सेवा प्रवाह र सुशासनतर्फ ग्रामथानको पाइला

२०८१ मंसिर १९ गते सपथ ग्रहण गरेसँगै ग्रामथान गाउँपालिकाका अध्यक्ष नारायण माझीले प्रशासनिक र सेवा प्रवाहमा सुधार ल्याउन पहल थालेका छन् । सपथपछिको पहिलो निर्णयमै उनले ग्रामथानदेखि विराटनगरसम्म बिरामी लैजान निःशुल्क एम्बुलेन्स सेवा सुरु गरेर जनताको स्वास्थ्यमा पहुँच सुनिश्चित गरेका छन् । आकस्मिक अवस्थामा अस्पतालसम्म पुग्ने यात्रामा गाउँपालिकाले गरेको यो सहजीकरणले विशेषगरी विपन्न परिवारलाई ठूलो राहत दिएको छ ।

शैक्षिक सुधारका नवीन प्रयास

गत वर्षको एसईई परिणाम निराशाजनक रहेको पृष्ठभूमिमा माझी अध्यक्षले शैक्षिक क्षेत्रमा ठोस सुधारका कार्यक्रमहरू अघि बढाएका छन् । यस वर्षका विद्यार्थीहरूलाई लक्षित गरी निःशुल्क कोचिङको व्यवस्था मिलाइएको छ । २ महिनासम्म विद्यार्थीलाई कोचिङ पढाइएको थियो । शैक्षिक सुधारका लागि अझ व्यापक योजना तयार पारिने अध्यक्ष माझीले बताए ।
एसईई परीक्षामा राम्रो नतिजा ल्याउने उद्देश्यले सञ्चालित यस कार्यक्रमले विद्यार्थीहरूमा नयाँ उत्साह थपेको छ । आगामी वर्षका लागि पनि छुट्टै विशेष व्यवस्थापन गर्ने तयारी भइरहेको छ । यसबाट ग्रामथान गाउँपालिकाको शैक्षिक गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ । स्थानीय पाठ्यक्रम अनुसार यहाँ माझी भाषाको पाठ्यक्रम तयार गरिएको छ । अब चाँडै माझी भाषाको पठनपाठन सुरु हुने शिक्षा शाखाले जनाएको छ ।

जनस्वास्थ्य शिक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन

स्वास्थ्य संस्थाहरूमा कर्मचारीहरूको समय व्यर्थमा खेर गइरहेको अवस्थालाई सुधार गर्दै गाउँपालिकाले स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । पहिले मोबाइल चलाएर वा घाम तापेर समय बिताउने ८–९ जना स्टाफहरूलाई अहिले गाउँघर तथा विद्यालयहरूमा पठाएर जनस्वास्थ्य शिक्षा प्रवद्र्धन गर्ने जिम्मेवारी दिइएको छ ।यसले एकातिर स्वास्थ्यकर्मीहरूको समयको सदुपयोग भएको छ भने अर्कोतिर समुदायमा स्वास्थ्य सम्बन्धी जागरूकता बढेको छ । पहिले अनुत्पादक रहेका स्वास्थ्यकर्मीहरू अहिले समुदायस्तरमा सक्रिय भएर काम गर्दा जनतामा सकारात्मक सन्देश गएको छ ।

विकास योजनाहरूको प्रभावकारी कार्यान्वयन

विगतमा सशर्त अनुदानबाट प्राप्त रकम समयमा खर्च नभएर फिर्ता जाने समस्या थियो । गत वर्ष मात्रै यही कारणले ९ करोड रुपैयाँ फिर्ता भएको थियो । यो समस्यालाई समाधान गर्न अध्यक्ष माझीले माघदेखि नै टेन्डर आह्वान गर्ने प्रक्रिया सुरु गरेका छन् ।
यसरी अगाडि बढाइएका कतिपय योजनाहरू चैत्र मसान्तसम्ममा सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरू वैशाख मसान्तभित्र सक्ने लक्ष्य राखिएको छ । निर्माण व्यवसायीहरूलाई समयमै पेश्की उपलब्ध गराउने र काम सकिनासाथ भुक्तानी दिने नयाँ प्रणालीले योजना कार्यान्वयनमा गति ल्याएको छ । यसले निर्माण व्यवसायीहरू पनि खुसी बनेका छन् ।

