संखुवासभा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभा अलैँची जोन सञ्चालक समितिको संयोजकमा पासाङ शेर्पा सर्वसम्मत चयन भएका छन् । आइतबार बसको जोन समन्वय समितिको बैठकले ९ सदस्यीय समिति गठन गरेको छ ।

शेर्पाको संयोजकत्वमा ९ सदस्यीय अलैँची जोन सञ्चालक समिति गठन भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना,परियोजना कार्यान्वयन इकाई संखुवासभाका प्रमुख लक्ष्य चौधरीले जानकारी दिनुभयो । विधान र निर्देशिका अनुसार नै जोन सञ्चालक समिति गठन गरिएको प्रमुख चौधरीले बताउनुभयो । अलैँची जोन सञ्चालक समितिको कार्यकाल २ वर्ष रहने प्रावधान छ । अलैँची जोन कार्यक्रम संखुवासभा र भोजपुर जिल्लाको २२ सय ७६ हेक्टरमा सञ्चालनमा छ । जोन सञ्चालक समिति गठन जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यको उपस्थितिमा भएको थियो ।
संखुवासभाका १० स्थानीय तहका ३२ वडा र भोजपुरका छ स्थानीय तहका ३० वडाहरूमा अलैँची जोन कार्यक्रम सञ्चालनमा छ । खेती बिस्तार गर्दै कृषकले उत्पादन गरेको अलैँचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैँची जोन कार्यक्रम ल्याइएको प्रमुख चौधरीले बताउनुभयो । अलैँचीको भाउमा आएको भारी गिरावट र अलैँचीमा लाग्ने रोग गर्दा किसान झन् मारमा पर्ने गरेका छन् ।