ममता मृदुल
नेपाली भाषा साहित्यमा मुक्तक लोकप्रिय विधाको रूपमा स्थापित भैसकेको छ । पोखरा, मुक्तक र तीर्थराज अधिकारी नसुन्ने साहित्य प्रेमी कमै भेटिन्छ होला । मैले तीर्थराज अधिकारीसरलाई प्रत्यक्ष भेट्न सकेकी छैन । विविध कारणले गर्दा हुनुपर्छ । पोखरामा मुक्तकमणिको उपाधि पाउनु भएका मुक्तककारको जूनका टुक्राहरू मुक्तक सङ्ग्रह लघुकथाकार कल्याण पन्तसरको हातबाट पाएकी थिए । वहाँ हाल अमेरिकामा बस्नु हुन्छ । जूनका टुक्राहरू मुक्तक सङ्ग्रह हातमा आएपछि मैले पढदा यी अनमोल कुरा पाएँ । आवरण यादवचन्द्र भुर्तेलले आकाश, जून परी र पृथ्वी समेटनु भएकोले छ । सुन्दर आवरण रहेको छ ।
लेखक तीर्थराज अधिकारी र अनुवादक भोजराज न्यौपाने हुनुहुन्छ । अग्रेंजी भाषा र नेपाली भाषामा लेखिएको छ । वि सं २०७७सालमा प्रकाशित भएको छ । प्रकाशक नेपाल मुक्तक प्रतिष्ठान रहेको छ । प्रकाशकीयमा रामकाजी कोने भन्नु हुन्छ ।मुक्तककारले मानव जीवनका दुःखसुख ऊहापोह एवं राष्ट्रिय,अन्तर्राष्ट्रिय सन्दर्भलाई काव्य चेतसहित कलात्मक र व्यंग्यात्मक मुक्तकहरू पस्कनु भएको पाइन्छ । यसको अर्को पट्टी अग्रेंजीमा लेखिएको छ ।
तीर्थराज अधिकारीको अविराम सिर्जना यात्रामा फक्रेको गुरास दामोदर पुडासैनी ’किसोर’ भन्नु हुन्छ । मुक्तकहरूमा हुरीबतास आगो बनेर ब्युतिएको पाएँ । मुक्तकहरू यसरी सुरु भएका छन् ।
पहिलो मुक्तकले नै जूनलाई छोएको छ ।
कतै छलिएर अप्सरा नै यो धरतीमा पसेझै लाग्छ
तिमी नै सुटुक्क मेरो छेऊमै आएर बसेझै लाग्छ
अँधेरी रातमा झिलमिल जूनकिरी चम्किएको देख्दा
पूर्णिमा पछिको जूनका टुक्रा यतै खसेझै लाग्छ ।
पेज दुईबाट सुरु भएको छ । एक सय चौवन्न पेज रहेको छ । दुवै भाषामा रहेको छ । पेज नं ४६ मा
सङ्कटको बेलामा साथ र सहयोग दिने साथीको
कहिले पनि नराम्रो नगर्ने सल्लाह दिइएको छ ।
अर्ति उपदेश दिने सही गलत के हो ?
जस्ता धेरै कुरालाई समेटने गरी
लेखिएको मुक्तक पनि रहेको छ ।
सङ्कटमा जो छ उही मित्र हुन्छ
हरदम उ आफ्नै दिलभित्र हुन्छ
निन्दा उसैको किन गर्नु त्यहाँ
परनिन्दा सुन्दैमा अपवित्र हुन्छ ।
प्रकृतिको बारेमा मनका सङ्का यसरी व्यक्त गरिएको छ । पेज नं ९४मा लेखिएको छ ।
प्रकृतिले स्वयम् पूजा गर्छ कि गर्दैन
विकृतिले जन्माएको तृष्णा मर्छ कि मर्दैन
यस्तै चिन्तनमा रहन्छु म, अचेल
यस लोकमा शान्तिको बिरुवा सर्छ कि सर्दैन ?
जस्ले जस्तो कर्म गर्छ उस्तै फल पाउछ भन्ने भावको यो मुक्तक पेज १५४मा पढ्न सकिन्छ ।
तोरी पेल्नेले शरीरमा चिल्लो लाउँछ
भगवान् को मन्दिरमा प्रसाद पाउँछ
कर्म अनुसार फल नै भोग्छ मान्छे
फूल बेच्नेको हातमा बास्ना आउँछ ।
मुक्तकमणि तीर्थराज अधिकारीसरको मुक्तक सङ्ग्रह मैले पढेर केही कुरा लेखे । म मुक्तककार तीर्थराज अधिकारीसरको यो पुस्तक पढ़ने क्रममा खुसी भएकी छु । समाजका वास्तविकतालाई छर्लङ्ग पार्ने क्रममा यस्ता धेरै कुरा लेखिएका छन् जस्ले हाम्रो अन्तर्मनलाई झकझक्याएको छ । सत्यको नजिक पुगेपछिको अनुभूति समेटने कोसिस गरिएको छ । मुक्तकमणिको तीर्थराज अधिकारीको सुखद साहित्य यात्राको कामना गर्दै विदा चाहन्छु ।