मितव्ययिता र आर्थिक अनुशासनमा जोड

गाउँपालिकामा माझी अध्यक्षको आगमनसँगै मितव्ययिता र आर्थिक अनुशासनमा जोड दिइएको छ । अध्यक्ष स्वयंले सरकारी गाडीको मोह त्यागेर मोटरसाइकलमा यात्रा गर्ने गरेका छन् । पछिल्लो समयमा उपाध्यक्ष गुणावती चौधरी माझी तथा वडा अध्यक्षहरूले पनि सरकारी सवारी साधन प्रयोग गर्दैनन् । यसले पेट्रोलियम पदार्थको खपतमा उल्लेखनीय कमी आएको छ ।
पालिकाले इन्धनका लागि छुट्याइएको २० लाख रुपैयाँ ६ महिनामै सकिएको थियो । पालिकाको आन्तरिक आम्दानी अपेक्षाकृत हुन नसकेको बेला मिव्ययिताको लागि यस्तो निर्णय गरेको अध्यक्ष माझी बताउँछन् । कार्यपालिका सदस्यहरूलाई मासिक १५ लिटर इन्धन दिने प्रावधान पनि रोकिएको छ । यसबाट गाउँपालिकाको सीमित स्रोतको समुचित सदुपयोग हुन थालेको छ ।

प्रशासनिक सुधार र मानव संशाधन व्यवस्थापन

गाउँपालिकामा आवश्यकताभन्दा बढी कर्मचारी राख्ने र दरबन्दी नभएका स्थानमा समेत कर्मचारी थप्ने परिपाटीलाई अन्त्य गरिएको छ । डोर हाजिरीमा काम गर्ने ६ जना कर्मचारीलाई हटाइएको छ । स्वास्थ्य संस्थाहरूमा दरबन्दीभन्दा बढी राखिएका कर्मचारीहरूको व्यवस्थापन गरिएको छ ।

गाउँपालिका अध्यक्ष र उपाध्यक्षको गाडी कुदाउने ड्राइभरलाई भने फोहोरमैला संकलन गर्ने ट्याक्टर र एम्बुलेन्सका ड्राइभर बनाइएको छ । ट्याक्टर र एम्बुलेन्सका ड्राइभर भने डोर हाजिरीमा तलब भत्ता दिने गरिन्थ्यो । करारका कर्मचारीलाई एम्बुलेन्स र ट्याक्टर दुवैको जिम्मेवारी दिएर मानव संशाधनको बढी प्रभावकारी उपयोग गरिएको छ । यसले एकातिर गाउँपालिकाको खर्च घटेको छ भने अर्कोतिर कर्मचारीहरूको उत्पादकत्व बढेको छ ।

आर्थिक चुनौतीहरू र समाधानका प्रयास

गाउँपालिकाले चालू आर्थिक वर्षमा आन्तरिक स्रोतबाट १ करोड ६० लाख रुपैयाँ संकलन गर्ने अनुमान गरेकोमा हालसम्म ८० लाख मात्र संकलन भएको छ । खोला उत्खननबाट हुने आम्दानी पनि रोकिएकोले अपेक्षित राजस्व संकलनमा कठिनाई आएको छ ।
यस्तो चुनौतीपूर्ण आर्थिक परिस्थितिमा पनि अध्यक्ष माझीको नेतृत्वमा सेवा प्रवाहलाई प्रभावित हुन दिइएको छैन । बरु खर्चमा मितव्ययिता अपनाएर आर्थिक अनुशासन कायम राख्ने प्रयास भइरहेको छ ।

कृषि विकासमा विशेष पहल

गाउँपालिकाको ८० प्रतिशत जनता कृषिमा आधारित भएकाले कृषि क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष माझीले यी जनतालाई उत्पादनसँग जोड्न विशेष पहल गरेका छन् । अध्यक्ष माझीको हालै सम्पन्न चीन भ्रमणमा भएको समझदारी अनुसार चिनियाँ प्राविधिक टोली ग्रामथान आउने तयारी भइरहेको उनले बताए ।

पश्चिमतिरका स्थानीय तहमा जडीबुटी खेती र ग्रामथानमा कृषि आधुनिकीकरणमा लगानी बढाउने योजना अनुसार चिनियाँ प्राविधिक टोली आउन लागेको उनले बताए ।‘जबसम्म जनतालाई उत्पादनसँग जोड्न सकिँदैन,’ उनले भने, ‘ग्रामथानको मात्र होइन, अन्यत्रको पनि विकास हुँदैन ।’ उनको दृष्टिकोण अनुसार सडक र भवन निर्माणले मात्र दिगो विकास सम्भव छैन ।

