विराटनगर । मोरङको कटहरीमा साथीको हत्या आरोपमा पक्राउ परेका आरोपी कटहरी – ३ का ३८ वर्षिय शेखर राजवंशीले हत्या गरेपछि अशोक ऋषिदेवको शव रिङ्गरोडको नहरमा फालिदिएको बयान दिएका छन् ।
ढुङ्गाले हानेर हत्या गरेपछि घटना मोडने उद्देश्यले अशोकलाई पानीमा डुबेर मरेको देखाउन शवसहित साइकल कटहरी ३ स्थित रिङ्गरोडको नहरमा फालिदिएको राजवंशीले दिएको बयान उद्रित गर्दै अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले हाम्रोमतलाई बताएका हुन् ।
जहदा गाउँपालिका – ३ का ४० वर्षिय ऋषिदेवको हत्या उनीसँगै राजमिस्त्री काम गर्ने शेखर र अर्का एक जना फरार भएका व्यक्तिले मिलेर हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । घटनामा संलग्न भएको आरोपमा राजवंशी पक्राउ परिसकेका छन् भने अर्का एक जना फरार भएकोले उनको पनि खोजी कार्य भइरहेको मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङले जानकारी दिए । मृतक र घटनामा संलग्न साथी हुन् । उनीहरू राजमिस्त्री काम गर्दछन् ।
शनिबार राती काम सकिएपछि उनीहरु कटहरीको एक भट्टी पसलमा गएर मदिरा सेवन गरेका थिए । ‘भट्टी पसलबाट निस्किएपछि सामान्य विषयलाई लएर विवाद भएको रहेछ । विवाद हुँदा अशोकलाई शंकर र अर्का एक जना साथी भएर आक्रमण गरेका रहेछन्,’ डिएसपी मुकारूङले भने, ‘उनीहरुको आक्रमणबाट अशोकको हत्या भएको छ ।’ विवाद बढदै जाँदा शंकरसहित दुइ जनाले अशोकको टाउँकोमा ढुङगाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या गरेपछि अशोकको शव कटहरी –३ मा रिङ्गरोडको नहरमा फालिदिएका थिए । ऋषिदेवको मृत्यु भएपछि घटना लुकाउन राजवंशीले शव नहरमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी मुकारुङले बताए । ‘पानीमा अशोकको शव फालेपछि उनले चढदै गरेको साइकल पनि त्यही लगेर फालिदिएको पाइएको छ,’ उनले भने, ‘घटनलाई मोडन उनीहरुले निक्कै चलाखि गरेको पाइएको छ । हत्या गरेको घटनलाई लुकाउन डुबेर मरेको देखाउन शव र अशोक चढने साइकल पानी भएको नहरमा फालिदिएको पाइएको छ ।’ ऋषिदेवको शव साइकलसहित नालामा डुबेको अवस्थामा प्रहरीले आइतबार बरामद गरेको थियो । शव बरामद भएपछि टाउकोमा गम्भीर चोट देखिएकाले प्रहरीले अनुसन्धान गर्ने क्रममा राजवंशीसहित दुइ जनाले हत्या गरेर नालामा फालेको तथ्य पत्ता लगाएको मुकारुङले बताए ।
साथीको हत्या गरेपछि बाँसझ्याङमा
राती अशोकको हत्या गरेपछि राजवंशी डरले घरमा नसुति बासझ्याङमा बसेको पाइएको छ । प्रहरीले समात्ने भयको कारणले घरमा नबसी उनी राती घरदेखि करिब २ किलोमिटर टाढा रहेको बाँसझ्याङमा बसेको प्रहरीले जनाएको छ । मोरङ प्रहरीबाट खटिएको टोलीले पनि राजवंशीलाई आइतबार बासझ्याङदेखि पक्राउ गरेको डिएसपी मुकारुङले जानकारी दिए ।
घटनामा संलग्न भएका अर्को साथी पनि फरार भएकोले उनको पनि खोजी कार्य जारी रहेको उनले बताए । पक्राउ परेका राजवंशीलाई प्रहरीले सोमबार कर्तब्य ज्यान मुद्दामा पाँच दिनको म्याद थप गरि अनुस्न्धान अगाडी बढएको मोरङ प्रहरीले जनाएको छ ।
मृतक राजवंशीको श्रीमिति र तीन छोरा रहेका छन् ।


