विराटनगर । प्रतिनिधिसभाको मंसिर ४ गते हुने चुनावका लागि प्रदेश १ का धेरै निर्वाचन क्षेत्र रोचक भीडन्तको थलो बन्ने क्रममा छन्। तीमध्ये ‘हेभिवेट’ नेताहरुले चुनाव लड्ने क्षेत्रहरु विशेष चासोका क्षेत्रमा परेका छन्।

झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली, झापा १ बाट उम्मेदवार बनेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, झापा–३ बाट उम्मेदवार बनेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला तथा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, मोरङ–६ का कांग्रेस उम्मेदवार शेखर कोइराला तथा एमालेका उम्मेदवार लालबाबु पण्डित, सुनसरी–३ बाट उम्मेदवार बनेका कांग्रेस नेता विजयकुमार गच्छदार बढी चर्चामा छन् ।
इलाम–१ बाट नेकपा एकीकृत समाजवादीका झलनाथ खनाल, इलाम–२ बाट संविधानसभाका अध्यक्ष तथा एमाले नेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु धेरैको चासोमा छन्। त्यस्तै माओवादी नेता सुदन किराती र प्रदेशमा पूर्व मुख्यमन्त्री शेरधन राईले प्रतिष्पर्धा गरिरहेको भोजपुर पनि चुनावी आकर्षणको थलो बनेको छ।

आज हामीले हेभिवेट नेताहरुले चुनाव लडिरहेका क्षेत्रहरुबारे चुनावी जानकारी पस्केका छौं।
झापा–५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनमा जित्छन् या जित्दैनन् भन्ने बहस देशमा मात्रै होइन, विदेशमा पनि छ । हालको सबैभन्दा ठूलो पार्टी एमालेका अध्यक्षसमेत रहेका ओलीले आफूले मात्रै होइन, आफ्नो पार्टीलाई पनि देशभरबाट जिताउनुपर्ने दबाब छ ।

झापा–५ मा अध्यक्ष ओलीका लागि त्यति सहज देखिँदैन । गठबन्धनको चौतर्फी घेराबन्दी र आफ्नै पार्टीभित्र देखिएको सुसुप्त असन्तुष्टि तथा ओलीले गरेको गठबन्धनको सहयात्री दल राप्रपाको एमालेसँग विद्यमान स्थानीय अन्तरविरोधले सहजै ओलीको पोल्टामा मत खस्ने देखिँदैन । यसअघि सत्ता गठबन्धनका वामपन्थी दलहरुलाई कांग्रेस सभापति शेरबहादुर देउवासामु कचौरा थापेको भन्ने आरोप लगाउने ओली अहिले भने राप्रपाबाट निर्वाचित दमकका मेयर राम थापासँगै सोही प्रकृतिले हात थापिरहेका छन् ।

सो क्षेत्रमा सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेसका खगेन्द्र अधिकारी उम्मेदवार बनेका छन् । अघिल्लो निर्वाचनमा शानदार मत ल्याएर जितेका ओलीका लागि अहिले त्यति सहज भने छैन । यद्यपि नेकपा एमालेले राप्रपाको मत पाएको खण्डमा उनलाई जित्न अप्ठ्यारो पनि देखिँदैन । प्रतिनिधिसभाको उम्मेदवारकै रुपमा सो क्षेत्रमा ओली र अधिकारीबाहेक अन्य २४ जना प्रतिस्पर्धी छन् । झापा–५ मा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमाले ४१ हजार ६१९, कांग्रेस २२ हजार २२, माओवादी १० हजार ७८८, राप्रपा ८ हजार ३५३ र नेकपा एकीकृत समाजवादी १ हजार ९८८ मतको अवस्थामा छन् ।

इलामको १ नम्बर निर्वाचन क्षेत्र पनि चर्चामा छ । यो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल उम्मेदवार छन् । खनाललाई आफ्नै पूर्वपार्टी एमालेका नेता तथा त्यसबेलाका सहकर्मी महेश बस्नेतले टक्कर दिँदैछन् । बस्नेतसहित सो क्षेत्रमा ११ जनाको उम्मेदवारी परेको छ । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी)पार्टी गठनमा महत्वपूर्ण भूमिका खेलेका खनाललाई निर्वाचन जित्नैपर्ने दबाब छ । सो क्षेत्रमा स्थानीय तह निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमाले २६ हजार २३३, कांग्रेस २५ हजार ७७२, एकीकृत समाजवादी ९ हजार ४८१, जसपा १ हजार ८२९, माओवादी १ हजार २३५ र राप्रपा १ हजार १६९ मतको वअस्थामा छन् ।

इलामकै क्षेत्र नम्बर २ को चुनावी भिडन्त पनि सर्वत्र चासोको विषय बनेको छ । त्यस क्षेत्रबाट एमालेका नेता तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् । नेम्वाङलाई सत्ता गठबन्धनको तर्फबाट कांग्रेस स्थानीय नेता डम्बरबहादुर खड्काले टक्कर दिँदैछन् ।
एमाले विभाजन भएका कारण नेम्वाङलाई विगतमा जस्तो सजिलो देखिँदैन । अर्कोतिर गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा सो क्षेत्रमा एमालेको तुलनामा सत्तारुढ दलहरुको मत बढी देखिएको छ । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार कांग्रेस ३२ हजार ९७८, एमाले ३२ हजार ५२७, माओवादी २ हजार ७१७, जसपा ५५४ , एकीकृत समाजवादी २७७ र राप्रपा १३० मतको अवस्थामा छन्।

पार्टी विभाजनका क्रममा १० बुँदे सहमतिपछि एमालेमै रहेका १० भाइमध्येका एक योगेश भट्टराईलाई यसपटकको निर्वाचन सहज छैन । उनलाई सत्ता गठबन्धनबाट माओवादी नेता खिलप्रसाद बुढाथोकीले चुनौती दिने ठानिएको छ । तत्कालीन नेकपामा हुँदा पार्टी अध्यक्ष केपी ओलीका विरुद्धमा देशव्यापी आन्दोलनमा हिँडेका उनलाई खाँटी ओली पक्षका एमाले कार्यकर्ताले मन पराउँदैनन् ।उनलाई प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार बन्नबाटै रोक्ने कोसिस भए पनि टिकट भने पाए । उनलाई हाल प्रदेशसभामा उम्मेदवार बनेका ताप्लेजुङकै नेता तिलप्रसाद मेन्याङ्बोले रोक्न खोजेका थिए । अन्तिममा टिकट पाएर चुनावमा होमिएका भट्टराईले चुनावी अभियान भने सुरु गरिसकेका छन् ।

उनका आलोचकहरूले ओलीका विरुद्धमा उनले गरेको यसअघिका भाषणहरु सामाजिक सञ्जालमा छरपष्ट पारेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार ताप्लेजुङमा स्वतन्त्रसहित ११ उम्मेदवार छन् । यसअघि सोही क्षेत्रबाट भट्टराईले वाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेर निर्वाचन जितेका थिए । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमाले २४ हजार २९५, कांग्रेस १८ हजार २८४, माओवादी ४ हजार ४९७, एकीकृत समाजवादी १ हजार ३०८, जसपा ९२३ मतको अवस्थामा छन् ।

