लोड हुँदैछ...

मेनु

पञ्चायती राष्ट्रवाद र केशव कोइराला

पञ्चायती राष्ट्रवाद र केशव कोइराला

वि.सं. २०३१ सालमा साउनको ३१ गते आजकै दिन पञ्चायती शासकहरूले नेपाली काँग्रेसका योद्धा केशव कोइरालाको हत्या गरेका थिए । उहाँको घाइते शरीर महोत्तरी जिल्लाको मटिहानीमा मृत अवस्थामा फालिएको थियो । तत्कालीन सरकारले जनायो, प्रहरीसँगको भिडन्तमा मृत्यू भयो ।

कोखामा गोली लागेको, माथिको दाँत भाँचिएको, दाहिने हातको छाला तछारिएको अवस्थामा खेतको आलिमा घोप्टो पारेर उहाँको लाश राखिएको थियो । मृतक केशवको परिस्थितिले स्पष्ट देखाउँथ्यो कि प्रहरीले पक्राउ गरेर उहाँको हत्या गर्याे । यो मुडभेड थिएन । त्यसबेला नेपाली काँग्रेसका प्रखर नेताहरूलाई मार्ने यस्तै तरिका पंचायती क्रुर शासकहरूले अपनाउने गरेका थिए । नख्खु कारागारबाट सार्ने नाममा लिला, ठगी, गोकर्ण र पेशलको हत्या गरियो । मोरङको रमाइलो झोडामा नेता देवानसिंह राईको हत्या गरियो, काठमाण्डुको नक्सालमा मोटरले किच्याएर योगेन्द्रमान शेरचनको हत्या गरियो, वीरगंज पारी रक्सौलमा तेज बहादुर अमात्यको हत्या गरियो, बिहार मधुवनीमा निर्वासित रहनु भएको सरोज कोइरालाको हत्या गरियो । यी सबका अघि र पछि यसरी कयौं ओजस्वी नेताहरूको हत्या गरियो ।

आज पञ्चायती व्यवस्थाका त्यस क्रुर कालखण्डलाई राष्ट्रवादको स्वर्णयुग भनी त्यस बखतका शासकहरूलाई राष्ट्रवादीको जलप लगाउने काम भैरहेको छ । राष्ट्रवादी होलान्, तर प्रजातान्त्रिक आन्दोलनमा यिनीहरूबाट भएका जघन्य अपराधहरू मेट्न चाहेर पनि मेटिन्न । नयाँ पुस्ताले यसको अध्ययन गर्नु पर्दछ ।

वि.सं. २००७ मा भवनाथ कोइराला र माता लालकुमारीको कोखबाट ओखलढुंगाको पूर्वी गाँउ छहरे कोइराला गाँउमा उहाँको जन्म भएको थियो । प्रचुर धन सम्पति, नाता कुटुम्ब सबैलाई बिर्सिएर प्रजातान्त्रिक आन्दोलनको मूलधारामा सहभागी हुनु भएका केशव कोइराला नेपाली काँग्रेसको कुशल संगठनकर्ता तथा लोकप्रिय युवा नेता हुनुहुन्थ्यो ।
उहाँका परिजनहरू जो ओखलढुंगाबाट बसाइँ सरेर सप्तरी आउनु भयो, उहाँहरूको सानिध्यमा मैले पनि लामो समय व्यतित गरें । आज उहाँलाई सादर सम्झिने दिन हो । उहाँका आत्मालाई सदैव शान्ति मिलोस् ।

प्रजान्त्र ल्याउन तराई मधेशका धेरै योद्धाहरु आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका थिए । (राम– लक्ष्मण उपाध्याय हत्याकाण्ड, सरोज प्रसाद उपाध्याय (मधुबनी गोली प्रहार हत्या काण्ड), लगायत देवनाथ दास यादव (सर्वस्वहरण), सूर्यनाथ दास यादव (वि पी मन्त्री मंण्डल)मा कानुन मन्त्री) हरिलाल चौधरी, सप्तरीका नेता गण…)

विडम्बना छ कि…विशेश्वरप्रसाद कोइराला ले आफ्नो राजनैतिक डायरीहरुमा ती तराई मधेश का योद्धाहरुको नाम याद राख्नुको सट्टा मधेसका एक नेतामात्र उच्चारण गर्नुको अर्थ के होला ??.. बरु कृष्णप्रसाद भट्टराई ज्यूले भेदभावरहित भयेर तत्कालीन आन्दोलनका सहभागीसँग समय व्यतित गरेको संस्मरण निर्धक्क भयेर व्यक्त गर्नु हुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।