मोटरसाइकल चोर्ने धन्दा, एक सयवटा चोरी गर्ने दुई जनाको नालीबेली

चोरीका मोटरसाइकल अवैध मदिरा ओसारपसारमा प्रयोग

विराटनगर । मोरङ र सुनसरीबाट सय भन्दा बढि मोटरसाइकल चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा–६ का ४० वर्षीय नजाम अन्सारी र .भोक्राहा नरसिंह–२ का २३ वर्षीय निकाइल अन्सारी छन् । उनीहरुको धन्दा नै मोटरसाइकल चोरी गर्ने थियो । उनीहरुले चोरेका मोटरसाइकल अवैध मदिरा भारततिर ओसारपसार गर्न प्रयोग गरिन्थ्यो । उनीहरुलाई मोरङ प्रहरीले चलाएको अपरेशनको क्रममा पक्राउ गरिएको हो ।

अन्सारीद्वयले नेपालबाट चोरी गरेको मोटरसाइकल भारतको जोगवनी, फारवेसगन्ज र फुल्काहा लगायतका बजारमा बिक्री गर्दथे । प्रहरीले उनीहरुलाई मंसिर २९ गते पक्राउ गरेको थियो । पक्राउ परेका प्रतिवादीहरुलाई आइतबार मोरङ अदालतमा सरकारी वकिलको कार्यालयमा मार्फत अभियोग दर्ता गराएको छ ।

प्रहरीका अनुसार उनीहरुले विराटनगरबाट मात्र सात वटा मोटसाइकल चोरी रहेको खुलेको छ । यसअघि पनि एक सय बढी मोटसाइकल चोरी गरेको बयानको क्रममा स्वीकार गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रन्जनकुमार दाहालले जानकारी दिए । ‘पक्राउ परेका गिरोह श्रृङ्खलाबद्ध चोरीको घटनामा संलग्न रहेको प्रतिवादी रहेको खुलेको छ,’ उनले भने, ‘विगतको घटनाक्रम पनि अपराधिक गतिविधिमा संलग्न रहेको छ ।’
चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाईकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको प्रहरीले जनाएको छ । ‘चोरीमा संलग्न गिरोहको पक्राउ पश्चात मोटरसाइकल चोरीका घटनामासमेत निकै कमी आएको छ,’ डिएसपी दाहालले भने ।

पक्राउ परेका उनीहरुले गत भदौ १० गते विराटनगर–२ बन्जरा चोकमा पार्किङ गरी राखेको को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल चोरी गरे । त्यसको एक महिना पछि असोज ५ गते विराटनगर–४ नोवेल अस्पताल परिसरबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ ।

उनीहरुले मंसिरमा दिनैपिच्छे चोरी गरेको प्रहरीको अभिलेखमा देखिन्छ । यसैगरी मंसिर ६ गते विराटनगर–७ सेन्ट्रल मलको अण्डरग्राउण्ड पार्किङमा पार्किङ गरी राखेको को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल, मंसिर ८ गते विराटनगर– ९ गद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा कम्पनीको मोटरसाईकल, मंसिर ९ गते विराटनगर–७ कोशी अस्पताल परिसरबाट को.२५ प १८११ नं. को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, मंसिर २२ गते विराटनगर–४ नोबेल अस्पतालको पार्किङ स्थलमा पार्किङ गरी राखेको को २९ प ५५४ नं. को हिरो कम्पनीको स्प्लेण्डर मोटरसाइकल र मंसिर २७ गते विराटनगर–६ भाटभटेनी सुपरमार्केटको पार्किङ स्थलमा पार्किङ गरी राखेको होण्डा कम्पनीको को. २१ प ५८९४ नम्बरको साइन सिवि मोटरसाइकल चोरी गरेको आरोप छ ।

पक्राउ परेका अन्सारी विगतमासमेत अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । अन्सारी २०५९ मंसिर ८ गते चोरी कसूरमा मुद्दा दर्ता भएको थियो । उनी अदालतबाट ५ हजार धरौटीमा छुटेका थिए । उनी चोरीमा छुटेपछि फेरी अपराध कर्ममा लागेको देखिन्छ । त्यसपछि २०६७ पुस २० गते सुनसरीबाट केही सार्वजनिक अपराधमा मुद्दा दर्ता भएको देखिएको छ । त्यसपछि २०६७ माघ २ गते जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ९ हजार धरौटीमा छुटेको देखिन्छ । अन्सारी २०५९ सालेदेखि २०७९ असोज १५ गते विभिन्न अपराधमा संलग्न रहेको अभियुक्त रहेको खुलेको छ ।

मङ्गलबार, २४ पुष, २०८०, बिहानको ०८:२० बजे

प्रतिक्रिया:

सम्बन्धित खवर