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले यसपटक एमाले नेता अग्नि खरेलसँग प्रतिस्पर्धा गर्दैछन् । खरेलले झापाको २ नम्बर निर्वाचन क्षेत्र रोजेका थिए । यद्यपि उनलाई एमालेले क्षेत्र नम्बर १ बाट शर्मासँग प्रतिस्पर्धामा उतारेको छ । यसअघि वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी नेता राम कार्कीले पराजित गरेका शर्मा यस पटक भने निर्वाचन जित्ने दाउमा छन् । सो क्षेत्रमा शर्मा र खरेलसँगै अन्य १३ जना उम्मेदवार मैदानमा छन् । प्रष्ट वक्ता र वाकपटुता भएका शर्मा अध्ययनशील र प्रजातान्त्रिक आचरण भएका नेता मानिन्छन् । सत्ता गठबन्धनभित्रका घटक इमानदार बनेमा उनको पक्षमा नतिजा आउन कठिन छैन ।यो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमालेसँग ३१ हजार २३२ मत छ भने कांग्रेस २४ हजार ५९, राप्रपा ५ हजार ९२२, माओवादी ३ हजार ९०५, एकीकृत समाजवादी १ हजार २५२ र लोसपासँग १६२ मत छ ।

सर्वाधिक चर्चामा रहेको प्रदेश १ कै अर्को निर्वाचन क्षेत्र झापा–३ हो । यो क्षेत्रमा कांग्रेसका नेता तथा शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन महत्वपूर्ण भूमिका खेलेका कृष्णप्रसाद सिटौला र विपरीत राजनीतिक विचारधारा बोक्ने राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

‘राजनीतिक नेतालाई जनताले चोर आयो भन्न थालेका छन्’ भनेर भाषण गरेपछि चर्चामा आएका लिङ्देन गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका संविधानमा उल्लेखित विषयमा असहमति राख्छन् । उनी अहिलेको संविधानले अंगिकार गरेका राज्यका मूल नीतिहरुलाई नै सच्याएर पुरानै व्यवस्था ल्याउनुपर्नेमा जोड दिन्छन् । पुरानो व्यवस्थाको वकालत गर्ने लिङ्देन र अहिलेको राजनीतिक व्यवस्थाको सुत्रपात गर्ने सिटौलाबीचको भिडन्त यसअघि पनि भएको थियो ।

२०७४ सालमा वाम गठबन्धनको साथ पाएर जितेका लिङ्देनले यसपटक पनि एमालेसँग गठबन्धन गरेका छन् । सिटौला र लिङ्देन दुवै राष्ट्रिय राजनीतिका चर्चित अनुहार हुन् । उनीहरुमध्ये एक जना विजेता निश्चित भए पनि कसले बाजी मार्छ भनेर यसै भन्न सकिँदैन । उक्त क्षेत्रमा अन्य १६ जनाले पनि प्रतिस्पर्धा गर्दैछन् । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार कांग्रेससँग २५ हजार ९४९, राप्रपा २१ हजार १५९, एमाले २१ हजार ८५, माओवादी ६ हजार ६८८, जसपा ५३७ र लोसपासँग लोसपा २०८ मत रहेको छ ।
मोरङको क्षेत्र नम्बर ६ मा यस पटक पुरानै प्रतिस्पर्धीको रोचक भिडन्त हुने भएको छ । सो क्षेत्रमा सत्ता गठबन्धनको तर्फबाट कांग्रेस नेता डाक्टर शेखर कोइराला र एमाले गठबन्धनबाट लालबाबु पण्डित उम्मेदवार छन् ।

पण्डितले कोइरालालाई २०७४ सालको निर्वाचनमा पराजित गरेका थिए । त्यसको बदला लिने दाउमा कोइराला छन् । अघिल्लो निर्वाचनमा वाम गठबन्धनबाट उम्मेदवार बनेका पण्डितले ६ सय मतले कोइरालालाई पराजित गरेका थिए । यस पटक भने माओवादीसहितको गठबन्धनबाट उम्मेदवार बनेका कोइरालाले बाजी मार्ने सम्भावना छ । यद्यपि स्थानीय तहको निर्वाचनमा कोइरालाले गठबन्धनविरुद्ध दिएको अभिव्यक्ति र उनका समर्थकको भूमिका अहिले उनकै लागि घातक हुन सक्ने देखिन्छ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार कांग्रेससँग २७ हजार ८६, एमाले २४ हजार ५५६, माओवादी ४ हजार ९९६, जसपा ३ हजार ९३९, राप्रपा ३ हजार ११५, एकीकृत समाजवादी २ हजार ३५५ र लोसपासँग ८९५ मत छ ।

