जीवनको एउटा सानो कथा

  चन्द्र तिम्सिना

कक्षा ११ मा अर्थशास्त्रको कक्षामा म्यामले एकदिन अचानक भन्नुभयो, ‘आज एउटा प्रश्न सोध्छु । जसले त्यसको उत्तर दिन सक्छ त्यसलाई मेरो यो पुस्तक उपहार दिन्छु ।’

हामी निक्कै उत्सुक र सजग भयौं । शिक्षकले जुन पुस्तकबाट पढाउनु हुन्छ, त्यसको मूल्य विद्यार्थीको लागि कति हुन्छ सजिलै अनुमान गर्न सकिन्छ ।

प्रश्न आयो : ‘इकोनोमिक्स इज ए साइन्स अफ चोइस्’, एक्सप्लेन इन ब्रिफ । मैले अलिक हतार गरेँ । उठेर भनि हालें, मानिसका आवश्यकता धेरै हुन्छन्, तर उसँग पैसा थोरै हुन्छ । अनि थोरै पैसाले धेरै आवश्यकता पुरा गर्न खोज्दा उसले सबैभन्दा पहिले आफूलाई नभई नहुने सामान किन्छ । जस्तै : एउटा मानिसलाई चामल र किताब चाहिएको छ भने पहिले चामल किन्छ अनि पैसाले पुग्योभने किताब किन्छ ।

अरु केही विद्यार्थीले पनि जवाफ दिए । तर खै म्यामलाई चित्त बुझेन । यसै बीच एउटी केटी साथीले भनिन्, ‘रोबिन्सकाअनुसार अर्थशास्त्रले मानवीय आवस्यकता र सीमित साधनको वैकल्पिक प्रयोगको अध्ययन गर्दछ ।’ ‘..कुनै किताबमा भएको एउटा परिभाषालाई मिलाएर भने जस्तो लाग्यो । म्यामले उनैलाई आफ्नो पुस्तक उपहार दिनुभयो । क्लास सकियो, सबैले साथीलाई बधाई दियौं ।

भोलिपल्ट म्यामले अर्थशास्त्रका थप परिभाषा र प्रसङ्गहरु पढाउनु भयो । हामी करिब १०० जना विद्यार्थीको त्यो घन्टीको हाजिरी लिनुभयो । अनि मलाई अगाडी बोलाउनु भयो । ‘हिजो तिमीले दिएको पहिलो उत्तर सुनेपछि साथीहरु बोलेका थिए र उपहार पाउने साथीले पनि तिम्रो उत्तर सुनेपछि मिलाएर जवाफ दिएकी थिइन् । तिमीले दिएको जवाफ ठीक थियो । त्यसैले तिमी पुरस्कारको हकदार छौ । म तिमीलाई मेरो कलम उपहार दिन्छु । यसले लेख्नु है ।’

कक्षामा सबैले ताली बजाए । मलाई अघिल्लो दिन रोबिन्सको नाम याद भएन । व्याख्या पनि आएन । तर मैले बोलेका शब्दहरु सबै मेरा थिए । अनि पैसाको अभावमा पुस्तक र चामलबीच छनौट गर्नुपर्दा चामल छान्ने मान्छे अरु कोही नभएर मेरो बुबा हुनुहुन्थ्यो ।म मेरो जीवनमा अर्थशास्त्रको त्यो छोटो व्याख्या, अनि अर्थशास्त्रको त्यो कक्षा कहिल्यै विर्सन सक्दिन ।

                                                                                                                                                     (सामाजिक सञ्जाल फेसबुकबाट)

मङ्गलबार, १० साउन, २०७९

प्रतिक्रिया:

सम्बन्धित खवर