इटहरी । भनिन्छ ‘जिन्दगीमा दुःख नगरी सुख आउँदैन’ अनि ‘संघर्ष नगरी परिचय बन्दैन’, यो भनाइलाई व्यवहारिक रूपमा उतार्न सफल भइन् इटहरीकी राधिका कार्की थापा । हातमा सीप भएर पनि रोजगारी नपाउँदा भांैतारिएर विदेशिने युवा पुस्ताका लागि राधिका गतिलो उदाहरण हुन् । बाल्यकालमा भोगेको दुःख, युवावस्थामा आइपरेको पारिवारिक बोझ, र जिम्मेवारीको भारीले थिचिएको काँध । तैपनि राधिकाले कहिल्यै हरेस खाइनन् । त्यही दुःख र संघर्षका कारण आज उनको जीवन फेरिएको छ । उनी सफल व्यवसायी बनेकी छन् । दर्जन बढी संघसंस्थामा सक्रिय भएर सामाजिक पहिचान पनि बनाउन सफल भएकी छन् ।

हिजोको दिनमा रोजगारी नपाएर इटहरीको सडकमा भौतारिदै हिडेकी राधिकाले १० हजार भन्दा बढी युवालाई सीप सिकाएर रोजगारीको आधार तयार पार्न योगदान गरेकी छन् । यो अवस्थासम्म उनी सजिलै आइपुगेकी होइनन् । त्यसबीचमा भोगेको कष्टपूर्ण अवस्थाको करुण कथा छन् ।

वि.सं.२०३० सालमा झापाको गौरीगाउँमा माता लीला माया कार्की र पिता रूद्रबहादुर कार्कीको कोखबाट जन्मिएकी राधिका परिवारकी साँइली छोरी हुन् । आमाबुवा र दिदीहरु मेलापात गर्दा भाइबैनी हेर्ने जिम्मा राधिकाको हुन्थ्यो । घरधन्दा, खेतबारी, घाँसपात र गोठालो गर्दै उनले किशोर अवस्था बिताइन् ।

बाबा रूद्रबहादुर कार्कीको शारीरिक अवस्था बिग्रदै गएपछि परिवारको जिम्मेवारी सदस्यहरुको काँधमा थपियो । त्यसको असर राधिकाले अध्ययनलाई रााम्ररी बढाउन पाइनन् । स्थानीय गाउँमा रहेको विद्यालयबाट कक्षा ं२ सम्मको अध्ययनपछि पढाइलाई बिट मार्दे रोजगारीको खोजीमा निस्किइन् । झापाको दुर्गम ठाउँ गौरीगाउाबाट स–परिवारनै २०५२ सालमा मोरङको सलकपुर झरेको कार्की परिवार मध्येकी साँइली छोरी राधिका २०५३ सालमा इटहरी आएकी हुन् । हातमा सीप छँदैछ भनेर सुगम सहर इटहरीलाइ रोजेर कर्मथलो बनाउँदा सुरू–सुरूमा उनलाई निकै कठिनाइ भयो । सीपमात्र भएर नहुँने रहेछ पैसापनि चाहिन्छ भन्ने पाठ उनले त्यतिबेलै सिकिन् ।

मोरङको सुन्दरहरैंचास्थित सलकपुरमा परिवार छोडेर उनी इटहरी सरेर संघर्ष गर्न थालिन् । बिहान बेलुकी हातमुख जोर्न निकै गाह्रो परेको थियो त्यसबेला । ‘शहर त आइयो तर बिहान बेलुका हातमुख जोडनै धौधौ हुन थाल्यो,’ उनले भनिन् । हातमा सीप भएर पनि कुनै जागिर नपाउनु राधिकाको लागि अर्को तनावको विषय बन्यो ।

