झापा ५ मा दमकका मेयर थापाको समर्थन कसलाई ?

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच चुनाबी तालमेलको सहमति भएको छ । सहमति अनुसार ओलीको क्षेत्र झापा ५ मा राप्रपाका उम्मेदावर छैनन् भने लिङ्देनको क्षेत्र झापा ३ मा पनि एमालेले उम्मेदवारी दिएको छैन ।

राप्रपाको केन्द्रीय तहमा एमालेसँग तालमेलको सहमति भएपनि राप्रपाको स्थानीय कार्यकर्ताले अहिलेसम्म त्यसको समर्थन गरेका छैनन् । न त विरोध नै गरेका छन् । खासगरी दमक नगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनको सहयोगमा निर्वाचित राम थापाले के गर्छन् भन्ने सबैको चासो छ ।

२०७४ सालको निर्वाचनमा माओवादी केन्द्र र राप्रपाको साथ पाएका ओलीले ५७ हजार १३९ मत ल्याएर विजयी भएका थिए । त्यसबेला काँग्रेसका उम्मेद्वार डा.खगेन्द्र अधिकारीले २८ हजार २९७ मत प्रापत गरेका थिए ।

अहिले परिस्थिति फेरिएको भएपनि प्रतिस्पर्धी उहि छन् । यसपटक अधिकारीलाई यसअघि ओलीलाई साथ दिएको माओवादी केन्द्र मात्र नभएर एमालेबाट विभाजित नेकपा एकीकृत समाजवादीको पनि समर्थन छ । एमाले र राप्रपाबीच तालमेलको सहमति केन्द्रबाट भएको भएपनि राप्रपाको मत ओलीले पाउन दमकका मेयर थापा सकारात्मक हुनुपर्छ ।

थापाले आफू नगरपालिकाको प्रमुख पदमा साझा उम्मेद्वार बन्दा सत्ता गठबन्धन दलसँग संघ र प्रदेशको निर्वाचनमा सहयोग गर्ने बचन दिएका थिए । सोही वचन अनुसार थापाले राप्रपाको सत्ता गठबन्धनसँगै तालमेल हुनुपर्ने पक्षमा थिए । तर, त्यसो नहुँदा उनी आफैं नैतिक संकटमा परेका छन् ।

‘स्थानीय तह निर्वाचनमा ५ दलीय गठबन्धनसँग तालमेल गरेर चुनाव जितेको र संघ तथा प्रदेशको निर्वाचनमा पनि गठबन्धन गर्ने सहमति पार्टीको प्रदेश प्रमुखको हैसियतमा गरेको हो’ थापाले भने । दमक प्रमुखमा जितेसँगै ओली र एमालेको अहम्ता तोडिएको घोषणा गरेका उनले एमालेबाटै निर्वाचित जनप्रतिनिधिको कारण नगरपालिकाको काममा पनि सास्ती पाइरहेका छन् ।

दमकका प्रमुख थापालाई एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले नगर प्रमुखको रुपमा पनि सम्बोधन गर्दैनन् । बैठकमा तथा नगरसभामा सम्बोधन गर्दा ‘कुर्सीमा बसिरहनु भएका चियरपर्सन’ भन्ने गरेकोप्रति उनको चित्तदुखाई छ । यो अवस्थामा ओली र एमालेको पक्षमा मत माग्न उनी सहजै तयार हुने अवस्था छैन ।

त्यसो त थापाको आफ्नै पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसँग राम्रो सम्बन्ध छैन । राप्रपाको अधिवेशनको समयमा लिङ्देनलाई पराजित गर्न लागेको उनको समर्थन कमल थापालाई थियो । तर, उनी कमल थापाको पार्टीमा गएनन् । दमकको मेयरको उम्मेदवार बन्दा पनि लिङ्देनले थापालाई खासै सहयोग नगरेको चर्चा कार्यकर्ताबीच हुने गरेको छ ।

‘राजेन्द्र लिङ्देनको मामलामा मैले उहाँलाई पार्टी अध्यक्ष हुनबाट रोक्न खोजकै हुँ, उहाँले पनि मलाई मेयरमा रोक्न खोजेकै हो,’ पार्टी अध्यक्ष लिङ्देनसँगको सम्बन्धबारे उनी भन्छन्, ‘तर, अब लामो समय भइसकेको छ । हामी विनविन सिच्युएसनमा छौं ।’

