गणेश लम्साल
२९ मंसिर २०७८ मा हाम्रोमत दैनिकमा कटहरी गाउँपालिका १ आदर्श टोलमा थोत्रो पुरानो भाडाको घरमा सफाइको काम गर्ने आमाबाबु र तीन जना दिदीबहिनीहरुसँगै बस्दै आएका दृष्टिबिहिन दाजुभाई ७ वर्षीय लल्कु र ४ वर्षीय कृष्णको कारुणिक कथा छापिएको थियो । प्रशिक्षार्थी पत्रकार स्मृति तिम्सिनाको वाइलाइनमा प्रकाशित समाचारले पक्कै मनकारीहरुलाई पगाल्छ भन्ने लागेको थियो । तर, कसैले पनि उनीहरुलाई केही सहयोग गरेन ।
हाम्रोदैनिककै यहि स्तम्भमा गत सोमबार ‘हामीलाई माफ गरिदेउ कृष्ण र लल्कु’ भन्ने शीर्षकमा मैले उनीहरुको दुःख, प्राप्त गर्नुपर्ने हकअधिकारको बारे लेखे । अनि अब चाँही पक्कै दयालु दाता तथा मनकारी पालिका र प्रदेश सरकारले चासो दिनेछ भन्ने ठाने । यसअघि लेखेपछि त्यसको प्रभाब परेको थियो । तर, यसपाली त्यस्तो भएन । यसैले मनमा हुटहुटी चलिरह्यो । आफूले काम गर्ने काठमाडौको ब्रोडसिट दैनिकमा पनि समाचार पठाएको थिए । तर, राजनीतिक सरगर्मीको समय भएकोले होला, उनीहरुको दुःखले स्थान पाएन ।
मलाई भने कृष्ण र लल्कुको अवस्थाले चिमोट्न छाडेन । यो समस्या मैले प्रेस सेन्टर विराटनगर महानगरका अध्यक्ष श्रीमन्त भटराईसँग शेयर गरे । परोपकारी काममा सधैं अग्रपंक्तिमा रहने श्रीमन्तले भोलिपल्ट एक थान कम्बल, एक–एक थान ट्रयाकसुट अनि केही स्विटरसहित ५० केजी चामलको जोहो गरेछन् । अँग्रेजी नयाँ वर्षको पहिलो दिन कृष्ण र लल्कुको विषय उठान गर्ने पत्रकार स्मृति तिम्सना, हाम्रोमत दैनिकका सम्पादक अर्जुन आचार्य, श्रीमन्त र म उनीहरुको घरमै पुगेर सहयोग गर्यौं । त्यहाँ पुग्दा अवस्था झनै दर्दनाक देखियो । चिसो भुईमा बसेर दृष्टिबिहिन लल्कु र कृष्ण कपाकप निस्तो र चिसो भात खाइरहेका थिए । दिदीबहिनीको आङमा पनि पालतो मैलो एकसरो सुतीको लुगाबाहेक केही थिएन । कोठाभित्रको अवस्था झनै बेहाल थियो । उनीहरु सुत्ने भुई पानीसरी चिसो थियो ।
कम्बल पनि ल्याएका छौ भन्दा न्याना नयाँ लुगा लगाएर दंग परेका लल्कुले मख्ख पर्दै भने, ‘आहा ! अब जाडो हुँदैन होला ।’ छेउमा अल्लो घरमा बस्ने छिमेकी निस्किएर हामीलाई भने, ‘यिनीहरुको आँखाको उपचार गर्ने व्यवस्था मिलाई दिनु न ।’ हामीले आफूहरु पत्रकार भएकोले समाचारमार्फत लेखेर र देखाएर निरन्तर प्रयास गर्ने बतायौं । हाल तराईमा चलिरहेको कठयाङ्ग्रिदो सितलहर अनि गरिबीले सताइएका गरिब दलितहरुको अवस्था यस्तै छ । हरेक वर्ष सितलहरले कठयाङ्ग्रिएर गरिबहरुको मृत्यु भएको समाचार लेखिरहँदो लाग्छ– ‘सितलहर भनेको राज्यका लागि गरिबहरु मार्ने अवसर नै हो ।’
महादलित भनिने मरिक र मुसहरहरु केहीको मात्र राम्रो घर छ । उनीहरुले न त बचत गर्ने बानी बसाल्न सकेका छन्, न त जाडोको लागि न्याना लुगा र पोषिलो खाना जगेडा गर्न सक्छन् । जाडोबाट जोगिन उनीहरु थोत्रा थाङ्ना, पराल र रक्सीको सहारा लिन बाध्य छन् । गाउँमा बस्नेहरु त जेनेतन घुर तापेर दिन कटाउँछन् । शहर बजारमा बस्नेहरु भने रक्सीकै सहारामा बाँच्ने गर्छन् । यसैले यो समय उनीरुको परिवारको जीवन झन् कष्टकर बन्ने गर्छ । बालबालिका, जेष्ठ नागरिक र गर्भवती अनि सुत्केरी तथा अशक्त बिरामीहरुको त कन्तबिजोग नै हुने गर्दछ ।
सितलहर केही हप्तासम्म चल्नेछ । न्यानो र पोषिलो खाना अनि कपडाको अभाबमा कतिपयले ज्यान गुमाउनेछन् । तर, सबैको अभिभावक राज्य भने मृत्यु भएकाहरुको गणना मात्र गरिरहेछ । हामी नागरिकहरु मृत्यु भएको समाचार पढेर हेरेर कठै ! बन्न बाध्य छौं । के राज्यको दायित्व यति मात्र हो त ? के हरेक आपद् विपदमा सुरक्षित हुन पाउने हक गरिब दलितहरुलाई छैन ? सबै तहका सरकारहरु बेलैमा यसबारे सर्तक हुनुपर्दैन ?
संघीय सरकारले सितलहरबाट नागरिकलाई बचाउने उचित प्रबन्ध गर्न पालिकाहरुलाई निर्देशन गरेको छ । भखरै प्रदेश १ सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले पनि विपद् समितिको बैठक राखेर सबै जिल्ला र पालिकास्तरका समितिहरुलाई चिसोमा अन्नबाली र जनधनको रक्षा गर्न सक्रिय भएर लाग्न परिपत्र गरेको छ । आपत परेमा वितरण गर्न भन्दै मन्त्रालयले २८ सय थान न्यानो कम्बल पनि स्टकमा राखेको छ रे । सायद ब्राम्हणले गाई बेचेर चैतमा कम्बल किनेको कथा झै स्टकमा भएका न्याना कम्बलहरु चैततिरै बाँडिएलान कि !
के समयमै लगत संकलन गरेर अतिविपन्न परिवारलाई एक थान सिरक र म्याटे«स अनि नाङ्गो आङमा कठयांग्रिन बाध्य बालबालिका र जेष्ठ नागरिकहरुलाई लुगा दिन सकिन्न ? पोषणयुक्त खाद्यान्न दिएर सुत्केरी आमा र शिशुको सुरक्षा गर्न सकिन्न ? अह ! सकिएको छैन । किनभने व्यवस्था फेरिएपनि शासन गर्ने सोच र व्यवहार फेरिएन । गरिबी र विभेदले गर्दा मध्यपान, ध्रुम्रपान र अन्य दुब्र्यसनमा फसेकाहरुलाई राज्यले सचेत बनाउनै चाहेन ।