अनन्तराज न्यौपाने
देशैभरि यस वर्षको दशैँले ठूलो घाउ लगाएर गयो । बडादशैँको समापन गर्न नपाउँदै सुरु भएको वर्षा, हुरी, बाढी, र पहिरोले १ सयभन्दा बढीले ज्यान गुमाउनु परेको छ । त्यस्तै ५० जनाभन्दा बढी बेपत्ता भएको खबर आइरहेको छ । सात अर्बभन्दा बढीको धानबाली नष्ट भएको छ । पीडितहरू अझै आँसु पुछेर बसिरहेका छन् । मोरङ र सुनसरीका उद्योगले २ अर्बभन्दा बढीको क्षति बहोरेका छन् । यस वर्षको बेमौसमी वर्षातले मुलुकमा ठूलो दुःखान्त छाडेर गएको छ । निर्धा जनताका आँसु थामिएका र आँखा अझै ओभाएका छैनन् ।
त्यसो त, नेपालमा हरेक कुरा बेमौसमी हुन थालेको छ । बेमौसमी तरकारी र फलफूलले बजारमा मूल्य पाएजस्तै बेमौसमी दुर्घटनाले पनि यस देशमा राम्रो प्रश्रय पाएको छ । २०४६ पछिको कुरा गर्ने हो भने पहिलो बेमौसमी घटना तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गराएको मध्यावधि चुनाव थियो । त्यसपछि नेपाली राजनीति र समाजमा जे पनि बेमौसममै हुन थाले । हुँदाहुँदा प्राकृतिक प्रकोप, दुर्घटना, जाडो र गर्मीले पनि आफ्नो समय र मौसम विचार गर्न छाडेका छन् । पूर्वी तराईमा असोज १५ पछिको गर्मी खपिसक्नुको थिएन । दशैँको टीका उखरमाउलो गर्मीकै बिच सम्पन्न भयो । अष्टमीमा मार हान्ने दिन पनि सूर्यनारायण त्यस्तै तेजिला थिए । यो गर्मी पनि बेमौसमी नै थियो । शरद ऋतु शान्त, शीतल, सफा र स्निग्ध हुनुपर्नेमा त्यो देख्न पाइएन ।
राजनीतिमा ५१ को मध्यावधि चुनावपछिका बैमौसमी घटना अझ सम्झनलायक छन् । संसदीय व्यवस्था ३ वर्ष पनि चल्न नपाई यसमाथि अविश्वास गरेर माओवादीले ‘जनयुद्ध’–को सुरुआत गर्नु अर्को बेमौसमी कदम थियो । आखिर अन्ततः शान्तिप्रक्रियामै फर्किएर संसदीय प्रवाहमै समाहित हुनुथियो भने ‘जनयुद्ध’–सञ्चालन किन गरिएको थियो भन्ने कुरा अहिले पनि मुलुक र माओवादीका सामु यक्षप्रश्न बनेर उभिएको छ । हो, मुलुकमा धर्मनिरपेक्षता, सङ्घीयता र गणतन्त्रजस्ता महत्वपूर्ण उपलब्धिमा माओवादी विद्रोहको योगदानलाई नकार्न सकिँदैन । तर, जुन लक्ष्य र उद्देश्यको घोषणा गरेर त्यो विद्रोह सुरु गरिएको थियो; त्यसलाई तार्किक निष्कर्षमा पु¥याइयो कि पु¥याइएन भन्ने तर्क पनि त्यत्तिकै बलियो छ ।
मुलुकमा भर्खरै अर्को बेमौसमी राग सुनिएको छ । त्यो हो, गद्दीच्युत पूर्व राजा ज्ञानेन्द्र शाहको । दशैँको अवसर पारेर उनले भने, ‘राजसंस्थाबिनाको लोकतन्त्र र लोकतन्त्रबिनाको राजसंस्था सान्दर्भिक हुँदैन ।’ वीपी कोइरालाले आजभन्दा ४६ वर्षअघि मेलमिलापको नीति लिएर नेपाल पस्ता राजालाई आह्वान गर्दै भनेका थिए, ‘तिमी मलाई लोकतन्त्र देऊ, म तिमीलाई स्थायित्व दिन्छु । तर, संवैधानिक रूपमा ।’
वीपीले यसरी राजसंस्थासित व्यावसायिक अर्थात् लेनदेनको सम्बन्ध राख्न खोजेका थिए । तर, नेपालकै राजाहरूका दुर्बुद्धिका कारण यो प्रयास सफल हुन सकेन । यहाँका राजा र उनका परिवारका घैँटामा कहिल्यै घाम लागेन । त्यतिबेला वीरेन्द्रले २०३६ सालमा जनमत सङ्ग्रहको घोषणा गर्नुको साटो सिधै लोकतन्त्रको घोषणा गरिदिएको भए उनी महान् हुन्थे र उनको वंशले पनि अहिलेसम्म शासन गर्न पाइरहन्थ्यो । बहुदलीय व्यवस्थाको पुनःस्थापना–२०४६ पछि तत्कालीन राजा वीरेन्द्र संवैधानिक भए । तर, उनले लगातार संविधानको उल्लङ्घन गरिरहे । संविधानकै उल्लङ्घन गरेर वीरेन्द्रले एकलौटी रूपमा राजदूतको नियुक्ति गर्नथाले । कैयौँ असंवैधानिक वक्तव्यबाजी गरे र मनमौजी भ्रमण गरिरहे । त्यस बेलासम्म अनैकिताले ग्रस्त भएर नेपालका राजनीतिक पार्टीको पनि साख पातालमा पुगिसकेको थियो । त्यसैले वीरेन्द्रका एकपछि अर्को असंवैधानिक कामको कुनै पार्टीले खुलेर विरोध गरेनन्, बरु सहेर बसिरहे ।
२०५८ जेठमा वीरेन्द्रको वंशनाश अर्को बेमौसमी घटना थियो । धेरैले यसमा ज्ञानेन्द्र र पारसको संलग्नताको आरोप लगाएका छन् । ज्ञानेन्द्र र पारसले आजसम्म यसको चित्तबुझ्दो उत्तर पनि दिन सकेका छैनन् । यिनै ज्ञानेन्द्र पञ्चायत कालमा मूर्तिचोरी र हेरोइनको धन्धामा सक्रिय भएको सुन्न पाइन्थ्यो । उनैलाई वंशहत्याको अभियोग पनि लाग्यो । उनै ज्ञानेन्द्र ३–३ वटा सफल क्रान्ति गरेका नेपाली जनतालाई लोकतन्त्रको पाठ सिकाइरहेका छन् । त्योभन्दा ठूलो बेमौसमको राग अर्को के हुनसक्छ ?
बीपीले २०३३ पछि मागेको कुरा वीरेन्द्र र ज्ञानेन्द्र दुबै राजाले अटेर गरिसकेका छन् । उनीहरू अब लोकतान्त्रिक आवरणभित्र सजिएर बस्न सक्तैनन् । लोकतान्त्रिक आचरणको उल्लङ्घन उनीहरूको प्रवृत्ति भइसकेको छ । कुनै बेला ज्ञानेन्द्रले गठन गरेको शाही आयोगले राणाकालीन बर्बरताको स्मरण गराएको थियो । रगतको स्वाद चाखेको हिंसक जनावरले कलिलो दूबोको घाँस नरुचाएजस्तै नेपालको शाहवंश लोकतान्त्रिक आचरण र मर्यादामा बस्न सक्तैन भन्ने पुष्टि भइसकेको छ । त्यसैले ज्ञानेन्द्र र उनको बेमौसमी रागरूपी वक्तव्यविरूद्ध नेपाली जनता निर्मम हुनु आजको युगीन आवश्यकता हो ।