विराटनगर । प्रदेश १ मा ५६ जना प्रत्यक्ष निर्वाचित सांसदहरुमध्ये ३४ जनाले स्नातक तह भन्दा माथिको प्रमाणपत्र लिएका छन् । यसको अर्थ बहुमत सदस्यहरु शिक्षित छन् । राजनीतिमा पढेलेखेका मानिसको प्रवेश नभएको चर्चा भइरहँदा निर्वाचित प्रदेश सांसदहरु भने धेरै पढेलेखेकै परेका छन् ।
जसमध्ये एसएलसी सकेका ७ जना, ११ जनाले प्रविणता प्रमाणपत्र तह सकेका छन् । अन्य ४ जना भने अन्डर एसएलसी अर्थात् साधारण लेखपढ गर्न जान्नेहरु छन् । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरण अनुसार एसएलसीसम्मको अध्ययन नसकाउनेहरुमा सुनसरी २ (२) बाट निर्वाचित एमालेका रामप्रसाद महतोले आफ्नो शैक्षिक योग्यता अन्डर एसएलसी लेखेका छन् । यस्तै एमालेबाटै निर्वाचित सुनसरी ३ (२) का रामदेव यादवको शैक्षिक योग्यता पनि अन्डर एसएलसी नै हो । यस्तै नेपाली काँग्रसका नेता तथा इलाम २ (१)बाट निर्वाचित गोविन्द गिरीको शैक्षिक योग्यता पनि सामान्य छ । निर्वाचन आयोगले प्रविष्ट गरेको विवरणमा उनको शैक्षिक योग्यता ‘एजुकेसन एन÷ए’ उल्लेख छ ।
यस्तै स्नातकोत्तर सक्ने प्रदेश सांसदहरुमा झापा ३ (२) बाट निर्वाचित छविलाल चुँडाल, झापा ४ (१) बाट निर्वाचित राधाकृष्ण खनाल, झापा ५ (१) बाट निर्वाचित हिक्मतकुमार कार्की, संखुवासभा २ बाट निर्वाचित विदुरकुमार लिङ्थेप, भोजपुर १ बाट निर्वाचित वर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राई, धनकुटा २ बाट निर्वाचित इन्द्रमणि पराजुली, मोरङ ४ (२) बाट निर्वाचित भीम पराजुली, मोरङ ६ (१) बाट निर्वाचित जीवन आचार्य, मोरङ ६ (२) बाट निर्वाचित केदार कार्की, सुनसरी १ (२) बाट निर्वाचित विजय राई, खोटाङ २ बाट निर्वाचित भुपेन्द्र राई र उदयपुर २ (२) बाट निर्वाचित रामकुमार खत्री रहेका छन् ।