कोशीमा सरकार फेर्ने कसरत , अनिर्णीत बनेको माओवादी संसदीय दल बैठक ११ बजे बस्ने

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिने या नबाहिरिने भन्ने विषयमा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक मंगलवार ११ बजेका लागि बोलाइएको छ । सोमबार वसकेको बैठक अनिर्णीत बनेपछि थप निर्णय गर्न मंगलवार विहान ११ बजे बैठक बोलाइएको हो ।

सोवबार सरकारबाट बाहिरिने कि नबाहिरिने भन्ने निर्णय गर्न आइतबार आयोजित संसदीय दलको बैठक विरोधाभाषपूर्ण निर्णय गर्दै सकिएको छ । मंगलवार बैठक बस्नु अगाडी संसदीय दलका नेता इन्द्र बहादुर आङवोले पाटीका नेताहरुसँग छलफल गर्ने र संसदीय दलको बैठकले थप निर्णय गर्ने एक सासदले बताइन ।

हिजो बसेको बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय भने गरेको थियो । सांसद गणेश उप्रेती, अहिलेका भौतिक पूर्वाधार मन्त्री दुर्गाप्रसाद चापागाइँ लगायतले ‘नयाँ सरकार बनाउन पहल गर्ने’ निर्णय भएको बताएका छन् ।

आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णय भएको बताउने माओवादीले थप निर्णय सोमबार पार्टी प्रदेशका पदाधिकारीसँग बसेर लिने बताएको छ । ‘नयाँ सरकार बनाउन दलका नेताको संयोजकत्वमा पहल गर्ने निर्णय भयो ’ सासद गणेश उप्रेतीले भने ‘बाँकी कुरा सोमबार प्रदेश कमिटीका नेताहरुसग बसेर टुंग्याउने निर्णय भएको छ ।’
अहिलेको प्रदेश सरकारका मन्त्री दुर्गाप्रसाद चापागाईंले पनि माओवादी नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्ने निर्णय भएको बताए । तर, त्यसका लागि राप्रपाको भरपर्दो साथ खोज्ने निर्णय पनि भएको उनले प्रतिक्रिया दिए ।

केन्द्रीय गठबन्धनको निर्देशन अनुसार सरकार छाडनु पर्ने भन्दै चौतर्फी दबाब आइरहेका बेला माओवादीले विरोधाभाषपूर्ण निर्णय गरेको हो । माओवादीका केही नेताहरुले भने संसदीय दलले सरकार छाड्ने निर्णय गरेको तर नेताहरु र पार्टी केन्द्रसँग थप छलफलपछि मात्रै टुंगोमा पुग्ने तय भएको पनि बताएका छन् । केहीले भने त्यस्तो कुनै निर्णय नभएको बताएका छन् ।

यसअघि नै जसपा सरकारबाट बाहिरिएको छ । एमाले, माओवादी, राप्रपा र जसपाको गरि ५९ सांसदको समर्थनमा एमाले नेता हिक्मत कार्की गत पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । माओवादीले समर्थन फिर्ता लिए कार्की नेतृत्वको सरकार अल्पमतका पर्नेछ ।माओवादी केन्द्रबाट कार्की नेतृत्वको सरकारमा भौतिक पूर्वाधारमन्त्री दुर्गाप्रसाद चापागाईँ र पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य सहभागी छन् । उनीहरू गत माघ ६ गते मन्त्री पदमा नियुक्त भएका हुन् ।

उता नेपाली काङ्ग्रेस कोशी प्रदेश संसदीय दलको गत जेठ ४ गते बसेको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा रहेका दलहरू माओवादी र जसपाले कोशी प्रदेश सरकारबाट फिर्ता आउन आग्रह गरेको थियो ।

माओवादी मन्त्री द्वय चापागाईँ र आचार्यले मुख्यमन्त्री कार्कीलाई राजीनामा बुझाउने तयारी गरेका थिए । दलले तत्काल कुनै निर्णय नलिएपछि उनीहरूले मुख्यमन्त्री कार्कीलाई बुझाउन लागेको राजीनामा पत्र गोजीमै थन्किएको छ ।

प्रदेश सरकारबाट जेठ १७ मा जसपा बाहिरिएको थियो । फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि चुलिएको पहिचानवादी आन्दोलनको दबाब र केन्द्रीय गठबन्धनको नीति अनुसार जसपाले सरकार छाडेपछि माओवादीलाई पनि सरकार छाडन दबाब छ ।कोशी नामकरणपछि प्रदेशमा उठेको आन्दोलनमा एक जना पहिचानवादी आन्दोलनकारी पदम लिम्बूले ज्यान गुमाएर उनलाई सरकारले सहिद घोषणा गरिसकेको छ । यसबीचमा सयौं घाइते भइसकेका छन् ।

एकातिर विगतदेखि नै पहिचानको पक्षमा आवाज उठाउँदै आएका माओवादी र जसपा पहिचानवादी आन्दोलनले नैतिक अफ्ठ्यारोमा थिए । माओवादी नेताहरूले पनि आन्दोलनले आफूहरूलाई असहज अवस्था भएको बताउँदै आएका छन् । अर्कोतिर राष्ट्रपति चुनावमा भएको सत्ता गठबन्धनको फेरबदलपछि माओवादीलाई प्रदेश सरकार छाड्न दबाब छ ।

मङ्गलबार, २३ जेठ, २०८०, बिहानको ०८:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर