विराटनगर । नेपाल राष्ट्रिय कर्मचारी संगठनले एक महिनाभित्र प्रदेश १ का सबै जिल्ला र पालिकाहरुमा भेला गरी संगठन निर्माण गर्ने भएको छ ।

विराटनगरमा प्रदेश १ का अगुवा संगठकहरुको भेलाले संगठनलाई पालिका तहमा विस्तार गर्ने निर्णय गरेको हो । चैत्र मसान्तसम्म घटक संगठनहरुको भेला सम्पन्न गरी आगामी वैशाखमा संगठनको प्रदेश सम्मेलन सम्पन्न गर्ने तयारीसहित बैठकले संगठन निर्माणलाई तीब्रता दिने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै मन्त्री आङ्बोले जनताप्रति प्रतिवद्ध र इमान्दार कर्मचारीहरुलाई संगठित गर्दा मात्र जनताको पक्षमा काम गर्न सकिने बताए । उनले सबै कर्मचारीहरुको आशा र भरोसाको संगठनको रुपमा अघि बढाउन सबै इमान्दार भएर लाग्न आग्रह गरे ।

भेलामा उपस्थित जिल्लाका प्रतिनिधिहरुले राष्ट्रिय कर्मचारी संगठनप्रति विश्वास बढ्दै गएको र अन्य संघसंगठनहरुको कार्यशैलीबाट धेरै कर्मचारीहरुको विश्वास टुट्दै गएकोले तल्लो तहसम्म संगठन निर्माण गर्ने कार्ययोजना बनाउनु पर्ने सुझाव दिएका थिए ।

कर्मचारीहरुको पेशागत हकहीत रक्षाका लागि सरकारको सहयोग रहने भन्दै जनताको सेवामा समर्पित हुने संस्कार विकास गर्न कर्मचारीहरुलाई आग्रह गरे । उनले जनताको सेवा गर्ने कर्मचारीहरुले कुनै स्वार्थ राख्न नहुने भन्दै जनसेवालाई नै मुख्य स्वार्थ बनाएर काम गर्न आग्रह गरे ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन प्रदेश संयोजक नरमाया भट्टराईको अध्यक्षतामा भएको भेलामा नेकपा माओवादी केन्द्रका प्रदेश उपाध्यक्ष देवान राई, सचिव गणेश उप्रेती लगायतको उपस्थिति थियो । महासंघका केन्द्रीय सचिवालय सदस्य रेवति ढुंगानाको सञ्चालनमा भएको कार्यक्रममा रुद्रप्रसाद सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।