विराटनगर । अपाङगता भएका व्यक्तिहरूले बदर मत कम गर्ने लक्ष्य र मतदातालाई सहजताका लागि विराटनगरमा नमुना मतदान कार्य सम्पन्न भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनलाई लक्षित गरी नेत्रहीन युवा संघ नेपाल केन्द्रीय कार्याल काठमाडौंको सहयोगमा नेत्रहीन युवा संघ नेपाल मोरङले विराटनगरमा मंगलबार नमुना मतदान गराएको हो ।
अपाङगता भएका व्यक्तिहरूले निर्वाचनमा मतदान गर्दा मत वदर गर्ने सम्भावनालाई कम गर्ने उद्देश्यले नुमना मतदान कार्य सुरू गरेको नेत्रहीन युवा संघ मोरङका अध्यक्ष दुर्गानाथ योगीले जानकारी दिए । उनका अनुसार विराटनगरमा भएको नमुना मतदानमा ७० जना अपाङगता भएका व्यक्तिहरू सहभागी थिए । आदर्श स्कुलमा परीक्षण गर्दा अपाङगता भएका अधिकाश मतदाताहरुले सहज रुपमा मतदान गरेको उनले बताए । विराटनगरपछिसंघ मोरङले बेलबारी र उर्लाबारीमा पनि नमुना मतदान गर्ने बताए ।
‘सहज रूपमा सहभागी भएर अपाङगता भएका व्यक्तिहरूले नमूना मतदान कार्यमा सहभागी भए । उनीहरूले सहजरूपमा मतदान गरेका छन्,’ अध्यक्ष योगीले भने, ‘निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरूको लागि सहज रूपमा मतदान गर्ने व्यवस्था निर्वाचन कार्यालयले गरिनु पर्दछ ।’ मतदान स्थलहरू अपाङगता मैत्री बनाउनुपर्नेमा उनले जोड दिएका छन् । मोरङमा दृष्टीविहीन अपाङ्गता भएका मात्र पाँच हजार भन्दा बढी रहेको उनले बताए ।

