विराटनगर । मोरङ जहदा गाउँपालिका– २ मझेरामा जन्तीमाथि सामूहिक आक्रमण भएको छ । आक्रमण परी बेहुला पक्षका तीन जना जन्ती घाइते भएका छन् ।

घाइते हुनेहरूमा जन्ती आएका मोरङ सुनबर्षी नगरपालिका ९ डाईनिया का २३ वर्षीय  मिथिलेश झा, सोही ठाउँका २४  वर्षीय रोहित सिंह गनगाई मण्डल र २४  वर्षीय प्रकाश साह रहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

उनीहरू सुनवर्षी नगरपालिकाबाट बेहुली लिएर मङ्गलवार बिहान ३ बजे घर जाने क्रममा जहदा गाउँपालिका २  बुदन गनगाई मण्डलको घरमा आक्रमण भएको थियो । उनीहरू डाईनियाबाट जन्ती आएर बेहुली लिएर जाने क्रममा जहदा २ स्थित मझेरामा स्थानीय  २३ वर्षीय विकास मण्डल गनगाई, ४०  वर्षीय श्याम यादव, २० वर्षीय धिरज मण्डल गनगाई, २२ वर्षीय दीपक पासवान, २२ वर्षीय विश्वहित मण्डल गनगाई, २० वर्षीय  दिपेन मण्डल गनगाई समेतको समूहले एक्कासि जन्तीमाथि आक्रमण गर्दा जन्ती पक्षका तीन जना घाइते भएका प्रहरीले जनाएको छ । घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार पश्चात् डिस्चार्ज भएका छन् ।

कुटपिट गरेपछि जन्ती पक्षका को १८प ७५४१ नं। को १ थान मोटरसाइकल पनि जलाइदिएको प्रहरीले जनाएको छ । प्रहरीले जन्तीमाथि कुटपिट गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । मोरङ जहदा गाउँपालिका वडा नं।–२ का २३ वर्षीय  विकास मण्डल गनगाई र मोरङ कटहरी गाउँपालिका वडा नं।–२ कदम गाछीका ४० वर्षीय  श्याम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

‘घटनामा संलग्न दुई जनालाई पक्राउ गरिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘अरू फरार छन् । उनीहरूको पनि खोजी कार्य भइरहेको छ ।’