डा.बालकृष्ण साह
‘दसैं आयो खाउँला, पिउँला ..!’
हामी दसैंलाई खाएर रमाइलो गर्ने चाडका रुपमा लिन्छौं । दसैं भन्नेबित्तिकै मासुका विभिन्न परिकारहरु, अचार, चिउरा, अनि रमाईलो सम्झिन बाध्य हुन्छौं । के बालक, के बृद्धा, के महिला, के पुरुष सबै आ–आफ्नै किसिमले रमाएका हुन्छन् । यस्ता चाडवाडमा रमाइरहेका महिलाहरुमा थप कामको भार थपिएको देखिन्छ । किनमेलदेखि भान्सासम्म थपिएको कामका बीच आफ्नो नियमित प्रक्रियाप्रति पनि उत्तिकै चनाखो हुनुपर्छ ।
दसैंको लामो विदामा बालबालिकाहरु मात्र होइन घरका सबै सदस्यहरुको जमघटले छुट्टै रमाईलो महसुस गराएको हुन्छ । यस्तो जमघटमा विशेषतः गृहिणीहरुमा थप भार परेको हुन्छ । पाहुना सत्कार, भान्साको भार र घर सजावट यी सबै भार मुख्यरुपमा घरमा गृहिणीलाई हुनेगर्छ । तर, यस अवस्थामा पनि गर्भवती महिलाहरुको स्याहारमा कमी आउन दिनु हुँदैन । विशेषगरी ३ महिनाभन्दा कम र ७–८ महिना पुगिसकेका गर्भवतीहरुलाई विशेष ध्यान पु¥याउनु पर्छ । गर्भको अवधि ३ महिना नहुन्जेलसम्म गर्भको बच्चाको अङ्गहरु बन्ने (अर्गानोजेनेसिस्) भएकाले अत्यन्त महत्वपूर्ण समय मानिन्छ । यस अवस्थामा गर्भवतीहरुलाई शारिरीक, मानसिक वा अन्य तनाव र थकानले गर्भको बच्चामा असर गर्ने र खेर जाने सम्भावना बढी हुने हुन्छ । त्यसैले यस अवस्थामा गर्भवतीहरुले लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधुप गर्ने तथा तनावमा बस्नु हुँदैन । यस्ता गर्भवतीहरुको खानाको रुचि कम भएपनि बारम्बार थोरै–थोरै खाने तथा पानी बढी पिउने गर्नुपर्छ ।
त्यस्तै महिना पुगिसकेका गर्भवती महिलाहरुमा पनि लामो यात्रा गर्ने, भारी बोक्ने, धेरै दौडधुप गर्ने जस्ता गतिविधिले व्यथा शुरु हुनसक्छ । त्यसैले यस्ता गतिविधिमा सरिक नभएर आराममा बढी जोड दिनुपर्छ । तर, पुर्ण बेडरेस्ट गर्नुपर्छ भन्ने छैन । घरका अन्य सदस्यहरुले घरमा रहेका गर्भवतीहरुको बिशेष ध्यान पु¥याउन आवश्यक हुन्छ । त्यस्तै चाडवाडमा धेरै अस्पतालहरुमा कतिपय सेवाहरु प्रभावित भएको हुनसक्छ । त्यसैले आपतकालीन अवस्थामा कुन अस्पतालमा सम्पर्क गर्ने आफ्नो चिकित्सकँंग सल्लाह पनि गर्नुपर्छ ।
महिलाहरुलाई चाडवाडमा झन्झट थप्ने अर्को नियमित प्रक्रिया पनि छ ‘महिनावारी’ । महिनावारी भएको अवधिलाई ‘नछुने’ पनि भन्ने गरिन्छ । समान्यतयाः यो बेलामा कुनै पनि धार्मिक तथा सांस्कृतिक आस्था भएको शुभ कार्यमा सहभागी नहुने तथा कसैलाई नछुने र छोएको नचल्ने भएकोले पनि नछुने भनिएको हो । तर, महिनावारी हुनु भनेको एउटा सामान्य शारिरीक प्रक्रिया मात्र हो । शारिरीक रुपमा परिपक्वता आएपछि मुख्यतयाः ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोनले गर्दा पाठेघरको भित्री तहमा आएको परिवर्तन र सो तह टुक्रिएको कारणले महिनावारी हुनेगर्छ । महिनावारी हुनुका पछाडि हाईपोथालामस्, पिट्युटरी ग्रन्थी, अण्डासय र पाठेघर सबैको आ–आफ्नै भूमिका रहेको हुन्छ । यो सत्यतथ्य जानेका शिक्षित महिलाहरु पनि अन्धविश्वासले गाडिएको चलनबाट उम्कन सकेका छैनन् । त्यसैले यस उल्लासको चाडमा कतै महिनावारी शुरु भए र अझ टिकाको दिन भइदिए चाड नै खल्लो महसुस हुने हुन्छ । त्यसैले यस अवस्थामा महिनावारी नभएको राम्रो धेरैलाई लाग्नसक्छ । महिनावारीका समयमा सरसफाईमा पु¥याउनुपर्ने थप ध्यान, टिका लगाउन गर्नुपर्ने दौडधुप र यसका पीडाका कारण पनि दसैैंको मुख्य समयमा धेरैले महिनावारी सार्ने चाहना राख्ने गरेको पाइन्छ ।
महिनावारी नियमित रहेका महिलाहरुमा महिनावारी हुने मिति अनुमान गर्न सकिन्छ । यस्ता महिलाहरुको टिकाको शुभ साइतमा महिनावारी हुने रहेछ भनेपनि सजिलै महिनावारी २–४ दिन पर सार्न सकिन्छ । यस अवस्थामा महिनावारी हुने दिन भन्दा १–२ दिन अगाडि बजारमा उपलब्ध हुने प्रोजेष्टिन चक्की प्रयोग गर्न सकिन्छ । परिवार नियोजनका लागि प्रयोग गरिने खाने चक्की पिल्समा पनि ईस्ट्रोजेन र प्रोजेष्ट्रोन हर्मोन हुने भएकाले यो प्रयोग गर्न सकिन्छ । यस्तो चक्कीहरु नियमित रुपमा थोरै अवधि (२–४ दिन) मात्र प्रयोग गर्नाले महिनावारी अनियमित हुने तथा अन्य गडबडी हुनसक्छ । त्यसैले यस्ता चक्कीहरु पूर्ण अवधि अर्थात २१ दिन नै खानु राम्रो हो ।
दसैंमा घरमा नै खसी मार हान्ने रमाइलो अवसर पनि हो । गर्भवती, सुत्करीले मासु खान मिल्छ कि मिल्दैन भन्ने जिज्ञासा खासै होला जस्तो लाग्दैन । स्वास्थ्यको दुष्टिकोणले मासुलाई अति राम्रो वा पोषिलो अनि स्वस्थ्यकर खानेकुराका रुपमा लिइन्छ । दैनिक ३० देखि ५० ग्राम (शरीरको बनौट र कामको प्रकृति हरेर) मासु खानाले हाम्रो शरीरलाई आवश्यक खनिज पर्दाथहरुको मात्रा पुग्नेहुन्छ । त्यसैले मासु बढ्दो उमेरका बालवालिकाहरु, गर्भवती वा सुत्केरी महिलाहरुलाई मात्र होइन विरामी तथा कमजोर व्यक्ति वा बृद्धाहरुका लागि औषधि सरह नै उपयोगी हुन्छ । एक सय ग्राम खसीको मासुमा २२ ग्राम प्रोटिन ४ देखि ५ ग्राम चिल्लो पदार्थ १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ १ देखि १ दशमलव ५ ग्राम खनिज पदार्थ ६० ग्राम पानी तथा भिटामिन ए, वि, सी आदि पाइन्छन् । मासु भने सफा र ताजा हुनुपर्छ । गर्भवती तथा सुत्केरीहरुलाई त्यसै पनि कब्जियतको समस्या हुने र मासुले थप कब्जियत गराउने भएकाले यस अवस्थामा साग तथा रेसादार खानेकुरा र पानी प्रशस्त सेवन गर्नुपर्छ ।
(डा. साह मोरङ सहकारी अस्पताल विराटनगरका प्रसुति तथा स्त्रीरोग बिशेषज्ञ हुन् ।)