीका लागि निर्वाचन आयोगले समय तालिका सार्वजनिक गरेको छ ।
निर्वाचन आयोगले बिहीबारका लागि समय तालिका सार्वजनिक गरेसँगै उम्मेद्वारबारे चर्चा सुरु भएको छ । स्रोतले दिएको जानकारी अनुसार प्रदेशसभाका निवर्तमान सांसद सूयर्माराज राईलाई काँग्रेसले उम्मेद्वार बनाउने सम्भावना बढेको छ । यद्यपि शनिश्चरेका पर्शु कार्की पनि उम्मेद्वार बन्ने दह्रो सम्भावना भएका व्यक्ति हुन् ।
२०७४ सालको निर्वाचनमा बाम गठबन्धनलाई पराजित गरेर सोही क्षेत्रबाट प्रदेशसभाका सांसद बनेका राई काँग्रेस संसदीय दलका प्रमुख सचेतकसमेत भएका थिए । यसपटक पनि उनै राई उम्मेद्वार बन्ने सम्भावना भइरहँदा पार्टीको संस्थापन पक्षको अनिच्छाका कारण थापा उम्मेद्वार बनेका थिए । थापासँगै त्यसबेला काँग्रेसको क्षेत्रीय समितिले राई, पर्शु कार्की र सुशील राईको नाम सिफारिस गरेको थियो । हाल चर्चामा रहेका सुशील र कार्की संस्थापन पक्षका हुन् ।
सूर्यमाराज राईले आफ्नो उम्मेद्वारमा दाबी कायम रहेको बताए । ‘यसअघि अनुकूल परिस्थितिमा पनि मैले उम्मेद्वार बन्छु भनेको थिएँ । अहिले प्रतिकूल परिस्थितिमा पनि पार्टीले जिम्मा दिए बहन गर्न तयार छु भनेर मैले पार्टीका नेतालाई स्पष्ट भनेको छु,’ सूयर्माराज राईले भने, ‘विगत ५ वर्षे कार्यकालमा पनि प्रदेशसभामा मैले राम्रै भूमिका खेलेको हुँ भन्ने लागेको छ ।’
यता, संस्थापन पक्षका एक नेताका अनुसार सुशील राई र पर्शु कार्कीमध्ये एक जनाले टिकट पाउने सम्भावना रहेको छ । शेखरचन्द्रले उम्मेद्वारी दिएसँगै सूयर्माले असहयोग सुरु गरेको कारण स्थानीय काँग्रेसीहरु उनको विपक्षमा जानसक्ने उनको भनाइ छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र)का एक नेताले भने काँग्रेमा देखिएका तीन जना सम्भावित उम्मेद्वारमध्ये पर्शु कार्की र सुशील राईको सम्भावना बढी देखिएको बताए । यता, थापाकी श्रीमती लक्ष्मी कार्की थापालाई उम्मेद्वार बनाउनु पर्ने विषयमा पनि चर्चा सुरु भएको छ । केही गठबन्धन दलका नेताहरुले भने काँग्रेसमा अत्याधिक अन्तरविरोध देखिएकोले माओवादीका नेता तथा संविधानसभा सदस्य लालबाबु सुस्लिङ मगरलाई उम्मेद्वार बनाउँदा राम्रो हुने सुझाव पनि दिन थालेका छन् ।

