विराटनगर । सर्वसाधारणलाई ‘टाट’ पल्टाउने गैरकानुनी मिटरब्याजको धन्दा विराटनगरमा फस्टाउँदै गएको छ । यस्तो अवैध धन्दा चुलिँदा अपराधका घटना पनि बढेका छन् । यद्यपि मिटरब्याजको जालो भत्काउन प्रहरी भने असफल बन्दै आएको छ ।
मिटरब्याजको कारोबार चलाइरहेकाहरु स्वयम्ले आफूलाई प्रहरीले सघाएको खुला रुपमा बताइरहेका छन् । एकातिर मिटरब्याजीहरुले यस्तो बताउनु र अर्कातिर मोरङ प्रहरीले मिटरब्याजको धन्दालाई देखेको नदेख्यै गरिदिँदा पीडितहरु झन् झन् समस्यामा पर्दै गएका छन् ।
मिटरब्याजीहरुलाई दलका नेताको संरक्षणसमेत थपिएपछि उनीहरु उत्साही भएर धन्दा चलाइरहेका छन् । मिटर ब्याजमा लिएको पैसा तिर्न नसक्दा लगानी गर्ने समूहले बन्धक बनाउने, निर्घात कुटपिट गरी ज्यान मार्नेसम्मको धम्की दिने गरेको पाइएको छ । यस्तै घटना विराटनगरमा फेरि सार्वजनिक भएको छ ।
एमाले भ्रातृ संस्था युवा संघ नेपाल विराटनगरका अध्यक्ष किरण लामाले मिटर ब्याजमा दिएको पैसा नदिएको भन्दै औष्धि व्यवसायीलाई बन्धक बनाएर निर्घात कुटपिट गरेका छन् । लामाले विराटनगरको हस्पिटल चोकमा रहेको यादव फार्मेसीका सञ्चालक नवल यादव र अभिषेक साहलाई शुक्रवार दिउँसो घरमा बन्धक बनाएर कुटपिट गरेका हुन् ।
लामा समूहको कुटपिटबाट घाइते भएका दुईमध्ये अभिषेक उम्किएर भागेका थिए । उनैले मोरङ प्रहरीलाई घटनाको बारेमा जानकारी दिएपछि प्रहरीले लामाको घर खानतलासी गर्दा बन्धक बनाइएका नवललाई फेला पारेर उद्धार गरेको थियो ।
प्रहरीले यादवको उद्धार गरे पनि शरीर बन्धक बनाउने युवा संघका अध्यक्ष लामालाई भने पक्राउ गरेको छैन । कुटपिटबाट फार्मेसी सञ्चालक नवल घाइते भएका छन् । यादवले लामासँग दुई महिना अगाडि व्यवसाय सञ्चालनको लागि पाँच लाख रुपैयाँ ऋण लिएका थिए । जाहेरीअनुसार नवल यादवले लामाबाट गत असार २९ गते पाँच लाख रुपैयाँ सापटी लिएका थिए । लामाले तीन महिनामै पाँच लाख रुपैयाँको मिटरब्याज कारोबारमा १८ लाख असुलिसकेका थिए ।
‘उक्त पैसा दिइसकेको थिएँ । लामाले सामान्य कुरा गर्नुछ भनेर मलाई बोलाएका थिए, मसँग रहेका अभिषेक साह समेतलाई लिएर घरमा पुगें,’ यादवले जाहेरीमा भनेका छन्, ‘घर पुगेपछि मुनि तलामा रहेको कोठामा बस्नुस् भनी नचिनेका केटाहरूको सहयोगमा कोठाभित्र थुनेर ताल्चा लगाइदिए ।’
त्यसपछि लामाले यादवलाई पाँच लाखको मिटरब्याजमध्ये अब पच्चीस लाख रुपैयाँ बाँकी रहेको र तत्काल उपलब्ध गराउन दबाब दिएको यादवले बताए । ‘कुटपिट गर्दै उनले पैसा नदिए टुक्रा–टुक्रा पारेर कोसीमा हामी आज राति फालिदिन्छौं भने,’ जाहेरीमा भनिएको छ, ‘तिमीहरूको केही लाग्दैन, पुलिस प्रशासन सम्पूर्ण हाम्रो हातमा छ ।’
मिटरब्याजी लामाविरूद्ध उनीहरूले मोरङ प्रहरीमा अपहरण, शरीर बन्धक, मिटरब्याज र फिरौती कसुरको जाहेरी दिएका छन् । विराटनगर महानगरपालिका–११ बस्ने ३३ वर्षीय लामाविरूद्ध विराटनगर–८ का ३४ वर्षीय यादव र विराटनगर–११ का २४ वर्षीय साहले जाहेरी दिएका हुन् । जाहेरीमा लामाका सहयोगी ३२ वर्षीय अनुज मगरलाई पनि विपक्षी प्रतिवादी बनाइएको छ ।
दुबै पीडितलाई शुक्रबार लामाले आफ्नै घरमा बोलाएर बन्धक बनाएका थिए । शुक्रबार नै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा ठाडो निवेदन दिएका थिए । शनिबार भने जाहेरी दरखास्त दिएका हुन् । मोरङ प्रहरीका डिएसपी टिका कार्कीले पीडितले जाहेरी दिएको पुष्टि गरे । ‘आज शनिबार बिदाको दिन भएकाले जाहेरी दर्ता गर्न मिलेन । घटनास्थल मुचुल्का गर्न प्रहरी पठाइएको छ, भोलि जाहेरीमा उल्लेख भएका विवरणहरू हेरी कानुनसम्मत रुपमा दर्ता गरिन्छ,’ कार्कीले भने ।
गृह मन्त्रालयले मिटरब्याजी विरुद्ध उजुरी दिन सार्वजनिक आव्हान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङका १५ जना विरुद्ध उजुरी दर्ता भएको थियो । सरकारले तोकेको समयसीमा भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा ३७ वटा उजुरी दर्ता भएका छन् । दर्ता भएका उजुरीमध्ये विराटनगर महानगरपालिकाभित्रका १६ वटा उजुरी विभिन्न १५ जना व्यक्तिका विरुद्धमा रहेको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।
विराटनगर १८ का मिटरब्याजी धन्दावाला धनजित मण्डलका विरुद्ध पीडित पक्षले उजुरी दर्ता गराएका छन् । यस्तै विराटनगर १७ का शिवु विश्वकर्मा र विराटनगर १८ का गुलाबचन्द यादव, विराटनगर ७ का ललन ठाकुर, विराटनगर १२ का झरिलाल यादव, विराटनगर ४ का महानन्द यादव, विराटनगर १४ का लक्ष्मीकान्त विश्वासविरुद्ध उजुरी दर्ता भएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । त्यस्तै विराटनगर २ का प्रविण जैनका विरुद्ध दुई वटा उजुरी दर्ता भएको छ ।
प्रशासन कार्यालयका अनुसार विराटनगर ८ का श्यामकुमार यादव, विराटनगर १३ का राजकुमार शर्मा धवानी, विराटनगर ७ का सञ्जयकुमार करवा विराटनगर ९ का सञ्जयप्रसाद रौनियारले मिटरब्याज लिएर ठगी गरेको उजुरी परेको छ । मिटरब्याजी विराटनगर १७ का दिलिपकुमार ताम्रकार, साविक विराटनगर २१ का बुधनप्रसाद साह तेली र विराटनगर १५ का जितेन्द्रकुमार रजकविरुद्ध पनि उजुरी दर्ता भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङका अनुसार उजुरी आएका मध्ये केही प्रमाणसहित र केही ठाडो निवेदनका रुपमा दर्ता भएका छन् ।

