विराटनगरमा सिएनआई कोसी एक्स्पो बिहीबारबाट सुरु भएको छ । हरेक वर्ष विराटनगरमा हुँदै आएको एक्स्पो यस पटक दुई पटक सञ्चालन भयो । व्यवसायीहरुको दुई छुट्टाछुट्टै संस्थाहरुले दुई महिनाको फरकमा दुई ठूला व्यापारिक मेला आयोजना गरेका छन् । आर्थिक क्रियाकलापका दृष्टिले यो कदमलाई सकारात्मक रुपमा लिनुपर्छ ।
आन्तरिक उत्पादनहरुको प्रवद्र्धन गर्ने, कृषि, पर्यटन तथा उद्योगका उत्पादनलाई बजारीकरण गर्ने, आर्थिक गतिविधि चलायमान गर्ने उद्देश्यले व्यापारिक मेलाहरु लगाउने प्रचलन छ । पछिल्लो समय यो प्रचलन तल्ला तहहरुमा विस्तार हुँदै गएको छ । यसले ग्रामीण क्षेत्रसम्म वस्तुको बजारीकरण गर्न सहयोग पुगेको छ ।
विराटनगरमा ४५ दिनपछि दोश्रो ठूलो एक्स्पो आयोजना गरियो । शनिबारबाट उर्लाबारीमा पनि यस्तै महोत्सव सुरु भएको छ । धनकुटा महोत्सवमा दर्शकको भीड थेग्न नसकेर दर्जनौं व्यक्ति भीडमै किचिने अवस्था उत्पन्न भयो । अर्थात् महोत्सवमा दर्शक वा भिजिटरको उल्लेख्य सहभागिता रह्यो । बिर्तामोडमा दुई सातापछि यस्तै महोत्सव सञ्चालनको तयारी भइरहेको छ । यसले व्यापारिक मेला महोत्सव आदि मार्फत् यहाँको उद्योग र उत्पादन तथा सेवाहरुको बजारीकरणमा अवश्यपनि योगदान पुग्ने छ ।
सँगसँगै यस्ता महोत्सव र एक्स्पोमा हुने व्यापारमा स्वदेशी उत्पादनहरुको बिक्री तथा कारोबारमा भने खासै प्रगति भएको पाइँदैन । यस्ता मेलाहरुमा हुने कारोबारको ठूलो हिस्सा विदेशी कम्पनीबाट उत्पादित अटोमोबाइल्सहरुले ओगट्ने गरेका छन् । स्वदेशी उद्योगहरुबाट उत्पादित हुने वस्तु प्रदर्शनका लागि राखिए पनि त्यसले कारोबारको रकममा ठूलो योगदान पु¥याउन सकेको पाइदैन । हाम्रा घरेलु तथा हस्तकलाका सामग्रीहरुले उचित बजार पाउन सकेको पाइदैन । यस्ता एक्स्पोमा गीत, संगीत, बालबालिका भुल्याउने खेल सामग्री, खाजा र खानाका परिकारमार्फत दर्शक वा उपभोक्ताहरुलाई आकर्षित गर्ने प्रयत्न गरिएको पाइन्छ । एक्स्पोमा हाम्रो व्यापार क्षेत्रमा भएका समस्याहरुको पहिचान गर्ने र त्यसमा विज्ञहरुसँग छलफल गर्ने विषयलाई धेरैले प्राथमिकतामा राखेको पाइदैन । जसले एक्स्पो उद्योग व्यापारको क्षेत्रलाई बलियो बनाउने दूरगामी उद्देश्यमा भन्दा स्टल बिक्री र भिजिटरबाट गरिने प्रदेश शुल्कको रकमबाट आम्दानी गर्ने तर्फ अलमलिने खतरा बढ्दै गरेको छ ।
पछिल्लो समय महोत्सव वा मेला कसले सञ्चालन गर्ने वा कसको पालो हो भन्नेमा व्यवसायीहरुको संस्थाबीच असमझदारीसमेत देखिएको छ । यस्ता एक्स्पोको नामबाट संस्थाले आर्जन गर्ने आर्थिक स्रोतमाथि कसको पहुँच रहने भन्ने विषय केन्द्रमा रहँदा विवाद बढेको अनुमान गर्न गाह्रो छैन । त्यसैले यस्ता एक्स्पो, महोत्सव वा प्रदर्शनीहरु व्यापार प्रवद्र्धन, औद्योगिक उत्पादनको बजारीकरण र त्यस क्षेत्रमा भएका समस्या समाधानका लागि सञ्चालन गरिनुपर्छ । यसका लागि हाम्रा उद्योगहरुको क्षमता बिस्तारसँगै नयाँ उद्योगहरु बजारमा आउन जरुरी छ । विदेशी वस्तुले स्टल भरेर चलाइने अल्पकालीन बजार बैसाख महिनामा हाम्रा देवालय र थानहरुमा लाग्ने मेला र जात्रा झैं नियमित तर उस्तै चलिरहनु हुँदैन । नयाँपन दिने प्रयत्न गरिनु पर्छ ।
गीत संगीतका लागि थियटरहरु, ठूल्ठूला कन्सल्र्टहरु चलाउनु पर्छ । खानाको परिकारका लागि खाना महोत्सव सञ्चालन गर्नुपर्छ । मनोरञ्जनका लागि त्यस्तै विशाल मेला आयोजना गर्न सकिन्छ । पर्यटन प्रवद्र्धनका लागि पर्यटकीय स्थलहरुमा विशेष कार्यक्रम वा प्रदर्शनी गर्न सकिन्छ । यस्तो मेला र महोत्सवलाई उद्देश्य केन्द्रीत गर्नुपर्छ । औद्योगिक र कृषि मेलाका लागि सम्बन्धित उत्पादनहरुको प्रवद्र्धन र बजारीकरणमा दिने तर्फ आयोजकहरुले ध्यान दिनु आवश्यक छ ।