विराटनगर । पछिल्लो पाँच वर्षमा आफ्नो स्थानीय सरकारले गरेका कामसँग सर्वसाधारण कति सन्तुष्ट होलान् ? बहुसंख्यक सर्वसाधारणले दिने यसको जवाफ नकारात्मक नै हुन्छ ।
जनअपेक्षा उच्च भएका ठाउँमा स्थानीय सरकार प्रभावी हुन नसकेको गुनासो जताततै छ । तर, इलामको सूर्योदय नगरपालिकामा अवस्था फरक छ ।
कृषि क्षेत्रमा गरेको कामबारे नगरप्रमुख रणबहादुर राई आत्मविश्वासपूर्वक भन्छन् ‘नगरको जुनसुकै वडाको जुनै टोलमा गएर जो कोही किसानलाई भेट्नुस् , नगरले हाम्रा लागि केही गरेको छैन भनेछन् भने जे भन्नुहुन्छ, म त्यही सजाय भोगौंला । भने जति गर्न सकिएको छैन होला सकेसम्म गर्ने प्रयास गरिएको छ ।’
नभन्दै नगरका विभिन्न वडाका २० जनाभन्दा बढी किसानलाई हामीले एउटै प्रश्न गर्यौं ‘खेतीपाती गर्न, पशुपालन गर्न नगरपालिकाले केही सहयोग गरेको छ कि छैन ?’ प्रत्येक किसानले ‘केही न केही त गरेकै छ’ भन्ने उत्तर दिए । कसैले गाई किन्न अनुदान पाएको कुृरा सुनाए । कसैले बंगुरपालनमा सहयोग पाएको बताए । केहीले आलुदेखि अन्य बीऊविजन नगरले निशुल्क दिएको जानकारी दिए । अरु केहीले तरकारी खेती गर्न तालिम र प्राविधिक सहयोग पाएको श्रेय नगरलाई नै दिए ।
सूर्योदय–९ गैरीगाउँका दिनेश प्रधान एकजना त्यस्तै किसान हुन्, जो नगर र जनप्रतिनिधिप्रति कृतज्ञ छन् । उनी दुबईबाट फर्केको दुई वर्ष जति भइसकेको थियो । विदेशबाट फर्केर उनी गाई पाल्न थालेका थिए । दुई वटा गाई र केही बाछीहरु राखेर गोठ बनाउँदै थिए । त्यहीबेला उनले एउटा सूचना सुने ।
सूचना अनुसार नगरपालिकाले किसानलाई गाई किन्न ८० प्रतिशत अनुदान उपलब्ध गराउनेछ भनिएको थियो । त्यसका लागि मापदण्ड पनि तोकिएको थियो । अपांगता भएकाहरुको परिवार, एकल महिला, विपन्न नागरिक, दीर्घरोगी भएका परिवार र वैदेशिक रोजगारीबाट फर्केका युवा, जो गाउँमै गाईपालन गरेर बस्ने योजनामा छन्, तिनलाई नगरले ८० प्रतिशत अनुदान दिने त्यसमा उल्लेख थियो ।
दिनेश विदेशबाट फर्केर गाईपालनकै तयारी गर्दैथिए । त्यहीबेला उनलाई सुहाउने योजना नगरले पनि अघि सार्यो । आवेदन दिए । ‘म छानिएँ । अनि ८५ हजारमा एउटा राम्रै जातको गाई किनेँ । त्यसमा मेरो २० प्रतिशत मात्रै लाग्यो, लगानीको ८० प्रतिशत नगरले तिरिदियो,’ दिनेशले सुनाए ‘ त्यसबेला किनेको गाईबाट अहिले तीन माऊ गाई भएका छन् । तीन वटैले अहिले १५ देखि २० लिटरसम्म दूध दिन्छन् ।’ यो दुई वर्ष अघिको कुरा थियो । त्यसबेला किनेको गाईको साथमा बाछी पनि थियो । अहिले त्यो बाछी पनि ब्याइसकेको छ ।
यो कुरा सुनाइरहँदा उनको अनुहार उज्यालो थियो । उनको मुखाकृति र आवाजमा आफ्नो सबैभन्दा नजिकैको सरकारप्रति कृतज्ञताको भाव थियो ।
‘नेताहरुले भोट मात्रै माग्छन्, बद्लामा जनतालाई केही दिँदैनन् होला जस्तो लाग्थ्यो,’ दिनेशले भने ‘तर, हाम्रो नगरपालिकाका प्रतिनिधिहरु फरक हुनुहुँदोरहेछ । म जस्ता धेरैले यस्तो अनुदान पाएका छौं । अहिले सबैले उन्नत गाई पालेर राम्ररी जिविका चलाइरहेका छौं ।’
उनका अनुसार नगरले गाई किन्न सित्तैमा पैसा त दियो नै, विभिन्न जातका डाले र भूइँघाँसका विरुवा र बीउ पनि दियो । गाईलाई खुवाउने पोषणयुक्त खानेकुरा बनाउने तालिम, गाईका लागि क्याल्सियम, मिनरलहरु पनि नगरले नै दियो । ‘गाईवस्तु विरामी हुँदा उपचार सेवा पनि नगरपालिकाले नै दिइरहेको छ,’ दिनेशले भने ‘हामीले बदलामा केही दिनुपर्दैन । हरेक वर्ष गाईपालनबाट के कति आम्दानी भयो, कति आर्थिक प्रगति भयो भन्ने चाहिँ नगरपालिकालाई विवरण बुझाउनुपर्छ । त्यसका लागि एउटा फम्र्याटयुक्त फारम नै दिएको छ ।’
अहिलेसम्म सूर्योदयका २ सय ३६ जना किसानले नगरपालिकाबाट गाईमा अनुदान पाएका छन् । ‘नगरले अधिकतम एक लाखसम्मको गाई खरीदमा ८० प्रतिशतसम्म अनुदान दिएको छ,’ सूर्योदय –९ का वडाध्यक्ष देवेन्द्र शर्माले भने ‘अनुदानमा गाई पाएका किसानले गाई वा बाछी बेच्नुपरे नगरलाई सोध्नैपर्छ । नगर आफैले किनेर अरु किसानलाई अनुदानमा फेरि दिन्छ ।’
एक लाखको गाई किन्दा नगरबाट ८० हजार रुपैयाँ अनु्दान पाएकी बबिता राई अहिले तीन माउ गाईको धनी भएकी छन् । उनका अनुसार तीन वटै गाई लैना छन् । ‘१५ देखि २० लिटरसम्म एउटाले दूध दिन्छ,’ उनले भनिन् ‘नगरले दिएको ८० हजारले मेरो आर्थिक जीवन बदल्यो ।’ १८ वर्षको उमेरमै पति गुमाएर एकल जीवन बिताइरहेकी बबिता जस्ता सयौं किसानले नगरको यो अनुदान कार्यक्रमबाट प्रत्यक्ष फाइदा लिएका छन् ।
चालु आर्थिक वर्षमा सूर्योदयले गाईको नश्ल सुधार कार्यक्रम सञ्चालन गरेको छ । ‘उन्नत जातका बाछी उत्पादन गरेर किसानलाई दिँदा उनीहरुको आर्थिक जीवनमा सुधार आएको पाएका छौं,’ नगरको आर्थिक समिति सभापतिसमेत रहेका शर्माले थपे ‘यो कार्यक्रमको मूल्यांकन गर्दा हामी ८० प्रतिशत सफल भएको स्वमूल्यांकन गरेका छौं ।’ यसबाहेक सूर्योदयले बंगुर प्रवद्र्धन कार्यक्रम अघि सारेर ५० प्रतिशत अनुदानमा एक सयभन्दा बढी किसानलाई उन्नत जातको बंगुर पनि वितरण गरेको छ । त्यस्तै कुी काट्ने मेसिन, सिञ्चाईका लागि मोटरसहितको प्रविधि पनि किसानलाई दिएको छ ।
‘सिञ्चाइका लागि मोटर दिएपछि सिञ्चाईमा सजिलो भएको छ,’ सूर्योदय ६ का किसान अशोक श्रेष्ठले भने ‘मलाई नगरले यसपालि आलुको बीऊ ४० केजी , चेरीको विरुवा, सुन्तलाको विरुवा पनि निशुल्क दिएको छ ।’