मणि दाहाल
परिवर्तनलाई स्थायित्व दिएर घोषित गन्तव्यमा पुग्नको लागि सामाजिक चेतनास्तरको भूमिका महत्वपूर्ण हुन्छ । हामीले जनतालाई राजनीतिक अधिकार दियौं। कार्यान्वयन गर्न सकिएन । तर, आर्थिक अधिकारलाई दस्तावेजीकरणसम्म गरियो । यति भएर पनि सम्वृृद्धिको सपना भने पूरा गर्न सकिएको छैन । अभाव र बेरोजगारी समस्याले क्रमिक उग्ररुप लिई रहेको छ । युवा जनशक्ति पलायनताको समस्याले गाँउ घर नै शून्यताको अवस्थामा छ । अब यसको कारण खोज्नु पर्छ । कारण खोजेर त्यसको निराकरण गर्नुपर्छ । यति नगर्ने हो भने हाम्रासामु अत्यन्तै कठिनतम् मोडहरु आउदै छन् ।
हामी सामन्तवादलाई परास्त गर्न सफल भयौं । तर, सामन्तवादका अवशेषहरु अझै कायम छन् । हामीले कुनै मुलुकको दाश भएर त्यसको उपनिवेशको सामना गर्नु त परेन । तर धार्मीक र सांस्कृतिक उपनिवेशले भने समाज गिजोलिएको छ । खुला सिमानाको कारण जनसांख्यिक उपनिवेशको खतरा पनि त्यतिकै छ । त्यसो भएको हुँदा यतिखेर हाम्रो समाजको चरित्र अर्ध सामन्ती र अर्ध औपनिवेशिक छ ।
समाजको चरित्र अर्धसामन्ती भइसकेपछि उक्त समाजका सदस्यहरुको चेतना स्तर सोही मानसिकताबाट विकशित हुनु स्वभाविक हुन्छ । सामन्ती चेतनाबाट दिक्षित भएकोले समाजको मानसिकता पथभ्रष्ट छ । पथभ्रष्टताले लाभ हेर्छ । बाबुको नजरमा कमाउने छोरा छोरी मायाको पात्र बन्छन् । नकमाउने नालायक ठहरिन्छन् । कथित कुल घरानिया बुहारी सासुकी प्यारी बन्छिन् । तर, सामान्य घरनाकी बुहारीले भने दैनिक शव्दका बाँणको सामना गर्नुपर्छ । जसरी जहाँबाट जे गरेर भएपनि कमाउनेको सामाजिक मान सम्मान अलग्गै हुन्छ । रातारात उनीहरु समाजसेवी बन्छन् । इमानको कमाइमा बाँच्नेहरु समाजमा अपमानित हुन्छन् । पथभ्रष्ट सामाजिक चेतना यसको कारण हो ।
२०४६ सालको प्रजातान्त्रिक आन्दोलनले निर्दलीय पञ्चायतलाई फाल्यो । सामन्तवादको नाइकेको रुपमा रहेको राजतन्त्र संविधानमा बाँधियो । शासनको बागडोर बहुदलवादीहरुको हातमा आयो । बहुदलवादीहरु पनि पञ्चायतकै शैलीमा शासनसत्तामा मात्र रुमलिए । उनीहरुले साँस्कृतिक क्रान्तिको आवश्यकता देखेनन् । अरुले आवश्यक नदेख्नु स्वभाविक थियो । किनकी उनीहरु यथास्थितिको सामाजिक संरचनाभित्र बहुदलीय प्रतिस्पर्धामा रम्न चाहन्थे । तर, आफू लाई साँस्कृतिक क्रान्तिको हिमायति बताउने कम्यूनिष्टहरुले पनि साँस्कृतिक क्रान्तिको आवाश्यक देखेनन् । उनीहरु प्नि आयातित सँस्कृतिको चास्नीमा पौडिन पुगे । समाजमा नैतिकता र इमान भन्ने चिज नै हराउँदै गयो ।
हाम्रो समाज पथभ्रष्टताको जगमा विकसित छ । सभ्यताको खोल ओड्नु यसको मुख्य विशेषता हो । अरुभन्दा सर्वश्रेष्ठ देखाउन हुने नहुने सबै गर्नु यसको दैनिकि हो । नराम्रा चिजको नक्कल गर्नु र धनको रवाफ देखाउनु उसको कूल घरानीयाँ परिभाषा हो । आफु मात्र ठिक र अरु बेठिक देखाउनु उसको प्रवृति हो । निर्धोको बेवास्ता र मजबुतको चाकरी उसको स्वार्थ हो । हामीले समाजको यो चरित्रलाई बदल्न सकेनांै ।
२०४६ को परिवर्तनपछि हाम्रो मौलिक सँस्कृति अतिक्रमित भयो । सनातनी संस्कृति बिलिन हुँदैगयो । मगनी पछि जनैसुपारी र विवाहको स्वयंवर हाम्रो मौलिक संस्कृति हो । तर, यतिखेर यो अतिक्रमित भएर मगनी, टिकाटालो, स्वयंवर, विवाह र सम्धी भेटको जंजालमा फस्न पुग्यो । सामान्य तवरको जन्तेबाख्रो र बहुभोज भड्किलो प्रितीभोजमा परिणत भयो । त्यतिमात्र हैन हनिमुन डे र एनिभर्सरीको होडबाजीले समाज गाँजियो । परिवारका सदस्य एकठाउँमा जम्मा भई घरायसी परिकार खाएर तीन दिन तीज मान्ने हाम्रो मौलिक संस्कृति हो । तर यो पनि महिनौं देखिको लुगा र गहनाको प्रतिस्पर्धा अनि होटेलको ककटेल्स्मा परिणत भयो । समाज झन्झन् भ्रष्टीकरणको आहालमा डुब्दै गयो । डुबिरहेकै छ ।
देशलाई राजनीतिले र राजनीतिलाई निष्ठा, इमान्दारिता र प्रतिबद्धताले निर्देश गर्ने हो । तर हाम्रो राजनीतिले निष्ठा, इमान्दारिता र प्रतिबद्धता सबै गुमायो । राजनीति समाजसेवा बन्न सकेन । राजनीतिज्ञ अनुकरणीय हुन सकेनन् । नेत्ता र जनताबीचको सम्बन्ध दास र मालिकको जस्तो भयो । जसरी मालिक गाउँ सवार हुँदा दासहरु अघिपछि तैनाथ हुन्थे । अहिले पनि त्यस्तै छ । विमानस्थलमा नेताको झोला बोक्न नजाने कार्यकर्ता नेताको नजरमा पर्दैन । नलुट्ने अथवा इमान्दारहरु जनताको जनरमा पर्दैनन् । निर्वाचनमा लुटाहाहरु बिचमै प्रतिस्पर्धा हुन्छ । अपवाद बाहेक नलुट्नेको जमानत जफत हुन्छ । यसको कारण भनेको पथभ्रष्टताको जगमा विकसित हाम्रो मानसिकता हो । यो मानसिकतालाई सांस्कृतिक क्रान्तिमार्फत् बदल्न जरुरी थियो । तर, हुन सकेन ।
हामी समाजवादको चर्का कुरा गर्दै छौं । तर, दलीय शिर्षस्थको परिवारवादी चिन्तनको चरमतामा समाजवाद खोपीको देवता भएको छ । अनि छोरी,ज्वाइ, सम्धी, भाइ, भतिजा मित र प्रेमिकासम्म लुटको स्वर्गमा रमाएर समाजवादको खोल ओडेका छन् । यो कुनै चलचित्रको कथा हैन, हाम्रो राजनीतिक दैनिकि हो । फलस्वरुप समाज झन्झन् रसातालमा भासिदै छ । गर्भमै पथभ्रष्ट मानसिकताले दिक्षित चेतनाले गर्दा चाकरी, चाप्लुसी र चुक्ली हाम्रो पौरख बनेको छ । लुट्नु हाम्रो बाहादुरी भएको छ । यसको कारक भनेको हामी जनता हौं । हामीले साँस्कृतिक क्रान्तिलाई लत्याउँदाको परिणाम हो ।
साँस्कृतिक बिचलनको अर्को कारक बहुलवादी आरक्षण अनि पैसावालाले मात्र जित्ने प्रत्यक्ष निर्वाचन प्रणली हो । उल्लेखित दुबै प्रणाली रहँदासम्म समाजभ्रष्टचारमुक्त हुनै सक्तैन । यो प्रणालीले दास जन्माउँछ । दासले चाकरी बजाउँछ । ताली बजाउँछ । पहुँचवानसँग कुमजोडेर सेल्फी खिच्दै संजालमा पोष्ट गर्छ । वर्थ डे, हनिमुन डे,कण्ठ बनाउँछ । घरघर गएर चाकरी बजाउँछ । बधाई र शुभकामनामा लाम लाग्छ । वर्ण भजाएर सिँढी चड्छ । आदर्शको खिल्ली उडाउँछ । सुपात्रलाई गुमनाम बनाउँछ । कुपात्रको भजन गाउँछ । पथभ्रष्टता दर्शन बन्छ । वर्णको पूजा हुन्छ । वर्गको घृणा गरिन्छ । के यो सबै दासतावादी सामाजिक चेतनाको कारणले हैन र ? हामी नेतालाई मात्र गाली गरेर उम्कन पाउँछौ ? जनताको बिचबाटै नेता जन्मने हैन र ? गलत नेता, भ्रष्ट प्रशासक र लुटाहा न्यायाधीशलाई किन तह लाउन सकेनौं ? भ्रष्ट, तस्कर, डन र माफियालाई गाउँ बहिष्कार गर्न किन सकेनौं ?सोचौं त ।