गठबन्धनको मत नपाउँदा मण्डल पराजित : कोइराला र मोदीलाई गठबन्धनको साथ

विराटनगर । सत्ता गठबन्धन दलहरुबीच मत ट्रान्सफर नभएकै कारण मोरङ क्षेत्र नं. ५ मा गठबन्धनका प्रतिनिधिसभा उम्मेदवार शिवकुमार मण्डल पराजित भएको पाइएको छ । मोरङको क्षेत्र नम्बर ५ मा सत्ता गठबन्धनबाट उम्मेद्वार भएका माओवादीका मण्डलले काँग्रेसको आधा मत पनि नपाएको देखिएको छ ।

सो क्षेत्रमा समानुपातिकतर्फ काँग्रेसले २४ हजार ६२९, माओवादीले ७ हजार २२३ र नेकपा एसले ३६५ मत पाएको छ । समानुपातिकतर्फ क्षेत्रमा सत्तारुढ गठबन्धनको ३२ हजार ५१७ छ । जबकी मण्डलले जम्मा १७ हजार ४८६ मत मात्रै प्राप्त गरे । उनले गठबन्धनबाट १४ हजार ७३१ मत प्राप्त नगर्दा पराजित हुनुपर्यो ।

प्रतिनिधिसभामा मण्डल पराजित भएपनि प्रदेशसभाका दुबै सिट गठबन्धनबाट उम्मेदवार भएका काँग्रेस नेताहरुले जितेका छन् । प्रदेशसभातर्फ ५ (१) मा काँग्रेसका गयानन्द मण्डल १४ हजार ८४३ मत प्राप्त गरि विजयी बनेका छन् भने ५(२) मा अमृत अर्याल १६ हजार १०२ मत प्राप्त गरि विजयी भएका छन् । प्रदेशसभातर्फ भने गठबन्धनका दुई उम्मेदवारको मत समानुपातिक मतको हाराहारी रहेको छ । उनीहरुले ३० हजार ९४५ मत पाएका छन् ।

सोही क्षेत्रमा नेकपा एमालेले समानुपातिकतर्फ ९ हजार ४२८ र जसपाले १२ हजार ७३१ मत गरेको छ । एमाले–जसपा गठबन्धनको समानुपातिक मत २२ हजार १५९ भएपनि एमालेको समर्थन पाएका जसपाका उम्मेद्वार राजकुमार यादवले भने १७ हजार ३१७ मत मात्रै प्राप्त गरे ।

एमाले जसपा गठबन्धनबाट प्रदेशसभामा उम्मेदवार भएका एमालेका सन्तोष साह ५(१) ले ९४०५ र जसपाका जयराम यादव ५(२) ले १० हजार ८२५ मत पाएका छन् । उनीहरुको मत २०२३० हुन्छ । त्यो मत पनि प्रतिनिधिसभाका उम्मेदवार यादवले पाएनन् ।

दुबै गठबन्धनको मत पाएर सो क्षेत्रमा एमालेबाट विद्रोह गरी उम्मेद्वारी दिएका योगेन्द्र मण्डल २१ हजार ८२० मत प्राप्त गरी प्रतिनिधिसभामा विजयी बने । सो क्षेत्रमा एमालेको अधिकांश मत जसपाका उम्मेदवार यादवले पाएको देखिएपनि काँग्रेसको आधाभन्दा धेरै मत मण्डलले नपाएको देखिएको छ ।

मोरङको क्षेत्र नं. ४ र ६ मा भने गठबन्धनको मत राम्रोसँग आदनप्रदान हुँदा माओवादीका अमनलाल मोदी र काँग्रेसका डा.शेखर कोइराला फराकिलो मतान्तरले विजयी भएको देखिन्छ । क्षेत्र नम्बर ४ मा समानुपातिकतर्फ नेपाली काँग्रेसले १९ हजार ५५५, माओवादीले ९ हजार ७६० र एकीकृत समाजवादीले ४०१ मत प्राप्त गरेका छन् । उक्त मत जोड्दा सत्ता गठबन्धनको २९ हजार ७१६ रहेकोमा गठबन्धनबाट उम्मेद्वार मोदी ३० हजार ६१२ मत ल्याए । उनले गठबन्धनको समानुपातिक मतभन्दा ८९६ बढी मत प्राप्त गरेका छन् ।

एमाले गठबन्धनका उम्मेद्वार विनोद ढकालले २४ हजार ४६३ मत प्राप्त गरेकोमा सो क्षेत्रमा समानुपातिकतर्फ भने एमाले गठबन्धनको मत त्यसको आधा पनि छैन । क्षेत्रमा समानुपातिकतर्फ एमालेले ९ हजार ७६० मत प्राप्त गर्दा जसपाले १ हजार २८४ मत पाएको छ ।

क्षेत्र नं.४ को प्रदेशसभातर्फ १ मा एमालेका जयप्रकाश चौधरी (१५४६५) र २ मा काँग्रेसका भीम पराजुली (११४७९) विजयी भए । ४(१) मा गठबन्धनको सबै मत नपाएकै कारण काँग्रेसका गुरुराज घिमिरे पराजित भएको देखिन्छ । घिमिरेले १५०६० मत पाएका छन् ।

काँग्रेस गठबन्धनका प्रदेशसभाका दुई उम्मेदवारको मत २६ हजार ५२९ छ । जुन प्रतिनिसभाका विजयी उम्मेदवार मोदीको भन्दा ४०८३ कम हो । उता एमाले गठबन्धनका दुई प्रदेशसभा उम्मेदवार जयप्रकाश चौधरी (१५४६५) र जीवन घिमिरे (९६९१)ले २५१५५ मत पाएका छन् । जुन एमालेका प्रतिनिधिसभा उम्मेदवार ढकालको भन्दा ६९२ ले बढि हो ।

यसैगरि मोरङको क्षेत्र नम्बर ६ मा नेपाली काँग्रेसका उम्मेद्वार डा. शेखर कोइरालाले गठबन्धनको भोट पाएर विजयी भए । कोइरालाले ३५ हजार ४२४ मत प्राप्त गरी विजयी बन्दा एमालेका लालबाबु पण्डितले २२ हजार ९४६ मत प्राप्त गरेका थिए । सो क्षेत्रमा प्रतिनिधिसभातर्फ समानुपातिकमा काँग्रेसको भोट २३ हजार ७१०, माओवादीको ८ हजार १८५ र एकीकृत समाजवादीको ६९५ मत छ । क्षेत्रमा समानुपातिक मत जोड्दा सत्ता गठबन्धनको ३२ हजार ५९० पुग्छ । कोइरालाले गठबन्धनको समानुपातिक मतभन्दा २ हजार ६३४ मत बढी प्राप्त गरेका छन् ।

यस्तै एमालेले सो क्षेत्रमा १९ हजार ३७९ र जसपाले ११३१ मत समानुपातिकतर्फ पाएको छ । एमाले गठबन्धनको मत २० हजार ५२० रहेकोमा पण्डितले त्योभन्दा २ हजार ४२६ मत बढी प्राप्त गरेका छन् ।

क्षेत्र नं. ५ मा प्रदेशसभातर्फ पनि गठबन्धनको मत ट्रान्सफर भएकै कारण १ मा माओवादी केन्द्रका जीवन आचार्य र २ मा काँग्रेसका केदार कार्की सहज रुपमा विजयी भएका छन् ।

आइतबार, ११ मंसिर, २०७९, साँझको ०६:०२ बजे

प्रतिक्रिया

प्रतिक्रिया:

सम्बन्धित खवर