
गोकुल पराजुली
प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा चलिरहेको सरकार क्रमशः संकटग्रस्त अवस्थामा पुग्दै गएको देखिन्छ । शिक्षा मन्त्री विद्या भट्टराईको राजीनामा यसैको एउटा दृष्टान्त हो । प्रधानमन्त्रीले शिक्षमन्त्री भट्टराईको राजीनामालाई स्वास्थ्यको कारणसँग जोडेर व्याख्या गरे । तर पर्दा पछाडिको वास्तविकता अर्कै देखिन्छ ।
प्रधानमन्त्री ओलीले सभापति शेरबहादुर देउवा स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गएको विषयलाई पनि राजनीतिक रङ्ग दिने प्रयास गरेका छन् । सरकार ढल्छ भन्ने हल्लालाई खण्डन गर्दै आफूले १५ महिनापछि सहमतिअनुसार देउवालाई सत्ता हस्तान्तरण गर्ने दोहो¥याउनु आफैंमा आश्चर्यजनक छ । यसले सत्ताको खेलमा आत्मविश्वासको कमी भएकै देखाउँछ ।
मन्त्री भट्टराईको राजीनामासँगै बाहिर आएका तथ्यहरू अत्यन्त विचलित पार्ने खालका छन् । महिला भएकै कारण हेपिएको, एकल महिलासँग काम गर्न नसकिने भन्ने अपमानजनक व्यवहार गरिएको, ‘आफू पनि नजान्ने तर अरूको कुरा पनि नसुन्ने’ भन्नेजस्तो अहंकारपूर्ण भनाइ संचार माध्यममा सार्वजनिक हुँदा प्रधानमन्त्रीको वास्तविक चरित्र उजागर गरेको छ । यसले प्रधानमन्त्रीको “महानता” होइन, “तुच्छता” प्रदर्शित गरेको छ ।
सार्वजनिक कार्यक्रममा भट्टराईलाई स्वास्थ्य समस्याका कारण काम गर्न नसकेको भन्ने प्रधानमन्त्रीको बयान पूर्णतः विरोधाभासपूर्ण देखिन्छ । भर्खरै अप्रेशन गरेकी मन्त्रीले देशभर दौडधुप गरेर समस्या समाधानका लागि मेहनत गरेको सबैले देखेका छन् । यस्तो अवस्थामा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था के छ ? उनी कति समयदेखि कस्ता स्वास्थ्य समस्या झेलेर बसिरहेका छन् र अहिले पनि त्यही स्वास्थ्यकै कारण देखाउँदै विदेशबाट आयातीत पानी पिउने गरेका छन् भन्ने तथ्य जनताले बिर्सिएजस्तो ठान्दछन् ? के उनी भट्टराईजस्तै समस्या समाधानका लागि दौडधुप गर्न सक्ने शारीरिक क्षमताका हुन् ? बितेको नौ महिनाको कार्यकालमा त उनले यस्तो क्रियाशीलता देखाएनन् । बरु सबैतिर विवाद सिर्जना गर्ने, असहमतिका स्वरहरूलाई दबाउने, र अन्ततः सबैलाई दपेट्ने काम मात्र गरे ।
प्रधानमन्त्रीको भाषिक शैली पनि आपत्तिजनक छ । कहिले “बघिनी“ भन्दै त कहिले अन्य अपमानजनक शब्दहरू प्रयोग गरेर विरोधीमाथि प्रहार गरिरहँदा उनी आफूलाई हिंसाको प्रतीकको रूपमा प्रस्तुत गरिरहेको पाउँछौं । तर उनी शान्ति, सनातन, बेद र पुराणको प्रवचन दिन्छन् । यस्तो द्वैध चरित्रले राष्ट्रको गरिमा खस्काएको छ । देशमा अनावश्यक द्वन्द्व बढाउन सहयोग गरेको छ ।
शिक्षकहरूको २० दिनदेखि जारी आन्दोलनलाई पनि सरकारले गम्भीरतापूर्वक लिएको छैन । बरु राष्ट्रिय परीक्षा बोर्डलाई आगामी विद्यार्थीहरूको परीक्षा लिने दबाब दिएर द्वन्द्व थप चर्काउने काम गरेको छ । सरकार र शिक्षकहरूको विवादमा निर्दोष विद्यार्थीहरूको भविष्य दाउमा लगाउनु अमानवीय मात्र होइन, द्वन्द्व व्यवस्थापनको कौशलता प्रदर्शन गर्न अक्षम भएको स्पष्ट हुन्छ ।
कर्मचारीहरूलाई प्रयोग गरेर शिक्षकहरूको आन्दोलनलाई (सेबोटेज गर्ने ) तोड्ने प्रयास पनि विफल भइसकेको छ । कर्मचारीहरूको आफ्नै ट्रेड युनियनले सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएर परीक्षामा सहभागी नहुने मात्र होइन, आफ्नै माग पूरा गर्न सडक आन्दोलनमा जाने चेतावनी दिइसकेको छ ।
सरकार एकपछि अर्को दम्भपूर्ण कदम चाल्दै, बलप्रयोग गरेर अगाडि बढ्न खोजिरहेको छ, तर परिस्थिति विपरीत दिशामा मोडिँदै छ । वर्तमान प्रधानमन्त्री आफ्नै पार्टीभित्रबाट समेत घेराबन्दीमा परेका छन् । पार्टीभित्र विरोधीको संख्या र दायरा बढ्दो छ, र एकपछि अर्का सहयोगीहरूले उनलाई छाड्दै गएका छन् । स्वयं प्रधानमन्त्रीले मन्त्री बनाएकाहरू नै पलायन हुनु उनको नेतृत्व क्षमतामाथिकै प्रश्न पनि हो ।
केपी शर्मा ओली सिक्नका लागि नभई सिकाउनका लागि मात्र जन्मिएका जस्ता देखिन्छन् । उनी आफूलाई सर्वज्ञानी ठान्दछन्, तर विज्ञानले जीवनलाई निरन्तर सिकाइको प्रक्रिया मानेको छ । नेतृत्वमा रहेका व्यक्तिहरू अहंकारमा फसेर आफ्नो पतन आफैं निम्त्याउँछन् भन्ने इतिहासका पानाहरू साक्षी छन् ।
लोकतन्त्रमा नेतृत्वको सफलता जनताको विश्वास र समर्थनमा निर्भर गर्दछ । बलप्रयोग र दम्भले होइन, संवेदनशीलता र सहकार्यले मात्र संकटलाई अवसरमा बदल्न सकिन्छ । अहिलेको परिस्थितिले नेपाली राजनीतिको परिपक्वता र नेतृत्वको दूरदर्शितालाई परीक्षणमा राखेको छ । आत्मसमीक्षा नगरी अगाडि बढ्न खोज्दा राष्ट्र थप संकटतर्फ धकेलिने निश्चित छ । त्यसैले प्रधानमन्त्री ज्यू अब बाटो खुला गरिदिनुहोस् । यो बुढेशकालमा सकिनसकी ठाउँ ओगटेर नयाँ केही हुनेवाला छैन बरु नहुनुपर्ने चाहिँ धेरै हुनेवाला छ ।