विराटनगर । अवैध लागुऔषध ब्राउन सुगरसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विराटनगर –१४ बाट प्रहरीले ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा एक जना युवती छिन् ।
पक्राउ पर्नेमा सुनसरीको रामधुनी नगरपालिका–८ की २७ वर्षीया शरस्वती गुरुङ, धरान उपमहानगरपालिका–१३ का ३० वर्षीय सुलभ रिजाल, धरान–२० का २३ वर्षीय रोशन लिम्बू, विराटनगर महानगरपालिका–१५ का २५ वर्षीय वरुण साह, विराटनगर–३ का ३० वर्षीय आशिष हमाल र सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१० का २६ वर्षीय विकाश थापालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
पक्राउ पर्नेमध्ये शरस्वतीले कोठा भाडामा लिएर खैरो हेरोइनको कारोबार गरिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अरु युवाहरु उनको कोठामा खरिद गर्न पुगेका बेला पक्राउ परेका हुन् । शरस्वतीले भने भारतबाट लुकाईछिपाई ल्याएको खैरो हेरोइन भाडाको कोठामा राखेर लागुऔषधका सेवनकर्तालाई बिक्री गर्ने गरेको प्रहरीको भनाइ छ ।

खैरो हेरोइनको कारोबार गर्नकै लागि शरस्वतीले विराटनगर महानगरपालिका–१४ का विपिन शर्माको घरमा कोठा भाडामा लिएको पाइएको छ । भाडाको कोठामा लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा गुरुङको कोठामा शुक्रबार साँझ प्रहरीले छापा हानेको डिएसपी श्रेष्ठले बताए । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक महेन्द्र दर्नाल नेतृत्वको टोलीले छापा मारेर खानतलासी गरी कोठाबाट १४ ग्राम ६१ मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद गरेको छ । कारोबारीले खैरो हेरोइन किन्न र बेच्नका लागि तौल लिनलाई डिजिटल तराजुको प्रयोग गर्ने गरेका छन् ।

पक्राउ परेकाहरुलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीहरुविरुद्ध प्रहरीले लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने भएको छ ।