विराटनगर । धरान उपमहानगरपालिकाको –६ पानबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समूहको निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको छ ।

प्रमुख राजनीतिक दलहरूको गठबन्धनलाई पराजित गर्दै निर्वाचनमा स्वतन्त्र समूह विजयी भएको हो । धरानमा गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ मेयर पदमा विजयी भएका थिए ।

मत परिणामअनुसार गठबन्धनले कोषाध्यक्षबाहेक अन्य पदमा पराजय ब्यहोरेको छ । दलीय गठबन्धनबाट अध्यक्षका उम्मेदवार विश्वराज कार्कीलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार समीर खनाल विजयी भएका हुन् । उपाध्यक्षमा शुक्रराज राई, सचिव पदमबहादुर पौडेल, सहसचिव कृष्णबहादुर विष्ट विजयी भए । कोषाध्यक्षमा नेपाली कांग्रेसकी झुमा राई निर्वाचित भइन् । सदस्यहरूमा रती तामाङ, निता विश्वकर्मा, प्रकाश तामाङ र सुमन निरौला स्वतन्त्र प्यानलबाटै विजयी भए । विगतमा दलीय संयन्त्रको नेतृत्वमा रहेको संस्था अहिले स्वतन्त्र उम्मेदवार विजयी भएपछि पार्टीको कब्जा बाहिर पुगेको छ ।

धरान उपमहानगरपालिका वडा नम्बर ६ मा पर्ने पानबारीमा स्थानीय तहको निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवार नै विजयी भएका थिए । कांग्रेस वडा समितिले सर्वसम्मत सिफारिस गरेका पदमबहादुर पौडेलले टिकट नपाएपछि भूपेन्द्र भट्टराईले स्वतन्त्र उम्मेदवारी दिएका थिए । हाल उनै भट्टराई स्वतन्त्र अभियानमा छन् । उनको समर्थन पाएको प्यानलले खानेपानी संस्थामा विजय हासिल गरेको हो ।

खानेपानीको चुनावी गठबन्धनमा एमालेले अध्यक्ष, माओवादी केन्द्रले उपाध्यक्ष तथा सचिव र कोषाध्यक्ष कांग्रेसले पाउने गरी भागबण्डा मिलाइएको थियो । संस्थाले हालसम्म २ हजार २०३ वटा मिटर राखेर सेवा प्रवाह गरिरहेको छ ।

२०५८ सालदेखि खानेपानी संस्था सञ्चालनमा आएको थियो ।