नागरिक संस्थामा हस्तक्षेप अन्त्य होस्

नागरिक संस्थामा हस्तक्षेप अन्त्य होस्

विराटनगरको मानगढ खानेपानी उपभोक्ता समितिको निर्वाचन एक साधारण संस्थाको नेतृत्व चयन मात्र थिएन, नागरिक संस्थामाथि राजनीतिक हस्तक्षेपको एउटा नमुना पनि थियो । पछिल्लो समयमा खानेपाने, वन, विद्यालय व्यवस्थापन जस्ता नागरिकका सामाजिक संस्थामा पनि चरम राजनीतिकरण भएको छ । यो राजनीतिकण गुट र माफियाकरणमा पनि परिणत हुन थालेको छ । मानगढ खानेपानीको निर्वाचन त्यस्तै भयो । यसमा राजनीतिकरण मात्र नभएर नेकपा एमाले मोरङभित्रको गहिरो सांगठनिक मतभेद, शक्ति संघर्ष र राजनीतिक ध्रुवीकरणको प्रतिबिम्ब बन्यो । मोरङ एमालेभित्रको यो विवादले संस्थापन पक्ष र बागी भनिएका विनोद ढकाल र सागर थापा समहूको विभाजन मात्र बाहिर ल्याएन । सामाजिक बहसपनि खडा गर्यो ।

२०८१ जेठ १९ गत मानगढ खानेपानी उपक्ता समूहको निर्वाचन भएको थियो । तर, निर्वाचन प्रक्रिया बिथोलियो । निर्वाचनदेखि सुरु भएको विवाद उच्च अदालतसम्म पुगेर पुनः मतदान गराउने फैसलामा टुंगिँदा, यो विषय पार्टी र आम उपभोक्ताबीच बहसको केन्द्र बन्यो । अदालतको आदेशपछि भएको दोस्रो निर्वाचनमा ढकाल–थापा पक्षका लालमणि भट्टराई भारी मतले विजयी हुँदा, यो परिणाम संस्थापन पक्षका लागि तेस्रो पटकको झट्का बन्यो । खासगरी, उपभोक्ता समितिको चुनावमा राजनीतिक दल र दलभित्रको गुटको असर कति गहिरो हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण बन्यो यो घटनाक्रम । एमालेको जिल्ला अधिवेशन र महानगर अधिवेशनमा पनि यही गुटगत ध्रुवीकरण दोहोरियो, जसले ढकाल–थापा पक्षलाई सफलता दिलायो । विराटनगरको राजनीतिमा प्रभाव जमाउँदै आएको यो समूहले न केवल संगठनभित्र शक्ति प्रदर्शन गर्यो, आम मतदातामाझ समेत लोकप्रियता भने बढाएको देखियो ।

मानगढको इतिहास पनि कम महत्वपूर्ण छैन । संस्थापक अध्यक्ष रामबहादुर घिमिरेले २०४७ सालदेखि थालेको खानेपानी अभियान अहिले विराटनगर र बुढीगंगा क्षेत्रमा स्वच्छ पानी वितरण गर्ने एक सफल संस्था बनेको छ । जाइकाको लगानी, उपभोक्ताको विश्वास र चार कार्यकालसम्म सर्वसम्मत नेतृत्वको अनुभव बोकेको व्यक्तिको पराजय राजनीतिक ध्रुवीकरणको बलियो प्रमाण हो । अध्यक्ष पदमा विजयी भएका लालमणि भट्टराईले यो जितलाई जनभावनाको प्रतिबिम्ब मानेका छन् । नेताहरुले जबर्जस्ती राजनीतिकरण गर्दा जनताले मतदाताको रुपमा आफ्नो असन्तुष्टि व्यक्त गरेको देखिएको छ । यो घटनाले एमाले मोरङभित्र केवल सांगठनिक प्रश्न होइन, कार्यकर्तासँग सम्बन्ध, जनमतप्रतिको दृष्टिकोण र नेतृत्व चयनको शैलीबारे भने गम्भीर प्रश्न उठाएको छ । जनताले न राजनीतिक गुट देख्छन्, न शक्ति समीकरण— उनीहरु परिणाम, पारदर्शिता र जनसेवाको मूल्याङ्कन गर्छन् । मानगढको निर्वाचनले देखाएको यही सन्देश आजको दिनमा नेपाली राजनीतिक दलका लागि एउटा गहिरो आत्मसमीक्षाको घण्टी हो ।

अब प्रश्न उठ्छ— के एमालेले यो जनसन्देशलाई आत्मसात् गर्छ ? कि अझै पनि भित्री संघर्षमै अल्झिरहन्छ ? जनताको मतलाई बुझेर, संगठनभित्र संवाद र समावेशी नेतृत्वको अभ्यास नगरेसम्म आगामी निर्वाचनहरूमा यस्ता ‘खानेपानी’ विवादहरूले ठूलो राजनीतिक मूल्य चुकाउनु पर्नेछ । अर्कोतिर खानेपानी जस्ता सामाजिक संस्थामाथिको राजनीतिक र गुटगत हस्तक्षेप पनि अन्त्य हुनुपर्छ । नागरिकका सामाजिक र उपभोक्तावादी संस्थाको सञ्चालन स्वयम् नागरिकले सञ्चालन गर्ने सुनिश्चितता गर्नुपर्छ ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो हुनुहोस्!

प्रतिक्रिया दिनुहोस्