विराटनगर । मोरङको पुरानो सदरमुकाम हो, रंगेली । तर केही वर्षसम्म यो नगरपालिका गुमनामजस्तै थियो । देश संघीयतामा गएसँगै स्थानीय तहको चुनाव भयो । जनप्रतिनिधिहरु छानिए । यो पालिकाको नेतृत्व भने व्यवसायीको रुपमा परिचित दिलिपकुमार अग्रवालले गरे । २०७४ मा भएको स्थानीय तहको निर्वाचनको परिणामले अग्रवाललाई नगर प्रमुखमा निर्वाचित गरायो । २०७९ को निर्वाचनमा पनि उनी नै यस पालिकामा निर्वाचित भए । मोरङका १७ वटा स्थानीय तहमध्ये उनैले मात्रै दोहोरिने अवसर पाए ।
मोरङको पुरानो सदरमुकाम र पुरानो व्यपारिक केन्द्र भएपनि रंगेली विकासमा धेरै पछि थियो । नयाँ संविधान जारी भएसँगै स्थानीय तहको निर्वाचन भएपछि समृद्धिको मार्गमा अघि बढिरहेको देख्न सकिन्छ । पूर्वी नेपालको ऐतिहासिक र सांस्कृतिक नगर रंगेलीको स्वरुप केहि वर्षमै फेरिएको छ । यो नगरपालिकाले आफ्नो भौगोलिक र सामाजिक विशेषतालाई सदुपयोग गर्दै विकासको नयाँ अध्याय सुरु गरेको छ । यो परिवर्तनको प्रमुख नेतृत्वको जिम्मा पनि नगरवासीले जनप्रतिनिधि र कर्मचारीलाई दिने गरेका छन् । यहाँका जनप्रतिनिधि र कर्मचारीको कार्यशैली, स्पष्ट सोच, र योजनाबद्धताले रंगेलीलाई एक सशक्त र समुन्नत नगर बनाउँदै लगेको छ ।
मेयर दिलिप अग्रवालको दोस्रो कार्यकालको तेस्रो वर्ष पनि बितिसकेको छ । यो अवधिमा रंगेलीमा भौतिक पूर्वाधार विकास तीव्र गतिमा अगाडि बढेको छ । सडक, नाली, पुल, भवन, शौचालयदेखि खानेपानीको धारा र सिँचाइका कुलोहरूसम्मको निर्माणले नगरलाई नयाँ स्वरूप दिएको छ । ८० किलोमिटर सडक कालोपत्रे भएको छ । सबै वडा कार्यालयका भवन बनिसकेका छन् भने स्वास्थ्य चौकी तथा आधारभूत स्वास्थ्य केन्द्रहरु सबै वडामा बनेका छन् । १ नम्बर देखि ९ नम्बर सम्मका मुख्य ३८ किलोमिटर सडक कालोपत्रे भएको छ ।
लगभग ९० प्रतिशत भौतिक पूर्वाधारको काम सकिएको नगर प्रमुख अग्रवाल बताउँछन् । प्रत्येक वडामा वडा कार्यालयको स्थापना भइसकेको छ र ती कार्यालयहरूबाट सेवा नियमित रूपमा दिइरहेको उनले बताए ।‘काम रोकिएको, ढिलासुस्ती भएको कम्प्लेन आएको छैन । वडाको सेवा वडा स्तरमै उपलब्ध भएकाले नागरिक सन्तुष्ट छन्’, मेयर अग्रवालले भने । नगरका नागरिकले अब सामान्य कामका लागि नगर कार्यालय धाउनुपर्ने आवश्यकता नरहेको उनले बताए ।
पालिकामा साना ठूला गरी २५ वटा कल्भर्ट निर्माण भएका छन् । मुख्यमन्त्री अतिआवश्यक सेवा केन्द्रसमेत रंगेली ८ मा सञ्चालित छ । रंगेली, सुनवर्षि, कानेपोखरी, धनपालथानलगायतका पालिकाको साझेदारी तथा प्रदेश सरकारको सहलगानीमा सेवा केन्द्र सञ्चालित छ । रंगेली ७ मा कालीमन्दिरमा सामुदायिक बहुउद्देश्य भवनसमेत नगरपालिकाले बनाएको छ । नमुना आवास निर्माणसमेत नगरपालिकाले गरिदिएको छ । जसअन्तर्गत २२ घर निर्माण गरिएको हो । आगलागी पीडितहरुलाई नगरपालिकाले घर बनाइदिएको हो । हुलाकी राजमार्गबाट उत्तर दक्षिण पूर्व पश्चिम गरेर करिब १२ किलोमिटरमा वृक्षारोपण गरिएको छ । यस नगरपालिका ७ नम्बर वडामा सार्वजनिक शौचालय तथा पुस्तकालय समेत बनाएको छ ।
