विराटनगर । नेकपा एमालेले डा. विजय सुब्बालाई तेह्रथुममा उम्मेदवार बनाएपछि आयातितको आरोप लाग्न थालेको छ ।
उनी पछिल्लो समय जिल्लामा भन्दा काठमाडौँमै बढी बसोबास गर्छन् । उनले जिल्लामा नबस्ने, जातीय कुरा गर्ने, जिल्लामा एमालेलाई अप्ठ्यारो अवस्थामा पुर्याएर पार्टी त्यागेको, अवसरबादी जस्ता आरोप लाग्न थालेको छ ।
उनलाइ एमालेले २३ वर्षपछि एमालेले प्रतिनिधिसभाको उम्मेदवार बनाएको हो ।
सुब्बा २०४८ र २०५६ मा दुई पटक प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।संविधानसभा निर्वाचनमा टिकट नपाएपछि सुब्बाले एमाले छाडेर २०६९ सालमा तत्कालिन संघीय समाजवादी पार्टीमा प्रवेश गरेका थिए ।
२०७१ सालमा अध्यक्ष केपी शर्मा ओलीले उनलाई केन्द्रीय सदस्यकै हैसियत दिएर एमाले फर्काएका थिए ।
एमाले परित्याग गर्दा सुब्बाले एमाले क्षेत्री बाहुनको पार्टी भएको आरोप लगाएका थिए । यस्तै फर्कने बेलामा भने उनले आफूलाई मोहीयानी हक लाग्ने बताएका थिए ।
अहिले टिकट पाएपछि त्यो बोली नै उनका लागि गला पासो हुने एमालेका नेताहरूले बताएका छन् ।
‘उहाँले पहिला क्षेत्री बाहुन भन्दै गाली गलोज गर्नुभयो,’ एमालेका एक नेताले भने,‘अहिले भोट माग्न जाँदा त्यसको जबाफ दिनुपर्ने अवस्था छ ।’
सुब्बालाई आयातित उम्मेदवारको समेत आरोप लाग्ने गरेको छ ।
विगतदेखिनै ओली निकट मानिएका सुब्बा काठमाडौं बसेको भन्दै तत्कालीन पार्टी प्रमुख माधब नेपालले भवानी खापुङलाई टिकट दिएका थिए ।
खापुङले टिकट पाएपछि असन्तुष्ट हुदै सुब्बाले ओलीले असहयोग गरेको भन्दै पाटी परित्याग गरेका थिए ।
उनले पार्टी छाडेपछि खापुङलाई एमालेले तीन पटक टिकट दिएको थियो । दुई पटक खापुङ निर्वाचित भएका थिए ।
खापुङले एमाले छाडेर समाजवादीमा लागेपछि सुब्बाले टिकट पाएका हुन् ।
एमालेको पकड मानिने तेह्रथुममा २०१५ र २०६४ बाहेक सबै निर्वाचनमा एमाले विजयी हुँदै आएको थियो ।
गठबन्धनको तर्फबाट भने काँग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङले टिकट पाएकी छिन् ।

