दसैं मन्थन : उपभोगको उत्सव

 उज्ज्वल प्रसाई

‘दसैं आयो,’ लगभग एक महिना अघिदेखि बजारमा हल्ला सुनिन्छ । हरेक वर्ष शरद ऋतुको सुरुवातसँगै दसैं–गफ सुरु हुन्छ । फेसबुक जस्ता सामाजिक भनिने सञ्जालमा दुर्गा भवानीको सन्देश र आर्शिवाद पठाउने होड चलेको केही दिन भयो । पत्र–पत्रिका र अन्य सञ्चारमाध्यमहरु दसैंको रौनकमा रंगिन थालेका छन् । सधैं सादा देखिने पत्रिकासमेत यसबेलामा भने रंगमा लतपतिएर निस्कन्छन् । कोरोना महाव्याधि नसकिएकै भएपनि दसैंको रौनक सुरु गर्नमा बजार जोरजुलुम गरिरहेको छ ।

दसैं आउनु भनेको आखिर के आउनु हो ? त्यस्तो के आउँछ, जसका लागि नेपाली हिन्दुहरुको व्यग्र पर्खाइ हुन्छ ? ठूलो चाडका रुपमा दसंैं मनाउन थाल्दा के–के क्रियाकलापलाई दसैं भनिन्थ्यो होला ? यो खोजको विषय हो ।

पुरानो जमानामा मनाइने दसैंका वर्णन गर्नसक्ने मान्छे अझै छन् । उनीहरुको सम्झनामा छापिएको दसैंको तस्बीर अहिलेको दसैंसँग कति मिल्छ ? केही दिनअघि पोखरामा भेटिएका ७० हाराहारीका डि.बी. गुरुङ भन्दैथिए, ‘खै, दसैं आएको गएको खासै पत्तो हुँदैन थियो हाम्रो लमजुङको गाउँमा । यता पोखरा झरेपछि हामीलाई भन्दा केटाकेटीलाई बढी दसैं लाग्न थाल्यो । यो र त्यो चाहियो भन्न थाले ।’ बजार व्यवस्थाले सबै मानवीय सम्बन्ध र मानव निर्मित संस्कारलाई आफू अनुकूल बनाए जस्तै दसैंको परिभाषा पनि बदलेको छ ।

खरिदबिक्री उत्सव

काठमाडौंबाट इलाम जान बस चढ्न कोटेश्वर पुगेका कोही भन्दैछ, ‘मलाई त यो सिजनको घाम नै दसैंको घाम जस्तो लाग्छ । यस्तो खाले घाम लाग्न थालेपछि घरको याद आउँछ ।’ सागर शर्मा काठमाडौंमा अध्ययनका लागि बसेको हो । शरद ऋतुको आगमनसँगै बतासमा मिसिने हलुका चिसोपन र सुस्तरी घट्ने घामको रापले दसैं बोकेर आउने उसको आसय हो । घर जानुअघि उसले न्यू रोड, दरबार मार्ग, र जावलाखेलमा लगभग तीन दिन बिताइसकेको हुनुपर्छ ।

‘सपिङ’ गर्ने काम सबै दसैंलाई साँचेकाले चाहिएका सामान खरिद गर्न ठाउँ–ठाउँ चहार्नेहरु धेरै हुन्छन् । न्युरोड पुगेर सामसुङको मोबाइल किन्ने, दरबार मार्गमा आफू र आफन्तलाई एक–एक जोर रिबोक जुत्ता किन्ने, जावलाखेलको फ्याब इन्डिया नामको पसलबाट टि–सर्ट र प्यान्ट खरिद गर्ने । घर लिएर हिँड्न खोजेको झोलाको आकार औसतभन्दा ठूलो देखिन्छ । त्यही झोलामा भरिन्छ दसैं ।

चितवन घर भएको अर्को कोही अमेरिका उड्ने ध्याउन्नले केही समयदेखि काठमाडौंमा हुन्छ । थालेका प्रक्रिया सबै नसकिएकाले पाताल प्रवासका लागि अझै केही समय लाग्ने देखिएपछि दसैं मनाउन फेरि घरै झर्ने तरखरमा हुन्छ । कमलपोखरीको सिटी सेन्टर पुगेर खरिद गर्छ । उसले भन्छ, ‘दसैं भनेकै यही त हो नि, सपिङ गर्नु, मीठो खाना खानु, आफन्तहरुसँग रमाइलो गर्नु ।’

त्यसैले दसैं मनाउने यात्रा सपिङबाट सुरु भएको हुन्छ । हालसालै मात्र आफ्ना लागि कपडा खरिद गरेकाले अहिले भने एउटा ‘¥याप’ मात्रै किनेको कोही बताउँछ । सपिङ सेन्टरतिरै विराटनगरको कोही भेटिन्छ जो भनिरहेको हुन्छ, ‘अब सबैका लागि किनिदिनै प¥यो । सासु ससुरादेखि भतिजोलाई पनि अलिअलि सामान किनिदिएँ, लगभग २५ हजारको सामान किनिएछ ।’

ठूल्ठूला झोलामा दसैं बोकेर निस्किनेहरु महाव्याधिमै पनि उल्लेख्य हुन्छन् काठमाडौका न्युरोड र सुन्धारा, जावलाखेल, कमलपोखरी वा विराटनगरकै हरेक चोकमा । यो थिति काठमाडौं वा विराटनगर जस्ता ठूला सहरको मात्रै होइन । नेपालका सबै सहरहरुमा भएका साना ठूला पसलहरु यसबेला चलायमान देखिन्छन् । अरु बेला सुनसान भएपनि दसैंको बेला केही चहलपहल सबैतिर हुन्छ । मुलतः उपभोग्य सामाग्रीको खरिद विक्रीको मात्रा दसैंमा ह्वात्तै बढ्ने गरेको छ । ‘हामी व्यापारीलाई पनि यो मौका हो । कम्पनीहरुले केही न केही अफरहरु दिएका हुन्छन्, दसैं भनेर । स्थानीय ग्राहक पनि दसैं कुरेर बसेका हुन्छन् किनमेल गर्न,’ काठमाडौं बाहिर रेडिमेड कपडा पसल चलाउने एक व्यापारीले सुनाए ।

सीमान्त सहरका हिन्दु नेपालीहरुको घुइँचो यसबेला भारतीय सिमानाका भारतीय बजारहरुमा पनि उतिकै देखिन्थ्यो सधैं । कोरोनाकालमा सहजतापूर्वक आवतजावत सुचारु भइनसकेकोले पहिलेका दसैं जस्तो घुइँचो त्यता नहुनसक्छ । खाद्यान्न जोहो गर्ने मनसुवाले पानीट्यांकी र जोगबनी जस्ता बजार नेपालीहरुले गुलजार बनाइदिएकै हुन्छन् । अन्य सामान्य अवस्थामा समेत भीडभाड हुने पानीट्यांकीमा अतिरिक्ति नेपाली ग्राहकहरु खनिएका छन् ।

दसैंको टीका नजिकिँदै जाँदा मासु र मदिराको जोहो गर्ने ध्याउन्न बढ्न थाल्छ । कोही खसी खोज्न बजार निस्किन्छन् भने कोही गाउँमा काटिने खसीको ताजा मासु व्यवस्थापन गर्न गाउँतिर पस्न थाल्छन् । काँचा केराका घरी, दूध, घिऊ, दही आदिको बन्दोबस्त पनि समयमा नगर्दा पछि झ्वाप्प दसैंले छोपिसकेपछि भनेजस्तो सामान खरिद गर्न पाइँदैन । राम्रो आम्दानी भएका मदिराप्रेमीहरुले ‘इम्पोर्टेड माल’ खोज्ने बेला पनि यही हो । त्यसैले दसैं मनाउन तयारी गर्दै गरेकाहरुका लागि अहिलेको सबैभन्दा ठूलो प्राथमिकता उपभोग्य सामाग्रीको जोहो गर्नु हो । त्यसका लागि चाहिने रकम खोज्नु र बजार निस्केर खरिद गर्न थाल्नु हो ।

समृद्धिको स्पर्धा

आफन्त भेटघाट गर्ने, परिवारका सबै सदस्य भेला भएर रमाइलो गर्ने र वर्षभरिका क्लेश मेटाउने उद्देश्य आफैमा सुन्दर सुनिन्छ । त्यस्तो प्रयोजनका लागि समेत दसैं उपयुक्त समय मानिन्छ । तर, त्यसरी भेला हुँदा परिवारका सदस्यबीचमा समेत नजानिँदो प्रतिष्पर्धा चलिरहेको हुन्छ– कसले कति खर्च गरेर कस्ता सामाग्री खरिद ग¥यो ?

‘दसैंमा मावल जाने केटाकेटीले मामा र सानिमाका छोराछोरीले भन्दा राम्रा लुगा र जुत्ता, मोबाइल र घडी आफूले लगाएको हुनुपर्छ भन्ने दाबी गर्न थालेका छन्,’ एक अधवैंशेले दुःख बिसाए । त्यसैले उनीहरुले गरेका माग बमोजिम सामान खरिद गर्न उनलाई हम्मे परेको छ । दसैंमा नयाँ कपडा लगाएर भेला भएका आफन्तहरु घरका अग्रज हजुरबा हजुरआमा वा बा–आमासँग टिका थाप्न पंक्तिबद्ध भएका बेला समेत उनीहरुका आँखा एक अर्काले लगाएका लुगा र गहनामा अडिएका हुन्छन् । पंक्तिमा नजिकै बसेको कोही एक जनाले अर्काको कपडा यसो छामेर ‘कतिमा किनेको ?’ भन्नथाल्छ । अर्काले चस्मा हातमा लिन्छ र त्यसको गुणदोषबारे वर्णन गर्नथाल्छ । महिला र गहनालाई जोडेर व्यंग्य गरेको धेरै सुनिन्छ तर दसैंमा सुनको मोटो सिक्री बाहिर देखिने गरी हल्लाएर हिँड्ने पुरुष थुप्रै भेटिन्छन् ।