सुशासनमा पनि अगाडि
रंगेली नगरपालिका सुशासनको दृष्टिले पनि उदाहरणीय बन्दै गएको छ । न्यायिक समितिको कार्यक्षमता उत्कृष्ट देखिएको छ । ९९ प्रतिशत मुद्दा मिलाउन सफल भएकी छिन्, उपमेयर भुमा पराजुली । न्यायिक समितिले विवाद समाधानमा मध्यस्थता, मेलमिलाप र कानुनी सल्लाह मार्फत समाजमा न्यायको पहुँच पु¥याएको छ । यसले नागरिकमा स्थानीय सरकारप्रति विश्वास बढाएको छ ।
भ्रष्टाचारबारे मेयर अग्रवालको धारणा स्पष्ट छ । उनी भन्छन्, ‘भ्रष्टाचार भन्नु आफैंमा भर पर्छ । इच्छाशक्ति बलियो भयो भने त्यो रोक्न सकिन्छ ।’ रंगेली नगरपालिका कमिसन र भ्रष्टाचार नहुने सरकारको रुपमा सञ्चालन गरेको उनी बताउँछन् ।
स्वास्थ्य क्षेत्रको मजबुतीकरण
रंगेली नगरपालिकाले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकता दिएको छ । ‘हामी स्वस्थ रह्यौं भने मात्रै अरू काम गर्न सकिन्छ,’ मेयर अग्रवालको भनाइ छ । नगरभित्र रहेको रंगेली नगर अस्पताललाई क्षेत्रीय स्वास्थ्य केन्द्रका रूपमा विकासित भएको छ । हाल यो अस्पताल सुनवर्षी, रतुवामाई, कानेपोखरी, धनपालथान र भारतको सीमावर्ती गाउँका नागरिकहरूका लागिसमेत उपचारको केन्द्र बन्दै गएको छ ।
यहाँको स्वास्थ्य सेवाले धेरै दक्षिण क्षेत्रका धेरै नागरिकलाई सहयोग गरेको छ । यो अस्पतालमा प्रसूति सेवा, डायलसिस, एक्स–रे, प्रयोगशाला सेवालगायत सुविधा थप गर्दै जनताका लागि गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने प्रयास भइरहेको पालिकाले जनाएको छ ।
शिक्षा सुधारतर्फ निरन्तरता
स्वास्थ्य पछि शिक्षा रंगेली नगरपालिकाको दोस्रो प्राथमिकता हो । मेयर अग्रवाल भन्छन्, ‘पहिलेभन्दा शिक्षामा धेरै सुधार गरेका छौं । सबै सुधार गरेको भन्दिन, तर ५० प्रतिशत सुधार त भइसकेको छ ।’ विद्यालयमा अनुशासन कायम गर्न प्रधानाध्यापकहरूलाई कडाइ गरिएको छ । नगरपालिकाले शिक्षकहरूका लागि अभिमुखीकरण तालिम, व्यवस्थापन प्रशिक्षण र अनुगमन प्रणाली कार्यान्वयनमा ल्याएको छ ।
अभिभावकहरूको भूमिका पनि सुधारको मुख्य पक्ष हो । शिक्षक, प्रधानाध्यापक र अभिभावक सबै मिलेर मात्र सुधार सम्भव छ भन्ने सन्देश यो पालिकाले दिएको छ । नियमित रूपमा विद्यालय अनुगमन गर्ने, विद्यार्थीहरूको उपस्थिति जाँच गर्ने र अभिभावक–शिक्षक बैठक गर्ने जस्ता गतिविधि शिक्षा शाखा तथा जनप्रतिनिधिहरु आफैले गर्छन् ।
कृषि क्षेत्रमा आत्मनिर्भरता र व्यावसायिकता
कृषिमा आत्मनिर्भरता र आधुनिकताको यात्रामा रंगेलीले ठूलो फड्को मारेको छ । पहिले धान र गहुँ मात्रै उत्पादन हुने खेती प्रणाली अहिले विविध बालीमा रूपान्तरण भइसकेको छ । पहिला धान र गहुँ बाहेक केही बाली लगाउँदैन थिए यहाँका किसान । तर अहिले मकै, चैते धान, बर्खे धान तीन बाली लगाउने गरेका छन् । अहिले धेरै किसानको खेतबारीमा काम हुने गरेको छ । पहिला सिंचाइको अभावमा धेरै खेतबारी आकाशे भरमा हुने गरेका थिए ।
कृषकहरूलाई सहयोग स्वरूप नगरपालिकाले बोरिङ, कुलो निर्माण, च्यानल गेट जडान लगायत पूर्वाधार निर्माण गरिदिएपछि किसानहरु खुसी भएका छन् । कृषिमा अनुदान मात्र दिएर नपुग्ने यहाँका जनप्रतिनिधिहरु नै बताउँछन् । किसानलाई प्रोत्साहन र प्रशिक्षण दिएर खेतीमा उत्साहित बनाउने रंगेलीको लक्ष्य रहेको छ ।
अहिले १,००० बिघाभन्दा बढीमा धान खेती भइरहेको छ, जुन पहिलाको १५० बिघासँग तुलना गर्दा अभूतपूर्व वृद्धि हो । तोरी खेतीमा पनि गुणस्तरीय उत्पादन भइरहेको छ, जसले बजारमा रंगेलीलाई पहिचान दिएको छ । ७ नम्बर वडामा कृषि थोक बजार निर्माण भएको छ भने ६ सय मेट्रिक टनको कोल्ड स्टोर समेत निर्माण भएको छ । १५ सय बिघाहालाई पुग्ने गरी सिंचाइको व्यवस्था समेत नगरपालिकाले मिलाइदिएको छ । सिंचाइका लागि रंगेली १ मा सिमा बाँध समेत निर्माण गरेको छ ।
खेलकुद र पर्यटन
रंगेली नगरपालिकाले युवा पुस्तालाई सकारात्मक गतिविधिमा संलग्न गराउन खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेको छ । सबै वडामा खेलमैदान छन्, जहाँ नियमित रूपमा फुटबल, भलिबल, कराते, दौड प्रतियोगिताहरू आयोजना हुन्छन् ।
‘अब हामी नगरस्तरीय स्टेडियम बनाउन लागिरहेका छौं’, मेयरले भने, ‘राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता, विद्यालयस्तरीय खेलकुद कार्यक्रमले छात्र–छात्रामा खेलप्रतिको रुचि बढाएको छ ।’
रंगेलीको प्रमुख धार्मिक सम्पदा संसारी माई मन्दिर हो । जसको सांस्कृतिक र ऐतिहासिक महत्व अत्यधिक छ । यहाँ छिमेकी देश भारतबाट समेत पूजाआजा गर्न आउँछन् । यस मन्दिरको पूर्वाधार विकासमा प्रदेश सरकारसँगको सहकार्यमा लगानी भइरहेको छ । पर्यटन प्रबद्र्धनको लागि यो महत्वपूर्ण केन्द्र हो । नगरपालिकाले मन्दिर क्षेत्रलाई व्यवस्थित गर्न नयाँ ढाँचा र विधि निर्माणको खाँचो महसुस गरेको छ । एक विधि बनाएर सञ्चालन गरिनुपर्छ भन्ने निष्कर्षमा नगरपालिका पुगेको छ ।
रंगेलीका कर्मचारीहरु पनि केही गर्नुपर्छ भन्ने हुटहुटी बोकेका छन् । रंगेली नगरलाई सन्तुलित विकासको बाटोमा अघि बढाउन कर्मचारीले पनि जनप्रतिनिधिलाई उत्तिकै साथ दिएका छन् ।
पहिले चलिरहेका योजनाहरू सम्पन्न गर्ने प्राथमिकता नगरपालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले सुनाए । ‘विकास निर्माणसँगै सामाजिक कार्य, स्वास्थ्य, शिक्षा र कृषिमा अझै बल दिएर लाग्छौं’, साहले भने, ‘विकास निर्माणका काम लगभग सकिएका छन् । अब उत्पादनमा जोडिने खालका कार्यक्रमको विकास गर्छौं ।’

योजनाको निरन्तरता, पारदर्शिता, समन्वय र स्थानीय सहभागितामार्फत रंगेलीलाई कोशी प्रदेशकै नमुना नगर बनाउने लक्ष्यमा जनप्रतिनिधिदेखि कर्मचारीसम्मको छ । पहिला पानी पर्ने साथ कार्यालयमा प्रवेश गर्न र निस्कन नै समस्या थियो । तर, अहिले धेरै ठाउँमा सडकहरु कालोपत्रे बनेका छन् । रंगेली नगरपालिकाको प्रमुख प्रशासनिक भवन नै आकर्षक छ । यहाँका कर्मचारीको सक्रियता, जनप्रतिनिधिहरूको प्रतिबद्धता र जनताको सहभागिताले रंगेलीलाई पूर्वी नेपालको नमुना नगरपालिका बनाइरहेको छ ।
