विराटनगर । आसन्न प्रदेशसभा निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ६ (१) बाट उम्मेदवारी दिएका नविन दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

दाहालले कांग्रेसबाट विद्रोह गरेर प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दिएका थिए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइराला, कांग्रेस प्रदेश–१ का उपसभापति रमेशजंग रायमाझी, मोरङ कांग्रेसका कार्यबाहक सभापति नागेश कोइराला, क्षेत्रीय सभापति देवराज तामाङ, विराटनगर महानगर सभापति दीपक चापागाईं, गठबन्धनका तर्फबाट प्रदेशसभाका उम्मेदवार जीवन आचार्यलगायतको उपस्थितिमा दाहालले उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । उनले कांग्रेस र गठबन्धनको पक्षमा माहोल सिर्जना गर्न आफूले उम्मेदवारी फिर्ता लिएको बताए ।

दाहालले आफू ३३ वर्षदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहेको बताउँदै उम्ेदवारी फिर्ता लिएसँगै आफू कांग्रेसमै सक्रिय हुने जनाए । गठबन्धनको उम्मेदवार जीवन आचार्यले निर्वाचन क्षेत्र र प्रदेशकै समृद्धि र विकासका एजेन्डा अघि सारेर निर्वाचनमा होमिएको अवस्थामा त्यसको समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको दाहालले बताए ।

मोरङ क्षेत्र नम्बर ६ (१) मा गठबन्धनक तर्फबाट नेकपा माओवादी केन्द्रका युवानेता आचार्य प्रदेश सदस्यका लागि उम्मेदवार बनेका छन् ।