लोड हुँदैछ...

मेनु

भूमिहीन सुकुम्बासीलाई असन्तुष्ट नबनाउ

भूमिहीन सुकुम्बासीलाई असन्तुष्ट नबनाउ

पाँच वर्ष अघि स्थानीय तहको चुनावमा मतदातासँग भोट माग्दा प्रायः सबै राजनीतिक दलले सुकुम्बासी समस्याको समाधान गर्ने विषयलाई करिव साझा मुद्दा बनाएका थिए । हुन त चुनावका दौरान नेताहरुले खर (फुस)को छानो हटाउने, रोजगारी सिर्जना गर्ने र विकासमा कायाकल्प ल्याउने जस्ता थुप्रै आश्वासन बाँडेका थिए । स्थानीय तहका जनप्रतिनिधिहरुले यो पाँच वर्षे अवधिमा के कति काम गरे वा परिवर्तन ल्याए त्यो पक्कै पनि स्थानीय जनताले नजिकबाट हेरेकै छन् । उनीहरुले गरेका राम्रा नराम्रा सबै कामको समिक्षा गरेर जनताहरु बसेका छन् र आगामी चुनावमा त्यसको जवाफ कसरी दिने भन्ने तयारीमा पनि छन् ।

प्रदेश १ को एकमात्र महानगरपालिका विराटनगरमा बसोबास गर्ने भूमिहीन सुकुम्बासी स्थानीय तहको कामबाट सन्तुष्ट छैनन् । चुनावपछि स्थानीय सरकारले भूमिहीनहरुको उचित व्यवस्था गर्ला, जग्गाको प्रवन्ध गरिदेला र सुकुम्बासीका लागि व्यवस्थित बसोबास मिलाइदेला भन्ने आशा उनीहरुले गरेका थिए । तर उनीहरुको आशा विपरित अव्यवस्थित बसोबासी र भूमिहीनहरुको जग्गाको समस्या समाधान गर्न विवरण संकलन गर्ने, नापजाँच गर्ने काम अन्यत्र सुरु भइसक्दा पनि विराटनगरले थाहा नपाए जसरी बसेपछि स्थानीय जनप्रतिनिधिप्रति भूमिहीन सुकुम्बासीहरुमा तीब्र असन्तुष्टि बढेको पाइन्छ ।

भूमि समस्या समाधानका लागि रसाष्ट्रिय भूमि आयोगले झण्डै १८ महिना काम गर्दा देशभरका अधिकांश स्थानीय तहहरुले सुकुम्बासी, भूमिहीन र अव्यवस्थित बसोबासीको विवरण संकलन गरे । त्यसको सूचिकरण गरे, कतिपय ठाउँमा जग्गाको नापजाँच गरेर लालपूर्जा वितरण गर्न तयारी अवस्थामा पु¥याइसकेका छन् । तर, विराटनगर महानगरपालिकाले त्यति धेरै समय गुजारेर बस्यो । महानगरले नगर क्षेत्रभित्रका भूमिहीन र अव्यवस्थित बसोबासीहरुको बारेमा सोच्नसम्म सोचेन । त्यो मुद्दाप्रति थोरैपनि गम्भीरता देखाएन । यसले भूमिहीन सुकुम्बासीहरुको मन भाँचिनु र निराश हुनु स्वभाविक हो ।

हुन त विराटनगर महानगरपालिका विपन्न समुदायमैत्री कहिल्यै बनेन । २०७४ सालमा निर्वाचित भएलगतै यस क्षेत्रमा ठूलो बाढी गयो । ८ हजार घन्दा बढी घरधुरी बाढीबाट प्रभावित बने । ठूलो धनमाल नोक्सानी भयो । तत्काल उद्धार गर्ने बाहेक राहत वितरणदेखिनै उनीहरुले स्थानीय सरकारको उचित सहयोग पाएनन् । राहत वितरणमा पनि भेदभाव भोगे । बाढीबाट क्षति पुगेका परिवारका लागि संघीय सरकारले करिव १३ करोड रुपैयाँ राहत रकम पठाएको थियो । तर, त्यो रकम पीडितहरुलाई वितरण गरिएन । सबैलाई रकम अपुग हुने भयो भन्ने बहानामा रकम फिर्ता पठाइयो । त्यसको सबैभन्दा ठूलो मार विपन्न, भूमिहीन, गरिब र दलितहरुले नै व्यहोर्नु प¥यो । महानगरले संघीय सरकारबाट आएको १३ करोडमा अरु १३ करोड थपेर राहत वितरण गर्न सक्थ्यो । तर, त्यस तर्फ ध्यान दिनुको साटो आएको रकम नै फिर्ता गरिदिए । यसले गर्दा पनि जनमानसमा महानगरको वर्तमान नेतृत्वप्रतिको एउटा दृष्टिकोण विकास भएको पाइन्छ ।

संघीय सरकारले देशको ठूलो समस्या समाधान गर्ने उद्देश्यसहित अगाडि सारेको योजना सफल बनाउने जिम्मेवारी स्थानीय सरकारको पनि हुनुपर्छ । त्यसको जस अन्ततः स्थानीय जनप्रतिनिधि, त्यसको नेतृत्व गरिरहेको दलले नै पाउने हुन्थ्यो । अन्यत्र अलमलिँदा महानगरको नेतृत्वले एउटा ठूलो अवसर यस पटक गुमाएको छ । अब स्थानीय तहको चुनाव आउनै लागेको छ । फेरिपनि नेतृत्वमा जान चाहनेहरुका लागि अब करिव ३५ दिन मात्र पदमा रहने समय बाँकी छ । तर, चुनावमा व्यक्त गरेको प्रतिवद्धता पुरा गर्ने, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीप्रति जिम्मेवार थियौं भनेर पुष्टि गर्ने समय भने घर्किसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।