बालुवाटार जग्गा प्रकरणमा मुछिएका कांग्रेस नेता विजयकुमार गच्छदारको क्षेत्र सुनसरी–३ पनि सधैँ चर्चामा रहने क्षेत्र हो । परिचित प्रतिद्वन्द्वी एमालेकी भगवती चौधरी गच्छदारको लागि सधैँका लागि चुनौती बन्दै आएकी छन् । उनले यस पटक पनि गच्छदारलाई चुनौती दिएकी छन् । चौधरीलाई जसपा र गच्छदारलाई सत्ता गठबन्धनको समर्थन छ । गत २०७४ सालमा वाम गठबन्धनबाट उम्मेदवार बनेकी चौधरीलाई गच्छदारले एक्लै पराजित गरेका थिए । यसपटक गच्छदारलाई सत्ता गठबन्धन दलहरुको समर्थनले सजिलो बनाए पनि उनको उमेर र उनलाई लागेको आरोपको खण्डन गर्नु चर्को पर्नेछ । सो क्षेत्रमा यसअघि स्थानीय तह निर्वाचनमा वडाध्यक्षहरुले पाएको मत अनुसार एमालेसँग ३५ हजार ५३, कांग्रेस ३३ हजार ५७१, जसपा ५ हजार ५१६, माओवादी ३ हजार ८००, राप्रपा ३ हजार ३३१ र एकीकृत समाजवादी ६२६ मतको अवस्थामा छन् ।

सत्ता गठबन्धनबाट माओवादीको भागमा परेको भोजपुरमा गठबन्धनलाई निर्वाचन जित्न सहज देखिन्छ । यद्यपि एमाले नेता शेरधन राईको उम्मेदवारी गठबन्धनका उम्मेदवार सुदन किरातीलाई भारी पर्न सक्छ ।

०७४ को प्रतिनिधिसभा निर्वाचनमा वाम गठबन्धनको तर्फबाट माओवादी केन्द्रका नेता किराँतीले ३४ हजार ३९४ मत ल्याउँदा कांग्रेस र जसपासहितको गठबन्धनमा कांग्रेसका उम्मेदवार उमेशजंग रायमाझीले २१ हजार ६९६ मतमात्रै ल्याएका थिए । पुनः सोही निर्वाचन क्षेत्रबाट किराँतीले उम्मेदवारी दिएका छन् । ०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा एमाले नेता शेरधन राईलाई हराएर विजयी भएका किराँती ०६९ सालमा भने उनै राईसँग पराजित बनेका थिए । उनी ०५६ सालमा २५ वर्षकै उमेरमा चुनाव जितेर प्रतिनिधिसभामा कान्छो सांसद बनेका थिए । गत २०७९ वैशाख ३० गते सम्पन्न निर्वाचनको वडाध्यक्षको मत परिणाम अनुसार जिल्लामा एमाले ठूलो पार्टी छ ।

स्थानीय तहको मत परिणाम अनुसार गठबन्धन चार दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीको मत जोड्दा ४० हजार हुन्छ भने एमालेको त्यो भन्दा १२ हजार कम अर्थात् लगभग २८ हजार मत रहन्छ । राष्ट्रिय राजनीतिमा उदयीमान युवा नेताको छवि बनाएका सुदन किराँती पनि निर्वाचन जित्ने दाउमा छन् । सो क्षेत्रमा स्थानीय निर्वाचन २०७९ मा पार्टीगत वडाध्यक्षका उम्मेदवारले पाएको मत अनुसार एमालेसँग २७ हजार ६५६, कांग्रेस २३ हजार ५९९, माओवादी १४ हजार ७६१, एकीकृत समाजवादी १ हजार ९४५ र जसपासँग १ हजार ६४५ मत छ ।