पूर्वाधार विकास र समग्र सुधारका प्रयास

गाउँपालिकामा हाल नगर अस्पताल निर्माणाधीन अवस्थामा रहेको छ । यसले स्थानीय स्तरमा गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नेछ । सामुदायिक विद्यालयहरूको अवस्था सुधार गर्ने योजना पनि अघि बढाइएको छ । कमजोर अवस्थामा रहेका विद्यालयहरूको सम्पत्ति मूल्याङ्कन गरी थप लगानी गर्ने तयारी छ ।अनुगमन प्रणालीलाई प्रभावकारी र सहज बनाइएको छ । विगतमा झन्झटिलो रहेको अनुगमन प्रक्रियालाई सरलीकृत गरिएको छ । योजनाहरूको कार्यान्वयन ढिलो भएमा ठेक्का रद्द गर्नेसम्मको कडा कदम चाल्ने अध्यक्ष माझी बताउँछन् ।

सांस्कृतिक सम्पदा संरक्षण र समावेशी विकास

ग्रामथान गाउँपालिकामा बसोबास गर्ने माझी समुदायको संस्कृति र परम्पराको संरक्षणमा विशेष ध्यान दिइएको छ । यस क्षेत्रको सांस्कृतिक सम्पदालाई संरक्षण गर्ने प्रयास भइरहेको छ । साथै, गाउँपालिकामा बसोबास गर्ने सबै जातजाति र धर्मावलम्बीहरूलाई समेट्ने गरी समावेशी विकासको अवधारणा अघि सारिएको छ । यसले सामाजिक सद्भाव र एकता प्रवद्र्धन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

परिवर्तनको सकारात्मक प्रभाव

मात्र केही महिनाको कार्यकालमा ग्रामथान गाउँपालिकामा आएको परिवर्तनले यहाँको विकासको गतिलाई नयाँ ऊर्जा प्रदान गरेको छ । अध्यक्ष नारायण माझीले आर्थिक अनुशासन, मितव्ययिता, पारदर्शिता र जवाफदेहिताका सिद्धान्तहरूमा आधारित शासकीय शैली अपनाएका छन् ।जनसहभागितामा आधारित विकास, कृषिमा आधुनिकीकरण, शिक्षा र स्वास्थ्यमा गुणस्तरीय सेवा, र माझी संस्कृतिको संरक्षण जस्ता प्राथमिकताहरूले ग्रामथान गाउँपालिकालाई आत्मनिर्भर र समृद्ध बनाउने आधार तयार गरेको छ ।

नमुना स्थानीय तहको रूपमा ग्रामथान

माझी अध्यक्षको नेतृत्वमा सुरु भएको यो परिवर्तनको यात्राले ग्रामथान गाउँपालिकालाई वास्तवमै नमुना स्थानीय तहका रूपमा स्थापित गर्न सक्ने आशा जगाएको छ । स्थानीय सरकारको सुशासन र सेवा प्रवाहमा देखिएको यो सकारात्मक परिवर्तन अन्य स्थानीय तहहरूका लागि पनि अनुकरणीय उदाहरण बन्न सक्ने देखिन्छ ।

न्यायिक समितिमा उल्लेखनीय काम

स्थानीय तहमा उपप्रमुखको नेतृत्वमा न्यायिक समिति बनाइएको हुन्छ । न्यायिक समिति स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अन्तर्गत गठन गरिएको एक स्थानीय विवाद समाधान गर्ने निकाय हो । यसले स्थानीय स्तरमा उत्पन्न हुने साना तथा दैनिक जीवनसँग सम्बन्धित विवादहरू समाधान गर्ने कार्य गर्दछ । छलफलको माध्यमबाट नै समस्या समाधान गर्ने गरेको उपप्रमुख समेत रहेकी न्यायिक समितिकी गुणवती देवि थारुले बताइन् । ‘धेरै सिमाना विवादका मुद्दाहरू आउँछन्,’ उनले भनिन् ।
अनुगमन र गुणस्तर नियन्त्रण

न्यायिक समितिले उल्लेखनीय काम गरेको उपप्रमुख थारुले बताइन् । यस्तै विकास निर्माणको कामको अनुगमनलाई कडाइ गर्ने गरिएको बताइन् । अनुगमन समितिको संयोजक पनि उपप्रमुख नै हुने व्यवस्था रहेको छ । ‘गुणस्तरीय काममा हाम्रो ध्यान जान्छ । ठेकेदारले राम्रो काम गरेका छन् भने दुःख नै पाउँदैनन् । गुणस्तरीय काम भएन भने अनुहार हेरेर भुक्तानी दिँदैनौँ,’ उनले भनिन् ।

आइतबार, २१ बैशाख, २०८२, दिउँसोको ०३:४४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर