विराटनगर । चालु आर्थिक वर्षबाट सरकारले माछा आयतमा अन्तःशुल्क १० प्रतिशत तोकेपछि तस्करी बढेर गएको छ । यसअघि माछा आयतमा अन्तःशुल्क लाग्ने गरेको थिएन । राज्यले माछा आयतमा अन्तःशुल्क लगाएपछि भारतबाट आयत हुने माछाको चोरी, पैठारी बढेर गएको हो ।
पछिल्लो समय खुल्ला सीमाको फाइदा उठाउँदै तस्करहरूले प्रतिबन्ध लगाएको माछा पनि तस्करी हुने गरेको पाइएको छ । राज्यले प्रतिबन्ध लगाएको मागुर (मुर्गी माछा) मोरङको दक्षिण क्षेत्रबाट व्यापक तस्करी हुने गरेको हो । इलाका प्रहरी कार्यालय रानी विराटनगरले बिहीबार भारतबाट तस्करी भएर आएको १ सय ४० केजी मागुर माछासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विराटनगर १६ उखुबारी स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेको को १० प ६८९७ र बीआर ३८२२७५ नं. को मोटरसाइकलमा भाँडो र ड्रम भित्र राखेको माछा बरामद गरेको मोरङ प्रहरीका डिएसपी राजन कार्कीले जानकारी दिए । बरामद गरेको माछा प्रहरीले खाडल खनेर नष्ट गरेको छ । तस्करीको माछा ल्याउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ६ का ३४ वर्षीय महेश सहनि र सोही ठाउँका ३४ वर्षीय फुलचन सहनिलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जना र सवारी साधनलाई आवश्यक कारवाहीको लागि प्रहरीले विराटनगर भन्सार कार्यालयमा बुझाएको छ ।
पछिल्लो समय विराटनगरको दरैया, दक्षिण गेट, उखुबारी, सुनसरीको हुक्सी, अमरडुवाको नाका प्रयोग गर्दै तस्करीको माछा विराटनगरको बजारमा आउने गरेको छ ।
भारतमा सस्तोमा माछा पाइने र नेपालमा ल्याएर महँगो मूल्यमा बिक्री वितरण हुने गरेकोले तस्करी हुने गरेको माछाको आयत कर्ता एसजीआइ एग्रोका संचालक एहसान शेखले जानकारी दिए । ‘अहिले माछाको तस्करी बढ्नुको मुख्य कारण भनेकै माछामा लगाएको अन्तःशुल्क हो,’ चालु आर्थिक वर्षको साउनदेखि माछामा सरकारले १० प्रतिशत आयत बढाएपछि तस्करी बढेर गएको छ । एक केजी माछा आयत गर्दा ७५ रुपैयाँ खर्च हुने गरेको छ । यो खर्च ढुवानीसहित हुन आउँछ । त्यही भएर अहिले तस्करी हुने गरेको छ ।’ चालु आर्थिक वर्षको साउन ५ गतेसम्म विराटनगर भन्सार कार्यालय हुँदै भारतबाट अहिलेसम्म एक गाडी पनि माछा आयत नभएको भन्सारको अभिलेखमा देखिएको छैन ।
माछा आयत कर्ता शेखका अनुसार भारतमा १ सय २० देखि १ सय ३० रुपैयाँ प्रति केजी पाइन्छ । त्यही माछा यहाँ नेपालमा ल्याएर २ सय ७० देखि ३ सय २० रुपैयाँ होलसेलमा बिक्री हुन्छ ।
खुद्रा साढे ३ सय देखि ४ सयमा बिक्री हुन्छ । प्रतिकेजी १ सय ७० देखि २० सय रुपैयाँसम्म फाइदा हुने भएपछि प्रहरी, प्रशासन मिलाएर तस्करी गर्ने गरेको उनीहरू बताउँछन् । भारतको जोगवनीमा पंकास प्रजातिका माछा प्रतिकेजी १५० रुपैयाँमा पाइन्छ । पंकास माछा विराटनगरमा ३२० रुपैयाँमा बिक्री हुन्छ । यस्तै १६० रुपैयाँ केजी पाइने रहु माछा विराटनगरमा ३ सय २५ देखि ३ सय ५० रुपैयाँसम्म विक्री हुन्छ । यस्तै मागुर माछा भारतमा प्रतिकेजी १२० रुपैयाँमा पाइन्छ । यो माछा विराटनगरमा ल्याएर २ सय ६० रुपैयाँसम्म बिक्री हुने गरेको छ । अहिले सबैभन्दा बढी तस्करी मागुर हुने गरेको छ । यो माछा सरकारले आयतमा प्रतिबन्ध लगाएको छ । प्रतिबन्ध लगाएको माछा बढी तस्करी हुने गरेको छ ।
माछाको तस्करी भारतको जोगवनीका कम्लु नामले परिचित व्यक्ति रहेका छन् । उनीमार्फत नेपालमा निलमले गर्ने गरेको यस क्षेत्रका जानकार स्रोतले जानकारी दिएका छन् । उनीहरूले तस्करीको माछा विराटनगरसहित पूर्वी सहरमा पढाउने गरेकी छिन् ।