उनले आमाले लगाएको तिलहरी बेचेर १६०० रुपैयाँमा एउटा सिलाइ मेसिन किनेर एउटा सटर भाडामा लिएर व्यवसाय थालिन् । त्यसै दौरानमा इटहरीका व्यवसायी रमेस थापासँग प्रेम विवाह भयो । विवाहपछि पनि व्यवसायलाई निरन्तरता दिइरहिन् । विस्तारै व्यवसाय सफलताको बाटोमा अघि बढ्यो । मेसिन थपिदै गयो । एउटाबाट तीनवटा हुँदै २० वटा मेसिन राखेर सिलाइको काम गर्न थालिन् । व्यवसाय सफल हुनुमा श्रीमान् र माइतीको सुझाव र सहयोग महत्वपूर्ण रहेको उनी बताउँछिन् । बुबाले दिएको सुझाव सम्झिर्दै राधिका भन्छिन् ‘जीवनमा जस्तोसुकै परिस्थिति आएपनि कहिल्यै हिम्मत नहार्नु ।’

सुरूसुरुमा व्यवसाय नचल्दा उनको मन नबिरक्तिएको होइन । कतिपय बेलामा विदेश जाउँजस्तो पनि लाग्थ्यो । यस्तो बेलामा बाबुको उपदेश सम्झिन्थिन् । बुबाको शारीरिक अवस्था कमजोर बनेपनि मस्तिष्क तगडै थिए । उनले सुझाव र हौसला दिइरहन्थे । त्यसले पनि जीवनमा सफलता प्राप्त गर्न ठूलो सहयोग पुगेको उनी बताउँछिन् ।

बिस्तारै उनको जीवन बदलिदै गयो । सामान्य अवस्थाबाट सफल व्यवसायीको रुपमा उनको परिचय बदलीयो । उनी अन्तर्राष्ट्रियस्तरमा पनि चिनिन सफल भइन् । करिब एक दर्जन सामाजिक संघ संस्थाहरूमाक्रियाशील राधिका समाज सेवासँगै राजनीतिमा पनि सक्रिय छन् ।
व्यवसायमा सफलता पाएपछि समाजमा पछाडि पारिएकाहरुलाई सहयोग गर्ने र उनीहरुलाई सीप सिकाउन उनले महिला सीप विकास केन्द्र सञ्चालन गर्न थालिन् । २०६७ सालमा केन्द्र स्थापना गरेपछि उनले सीप सिकाएका १० हजार भन्दा बढी मानिस अहिले स्वरोजगार र रोजगार बनेका छन् ।

रोजगार नपाएर भौतारिएका हजारौ किशोर किशोरीहरलाइ सीप दिलाएर रोजगार प्रदान गरेवापत उनले अन्तर्राष्ट्रिय अवार्डपनि पाइन् । यतिमात्र नभइ उनको संघर्षको कथा बेलायतका अखबारहरुमा छापिएका छन् । बेलायतको प्रशिद्ध लिभरपुलजोन मुरे युनिभर्सिटीले तयार पारेको नेपालका २५ जना उर्जाशील र संघर्षशील महिलाहरूको सूचिमा राधिका परिन् ।

उनी समाजसेवामा पनि उतिकै क्रियाशील छिन् । त्यसवापत उनले दर्जनबढी पुरस्कार पाएकी छन् । महिलाहरूलाई रोजगार दिलाउने मात्र हैन राधिकाले पहिलो पटक घर छोडेर बाहिर बस्दा भोग्नुपरेको पिडा र समस्यालाइ मध्यनजर गर्दे सडकमा भैौतारिएर कष्टकर जीवन बिताइरहेकाहरुलाई उद्धार गर्ने सोचका साथ माया घर नेपालको परिकल्पना गरिन् । जसको परिकल्पनाअनुसार नै अहिले इटहरीको हवाइचौकमा माया घर नेपाल सञ्चालनमा छ र सडकमा कष्टसाध्य जीवन बाँचेकाहरुका लागि एउटा साहारा बनेको छ ।

‘जीवनमा धेरै कुराहरू प्राप्त भए, धेरै कुराहरू गुमाइए तर, समग्रमा भन्नुपर्दा राधिकालाई इटहरीबाट बेलायतसम्म पुर्‍याउन त्यो सोह्रसय रुपैयाँमा किनेको मेसिनकै योगदान रह्यो,’ उनले भनिन् ।