गाडी भएका आफन्तहरुबीच कसको गाडी कति महंगो र कति नयाँ मोडलको भन्नेमा प्रतिस्पर्धा हुनेसमेत यही दसैं हो । कारण, ती सबै आ–आफ्ना गाडी लिएर मूल घर वा मुल ससुराली घरमा भेला भएका हुन्छन् । उदाहरणका लागि चार भिन्न परिवार एउटै मूल थलोमा दसैं मनाउन भेला भए भने के हुन्छ ? गाडीधनी तीन परिवार छन् र एउटा परिवारको गाडी छैन भने त्यो गाडी नहुने मान्छेले दसैंको माहोलमा आफूले योगदान गर्ने गफको विषयसमेत भेट्दैन । उपभोगको दुनियाँलाई आलोचनात्मक ढंगले बुझ्ने सामथ्र्य रहेछ भने उसले यस्तो गाडी–गफबाट समाजको चरित्रबारे बुझ्न खोज्छ । तर, आलोचनात्मक चेतना नभएको मान्छे रहेछ भने, गाडी–गफबाट ऊ दिक्दार हुनपुग्छ । धेरैजसो सन्दर्भमा यस्ता मान्छेको दसैं नै खल्लो भएर सकिने खतरा बढी हुन्छ । कारण, उपभोगको त्यो स्पर्धामा उसले आफूलाई निम्छरो भएको पाउँछ ।

यसरी हे¥यो भने, दसैं भन्नु आखिर उपभोग हो र उपभोगको प्रतिष्पर्धा हो । किसानले मिहिनेत गरेर आफै उत्पादन गरेका फसलमध्ये सबैभन्दा मिठो छानेर एक वा दुई दिन आफन्त भेला पारेर खानु खुवाउनु कुनै अनौठो होइन । पहिले पहिले दसैं यस्तो एउटा मौका हुने गथ्र्यो । यद्यपि जग्गा जमिन प्रशस्त हुने, फसल प्रशस्त भित्र्याउन सक्नेका लागि मात्रै यस्तो रमाइलो जुथ्र्यो । अहिले भने, आफूले उत्पादन गरेको चीज उपभोग गरेर मात्रै दसैं मनाउँछु भन्न सम्भव छैन । त्यसैले दसैं मनाउने सबैलाई बजारको भर पर्नुपर्ने बाध्यता छ । यही बाध्यताको फेर समातेर दसैं मनाउने प्रत्येक मान्छेलाई बजारले सोइसोइला खेलाउँछ ।

अभावको खिसी

दसैं एकथरीलाई उपभोगको उत्सव हो । माथिका प्रसंग कुनै दुःखले जोहो गर्नेहरुको कथा हो भने कुनै पुगिसरी आउनेको । तर, अभाव र चरम गरिबीबाट पिल्सिएका मानिसहरु पनि यो समाजमा छन् । वर्गीय र जातीय विभेदले गाँजेको समाजमा दसैं सबैका लागि एकरुप हुने कुरै भएन । त्यसउपर भर्खरै बाढी र पहिरोका शिकार भएका अनेकौं परिवार यहाँ छन् । हाम्रै वरिपरि यस्ता थुप्रै परिवार छन् जो बाढीको कहर खपेर अहिलेसम्म सामान्य बन्न सकेका छैनन् । उनीहरुको दसैं कस्तो छ ? के उनीहरुले गाडी, कपडा र सुनका गहनाका प्रतिष्पर्धामा सामेल हुन पाउँछन् ? वा दुई छाक मिठो मसिनो जुटाउनसमेत दाताको बाटो हेरेर बसेका होलान् ? के तिनका कथा पत्रपत्रिका वा सञ्चारमाध्यमका प्राथमिकतामा पर्छन् ? तिनका कथा लेखेर कुनै कोकाकोला कम्पनीले विज्ञापन दिँदैन त्यसैले उनीहरु आफ्ना दुःख आफंैसँग संगालेर परका झिलिमिली हेरेर बस्न बाध्य छन् ।

बजारशास्त्रले परिभाषित र निर्देशित गरेको यो उपभोगको उत्सवले फेरि एकपटक नेपाली समाजका समस्या सतहमा उतार्छ । गम्भीर अध्येता र सामाजिक आन्दोलनका अभियन्तालाई यो चाड आफैंमा एउटा अध्ययन सामग्री हो ।

मङ्गलबार, २६ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर