उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाले करारमा कार्यरत कर्मचारीको म्याद थप नगरेपछि आन्दोलनमा उत्रिएका कर्मचारीको कारण सेवा प्रभावित भएको छ ।

करार तथा अस्थायी कर्मचारीहरुको म्याद थप नगरेको विरोधमा पाँच दिनदेखि नगरपालिकाको मूलगेटमा ताला लागेको छ ।

करार र अस्थायी कर्मचारीले आफ्नो म्याद थप गर्नुपर्ने माग गर्दै नगरपालिकाको मूलगेटमा धर्ना दिँदै आएका छन् । नगर प्रमुख बसन्तकुमार बस्नेतले आफ्ना माग नसुनेको र विनाकारण निष्कासन हुन परेकाले पुनःर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिएको करार कर्मचारीका संयोजक कृपाराम चौधरीले बताए ।

साउन १ गतेदेखि नगरपालिकाले ६० अस्थायी, ज्यालादारी र करारका कर्मचारीहरुको म्याद थप नगर्ने निर्णय गरेको थियो । निर्णयका आधारमा करार र अस्थायी कर्मचारीहरु स्वतः निष्कासनमा परेका छन् ।

नगर प्रमुख बस्नेतले आवश्यकताभन्दा धेरै अस्थायी र करारका कर्मचारी पाल्दा नगरपालिकाले ठूलो आर्थिक व्यय खेप्न परेकाले म्याद थप नगरिएको बताएका छन् । आवश्यकताको आधारमा भएको निर्णयबाट कुनैपनि हालतमा पछि नफर्किने उनको भनाइ छ ।

आन्दोलनरत कर्मचारीहरु भने आफूहरु विनाकारण निष्कासनमा परेकाले पुनः बहाली नभएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।