जयप्रकाश आनन्द
समयले आन्दोलनहरूको तानावानालाई धुजाधुजा पार्दछ । मधेस आन्दोलन अहिले सत्ताको नदीमा तैरिइरहेको कागजको नाउ जस्तो भएको छ । आदिवासी जनजाति आन्दोलन वर्षमा एक पटक साकेला–लोसारको दिन टुँडिखेलमा देखिन्छ । यसका अभियन्ताहरू एमाले ठिक कि माओवादी भन्ने बिथ्था बहसमा दिन खर्चिरहेका छन् । दलित आन्दोलनको उपस्थिति ‘संयुक्त राष्ट्रसंघ विभेद बिरूद्धको दिवस’ का दिन सेमिनारहरूमा रहन्छ ।
काठमाण्डु मण्डलबाट शुरू भएको शायद नेपालकै सबभन्दा सशक्त पहिचानको आन्दोलन अहिले पूर्णतः ‘न्हु दँया भिन्तुना’ मा अल्पपरिभाषित भएको छ । यसले गौतम बुद्धको मुखाकृतिमा यौटा ‘मिथ’ लाई प्रतिक बनाएर सालाना उत्सवमा रूपान्तरित भएको हुन गएको छ । यहाँ अब प्रो. मानिकलाल प्रधान, पद्मरत्न तुलाधर, प्रो. कमल प्रकाश मल्ल, मल्ल के सुन्दरहरूको शंखनाद सुनिन्न । भिन्तुना आन्दोलनको गर्भमा रहेको विद्रोही आवाजलाई नायकहरूले अहिले डिजिटल संसारको ‘अडियो अर्काईव’ मा राखेर शताब्दी पुरूषको जीर्ण काँघमा खादाको भार थपिरहेको पाईन्छ ।
नेपाल सम्वतको अभियान काठमाण्डुबाट जन्मेको प्रजातान्त्रिक आन्दोलनको सहयात्री थियो । पहिचानको खोजी तथा त्यसबखत अदृश्य झैं रहेको संघात्मक शासनको मागको आधारभूमि तयार गरिरह्यो, यस आन्दोलनले । राजतन्त्र, संसारमा जहाँको होस्–तेसले यौटा धर्म, एक भाषा र पहिरन तथा खास स्वार्थ भएकोहरूको सम्बद्र्धन गर्ने शासन व्यवस्था बोकेको हुन्छ । नयाँ वर्षको रूपमा बिक्रमी सम्वतको सट्टा नेपाल सम्वत, ठेठ नेवारी बोलीमा विद्रोही आवाजको अभिव्यक्ति, राजकीय लवेदा शुरूवालको ठाँउमा भादगाउँले महिला पुरूषको पहिरन र राजाले गरेको भूइँफुट्टा वर्गको विकासलाई चुनौती दिन काठमाण्डुका सडकहरूमा निस्कने खर्पन बोकेकाहरूको जुलुस वास्तवमा ‘न्हु दँया भिन्तुना’ आन्दोलनको ‘विचार’ थियो, विद्रोहको ‘फिलुडड्डगो’ थियो । पंचायती एकात्मवादी राज्य व्यवस्थाको केन्द्र राज दरवार र अनुचर सिंहदरवारलाई यसले दशकौंसम्म दिएको धक्का बिर्सन सकिन्न ।
आज त्यो अवस्था छैन । बुढानिलकण्ठको दर्शन झैं बर्जित थियो, राज दरवारका लागि ‘भिन्तुना’ मा शुभकामना दिनु । आज फालिएका राजाको ‘इन्द्रजात्रा’ मा उपस्थिति देखिन्छ– यो काठमाण्डुमा । यो ओरालोपन एक्लो काठमाण्डुको होइन, मधेसी–जनजाति सबैतिर देखिन्छ । यसपटक पनि सबैतिर ‘न्हु दँया भिन्तुना’ मानाइयो । राजनीति निरपेक्ष रूपमा । मिथकलाई स्थापित गराउने मागको परम्परा निर्वाह गरेर । तर, यो आन्दोलन थियो अतितको, जसले मुलुकलाई प्रजान्त्रिकीकरण गर्नको लागि पूरक रहेको थियो । जातीय, भाषिक, क्षेत्रीय र सामुदायिक पहिचानको जग बनाएको थियो । नेपालको प्रजातान्त्रिक आन्दोलनको समग्र अध्ययन यसले दिएको शक्तिको अनदेखा गरेर पुरा हँुदैन ।