कहाँबाट शुरु गरौँ ?

 भरत गुरागाई ‘बर्बरीक’

लेख्न बसेको छु , थाहा छैन कहाँबाट शुरु गरौँ । मेरो वरिपरि केही पुस्तकहरु छन् । तिनीहरु मलाई हेरेर बसिरहेका छन्, म पनि यिनै पुस्तकहरुलाई मस्तिष्कले हेरेर हृदयले सुम्सुम्याइरहेको छु । फेसबुकमा आफैँलाई साहित्यको अलराउण्डर गुरु र स्वघोषित विद्वान हुँ भन्दै घोषणा गर्नु भन्दा विषयान्तर भई थोरै भए पनि केही लेख्नु सान्दर्भिक ठानेको छु । तर, थाहा छैन कहाँबाट शुरु गरौँ ।

स्रष्टा साथीहरुले साह्रै मेहनत गरेर सिर्जना गर्नुहुन्छ , गाँस काटेर पुस्तक प्रकाशन गर्नुहुन्छ, नभएको खर्च गरेर लोकार्पण गर्नुहुन्छ, निशुल्क पुस्तक वितरण गर्नुहुन्छ, तर त्यो पुस्तक सिरानीले छोपिदिन्छ, पढिदिने खासमा कोही हुँदैन । हामीभित्र प्रोत्साहन गर्ने भन्दा जिउँदो चरालाई भुत्ल्याउने संस्कार मौलाउँदै छ । कोहीकोही स्वघोषित साहित्यकार त फेसबुकमा फोहोर कुरा लेखेर बाँचिरहेका छन् ।

मेरो अघिल्तिर मीनकुमार नवोदितको ‘समयको बयान’ बसिरहेको छ’ साविती बयान दिइरहेका छन् नवोदित । जिउँदा र अग्र्यानिक कविताहरु मार्फत नवोदित छाती खोलेर उभिएका छन् । मैले केही लेख्नु नै छ । स्रष्टा बैनी लक्ष्मी युग्मी ‘एक झल्को प्रेम’ लिएर आएकी छिन् । घृणा र तिरस्कारको जवाफमा प्रेम बोकेर आएकी छिन् उनी । त्यस्तै लक्ष्मी रायमाझी ‘अक्षरको ज्यावल बोकेर’ माण्डव्य ऋषिले झैँ अक्षरलाई प्रेम गरिरहनु भएको छ । मीना श्रेष्ठ सवी ‘पोल्टाको कोशेली’ मुक्तकसंग्रह मार्फत कोशेली बाँडिरहेकी छिन् । मैले केही लेख्नु नै छ ।

प्राज्ञ दधिराज सुवेदीले साह्रै मेहनत गरेर तयार पार्नु भएको ‘मोरङमा नेपाली साहित्यको उत्पत्ति र विकास’को सन्दर्भमा मैले कर्तव्यका हिसाबले पनि केही लेख्नै पर्छ । स्रष्टा शारदा कार्कीको ‘बसन्ती’ कवितासंग्रह भित्रको भाव तपाईँहरुसम्म पु¥याउने नै छु । मेरा अनन्य मित्र शशिकिरण अर्थात् क. सुशील अर्थात् गणेश उप्रेतीको ‘बधाई छ’ कवितासंग्रह मार्फत एक सच्चा क्रान्तिकारीको काव्यविचार लिएर आउने नै छु । वस्तुतः म लेख्न बसेको छु ।

मलाई साह्रै स्नेह दिनुहुने मेरी दिदी भारती पोखरेल राजनीतिककर्मी, सामाजिक अभियन्ता र स्रष्टा हुनुहुन्छ । उहाँले आमालाई श्रद्धा गर्दै लेख्नु भएको पुस्तक मलाई साह्रै मन पर्छ । अवश्य लेख्नेछु । नेपाल मुक्तक प्रतिष्ठानको ‘मुक्तक मन्जुषा’ पढिरहेछु । प्रा. डा. भीम खतिवडाको नयाँ स्वादको हाइबुन ‘गो ब्याक’लाई सुस्वादु प्रतिक्रिया दिनु नै छ । स्रष्टा तीला लेकालीको ‘साझा आकाश’ कवितासंग्रहभित्र डुबिरहेछु । थाहा छैन, कहाँबाट सुरु गरौँ ।

मुक्तक प्रतिष्ठान प्रदेश एकका अध्यक्ष बाबुराम पोखरेलको मुक्तकसंग्रह ‘गोलढुङ्गो’ र मुक्तककार राधा भट्टराईको मुक्तकसंग्रह ‘उपासना’को बारेमा नलेखी हुन्न ।

तपाईं सुझाइदिनुहोस न, म कहाँबाट सुरु गरौँ ।

बुधबार, २४ कार्तिक, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर