धरान । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले तालाबन्दी गरेर अवरोध गर्दै आएको धरान १६ स्थित प्रहरी चौकी भवन निर्माण सुचारु हुने भएको छ ।
धरान–१६ नौलो बस्तीमा निर्माणाधीन प्रहरी चौकी भवनको निर्माण रोक्न प्रमुख साम्पाङ समर्थकसहित पुग्दा स्थानीयले घेराउ गरी चौकी निर्माणमा सहमत गराएका हुन् ।साम्पाङ चौकी निर्माणस्थल पुग्ला स्थानीय जनता पनि आक्रोशित भई जम्मा भएपछि स्थिति तनावपूर्ण बनेको थियो । आक्रोशित भिडले नगर प्रमुख सम्पाङलाई घेरा हालेको थियो । केहीबेर तनावपूर्ण वादविवाद भएपछि प्रमुख साम्पाङसहित अन्य जनप्रतिनिधिबीच छलफल भएको थियो ।
उपप्रमुख आइन्द्रबिक्रम बेघा, प्रमुख प्रशासकीय अधिकृत अम्बिका चौलागाई, धरान–१८ का वडाध्यक्ष नरेन्द्र राई प्रवीण, धरान–१५ वडाध्यक्ष नरेश ईवराम, धरान १६ का वडाध्यक्ष मुरारी भट्टराई, स्थानीय र नगरप्रमुख साम्पाङबीच भएको छलफलपछि भवन निर्माण नरोक्ने सहमति भएको हो । सहमतिपछि साम्पाङले स्थानीयलाई सम्बोधन गर्दै ‘अब उप्रान्त प्रहरी चौकी बन्न केही समस्या नहुने’ बताए । साथै प्रहरी चौकी र बहुभाषिक पाठशालाको सीमा निर्धारण गरी पर्खाल लगाउने र सोही स्थानमा चौकी बन्ने उनको भनाइ थियो ।
मेयरले जनताको जीत भयो भनेपछि स्थानीयबासी खुशी भएर ताली बजाएका थिए । साम्पाङले चौकी निर्माणको लागि मेयर कोषबाट आगामी आर्थिक बर्षमा १० लाख रुपैया विनियोजन गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
नगर उपप्रमुख आइन्द्रविक्रम बेघाले आजको घट्नाबारे प्रतिक्रिया दिँदै विधि र विधानको अगाडि व्यक्तिको केही नलाग्ने बताए । उनले भने ‘धरानमा विधिलाई स्थापित गरी संस्थागत गरेर धरान जुरुक्क उठेर अगाडी बढ्छ ।’ जनताको जायज माग पुरा गर्न जे केही झुक्नु पर्ने उदाहरण आजको घट्नाले दिएको उनको भनाई छ ।
वडा अध्यक्ष मुरारी भट्टराईले स्थानीय बासिन्दा र वडाले स्वास्थ्य चौकी र प्रहरी चौकीलाई घेरा लगाउँदै पर्खाल निर्माण गर्न पटक–पटक भन्दै आए पनि नगर प्रमुखले निर्माण रोक्ने कदम चालेकोमा अहिले लचक भएको बताए । प्रमुख साम्पाङले बहुभाषिक पाठशाला र प्रहरी चौकी, स्वास्थ्य चौकी स्थल वरपर पर्खाल लगाउने सहमति गर्दै अब उप्रान्त केही समस्या सिर्जना नगर्ने प्रतिबद्धता जनाएको उनको भनाइ छ ।
यसअघि प्रमुख साम्पाङले ‘प्रहरी कट्टु सुकाउँछन्’ भन्दै प्रहरी चौकी बनाउन नहुने भनी सामाजिक सञ्जालमा स्ट्याटससमेत लेखेका थिए । लगत्तै कोशी प्रदेश सरकारको योजना तथा भौतिक मन्त्रालयलाई प्रहरी चौकी भवन निर्माण स्थगित गर्न पत्र समेत लेखेका थिए ।
गत बिहीबार राती प्रमुख साम्पाङ सहितको टोलीले निर्माण स्थलको गेटमा ताल्चा लगाएको थियो भने शुक्रबार बिहान स्थानीयसहित धरान १६ का वडाध्यक्ष मुरारी भट्टराईले ताल्चा फुटाएर निर्माण कार्य सुचारु गराएका थिए ।
चालु आर्थिक बर्षमा प्रदेश सरकारबाट विनियोजित ८ लाख रुपैयाँ बजेटबाट निर्माण कार्य सुुरुवात भएपछि मेयर साम्पाङले लफडा सुरु गरेका थिए ।