लिङ्देनलाई र ओलीलाई जित्नैपर्ने दबाबका कारण गठबन्धन भएपनि कार्यकर्ता तथा समर्थकले सहज मानेका छैनन् । त्यही भएर झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा पनि लिङ्देनका विरुद्धमा एमाले नेता डम्बर बहादुर गिरीले स्वतन्त्र उम्मेद्वारी दिएका छन् । उनी एमालेको प्रदेश कमिटी सदस्य तथा हल्दीबारी गाउँपालिकाको अध्यक्षमा पराजित उम्मेद्वार हुन् ।

सत्ता गठबन्धन दलका नेताहरू झापा ५ मा राप्रपाले सत्ता गठबन्धनका उम्मेद्वारलाई सघाउनेमा ढुक्क देखिन्छन् । ‘हामीले सानो दुःखले राम थापालाई दमक प्रमुखमा जिताएका छैनौं नि, यो कुरा उनले पनि बुझेका छन्,’ गठबन्धनका तर्फबाट झापा ५ (ख)बाट प्रदेशसभाका उम्मेद्वार बनेका माओवादी नेता रेवतराज पुरी (गगन)ले भने, ‘हामीलाई सघाउने कुरामा कुनै दुविधा छैन ।’

एमालेका नेताहरू भने दुई पार्टीबीच संस्थागत सहमति भइसकेको हुनाले राम थापाले निःशर्त एमालेलाई सहयोग गर्ने बताउँछन् । झापा ५ (१) का एमाले उम्मेद्वार हिक्मतकुमार कार्कीले आचारसंहिताले मेयरलाई निर्वाचनमा परिचालन हुन रोक लगाएको भएपनि छलफलबाट सघाउने सहमति भइसकेको बताए । ‘एमालेले राप्रपालाई झापामा एउटा संघ र दुईवटा प्रदेशसभामा सघाउने भएको छ,’ कार्कीले भने, ‘उहाँहरुलाई हामीले सघाउने र हामीलाई उहाँहरुले सघाउने कुरा हुन्छ ।’

संघीय संसद र प्रदेशसभाको निर्वाचनका लागि मनोनयन दर्ता गर्ने समयमा थापाले एमालेका उम्मेद्वारसँग मात्रै होइन सत्ता गठबन्धनका उम्मेद्वारलाई पनि नगरपालिका परिसरमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा खाता र माला लगाइदिएका थिए ।

गठबन्धन दलहरुसँगको गोप्य छलफलमा थापाले आफूले एमालेको विरुद्धमै भोट खसाल्ने बताउने गरेका छन् । ‘गठबन्धनको बलमा प्रमुखमा विजयी बनेकोले धोका दिन्न’ उनले भन्ने गरेको नेताहरु बताउँछन् । नैतिक रुपमा र यस क्षेत्रको आवश्यकताको आधारमा पनि थापाको समर्थन गठबन्धनले पाउने माओवादी केन्द्रका नेता विरेन्द्र बस्नेतले बताए ।

झापा ५ मा गत स्थानीय निर्वाचनमा एमाले एक्लै बलियो छ । तर, राप्रपाको मत कता जान्छ भन्ने कुराले परिणाम निक्र्यौल गर्ने देखिन्छ । सो क्षेत्रमा वडाध्यक्षको मत एमालेको ४१ हजवार, कांग्रेसको २२ हजार २२, माओवादी केन्द्रको १० हजार ७८८, राप्रपाको ८ हजार ३५३ र नेकपा एसको २ हजार छ ।

ओलीको क्षेत्रमा पर्ने प्रदेशसभा १ बाट एमालेका हिक्मतकुमार कार्की र २ बाट होमबहादुर थापा उम्मेदवार छन् । सत्ता गठबन्धनबाट १ मा काँग्रेसका जीवनकुमार राई र २ मा माओवादी नेता रेवतराज पुरी (गगन) उम्मेदवार बनेका छन् ।

सोमबार, २४ असोज, २०७९, रातीको १०:०० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर