वन वातावरणसम्बन्धी पाठ्यसामग्री विद्यालयलाई

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङले विभिन्न चार वटा विद्यालयलाई वन वातावरण सम्बन्धी पाठ्यसामग्री उपलब्ध गराएको छ ।
विद्यालय तहबाटै वन तथा वातावरणसम्बन्धी सचेतना विस्तार गर्नु प्रभावकारी हुने भएकोले सोही उद्देश्य प्राप्त गर्न डिभिजन वन कार्यालयले पाठ्यसामग्री उपलब्ध गराएको हो ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी एवम् सहायक वन अधिकृत ललितकुमार यादवका अनुसार सदरमुकाम फुङ्लिङ नगरपालिकाको भानु जनमाध्यमिक विद्यालयसहितलाई पाठ्यसामग्री र एक–एक वटा फर्निचर सामग्री दराज उपलब्ध गराइएको छ । विद्यालय वातावरण सुधार कार्यक्रमअन्तर्गत उक्त सामग्रीहरू उपलब्ध गराएको सहायक वन अधिकृत यादवले जानकारी दिए । पाठ्यसामग्री तथा दराज पाउनेमा फुङ्लिङ नगरपालिकाकै युवा वर्ष माध्यमिक विद्यालय, सिरिजङ्घा गाउँपालिकाको राष्ट्रिय माध्यामिक विद्यालय र मेरिङ्देन गाउँपालिकाको पृथ्वी माध्यमिक विद्यालय रहेका छन् । सो सामग्रीहरू भने प्रदेश सरकारका पूर्व मन्त्री बलबहादुर साम्सोहाङको उपस्थितिमा सम्बन्धित विद्यालयलाई वितरण गरिएको डिभिजन वन कार्यालयका निमित्त डिभिजन वन अधिकृत बद्री साहले जानकारी दिए ।

डिभिजन वन अधिकृत साहकाअनुसार विद्यार्थीहरूमा वन र वातावरणसम्बन्धी ज्ञान बढाउन, वन तथा वातावरण संरक्षणसम्बन्धी प्रशिक्षित गराउनमा पाठ्यसामग्रीले सहयोग पुग्ने विश्वास राखिएको छ । यस्तै स्थानीय क्षेत्रमा वन तथा वातावरण संरक्षणसम्बन्धी कानुन बनाउने प्रक्रियामा सहजीकरण गर्न र अन्य संरक्षणका अभियानहरू सञ्चालन गर्नमा पाठ्य सामग्री उपयोगी हुने पनि उहाँको भनाइ छ ।वन तथा वातावरण संरक्षण गतिविधिमा पाठ्यलगायत सामग्री वितरणको कार्य ताप्लेजुङका लागि नौलो भएको र यसको प्रभावकारिता मूल्याङ्कन गरेर अन्य विद्यालयमासमेत बिस्तार गर्ने योजना रहेको वन कार्यालयले जनाएको छ ।

वितरण गरिएको पाठ्य सामग्रीमा भने ताप्लेजुङमा पाइने महत्वपूर्ण जडीबुटीको जानकारी, गैह्र काष्ठ वन पैदावारको सम्भाव्यता अध्ययन प्रतिवेदन, मानव–वन्यजन्तु द्वन्द्व तथा क्षतिपूर्ति राहतसम्बन्धी जानकारी पुस्तिका, वन डढेलो नियन्त्रणका उपाय दिने जानकारी पुस्तिकालगायत रहेका छन् ।

मङ्गलबार, ३० जेठ, २०८०, बिहानको ०८:३७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर