भरत गुरागाईँ बर्बरीक
लु आउनुहोस् ! भ्रममा बाँचिरहेका सम्पूर्ण भ्रमितहरु आउनुहोस् ! हामी सबै दिग्भ्रमितहरु मिलेर नयाँ भ्रमको खेती गरौँ । हामी यस्तो भ्रमको खेती गरौँ कि सिंगो दुनियाँ हामीले छरेको भ्रमलाई जीवनको शाश्वत सत्य मानेर भेडाले जस्तै भ्याभ्या गरिरहुन् । हामी त्यही भ्रम बोक्नेहरुको ढाडलाई सिँढी बनाएर मोजमस्तीको शिखर आरोहण गरिरहौं ।
मैले यसो भनिरहँदा तपाइँको चित्त कताकता छट्पटिंदै होला । बर्बरीकले आज कुन प्रसंगमा के कुरा गर्न लाग्यो भन्ने जिज्ञासा लागेको होला । मैले खास केही कुरा गर्न खोजेको होइन । मलाई लागेको कुरा यत्ति मात्रै हो कि हाम्रो समाजमा भ्रममा बाँचिरहेकाहरुको पार्टी खोल्ने हो भने नेपालका कुनै पनि पार्टीहरु भन्दा ‘भ्रम पार्टी’ ठूलो हुने निश्चित छ । तर, मलाई के कुरा प्रष्ट थाहा छ भने भ्रम पिएर बाँचिरहेका विचराहरुको पार्टी जतिसुकै ठूलो भएपनि निक्कै अगाडि दक्षिण अफ्रिकामा अल्पसंख्यक गोराहरुले बहुसंख्यक कालाहरुमाथि शासन गरे जस्तै भ्रम छर्नेहरु नै हाबी भएका हुनेछन् ।
शिक्षकले पृथ्वीलाई ऐरावत हात्तीले बोकेको छ भनेर नैतिक शिक्षा घोकाउँछ र विद्यार्थीलाई ज्ञानवान बन्नेछस् भनेर आशीर्वाद दिन्छ । विद्यार्थी मख्ख पर्छ । चुनावको मुखमा नेताले मतदातालाई सुन्दर जीवन एकदम नजिक छ भनेर सपना देखाउँछ । विचरो मतदाता लट्ठ पर्छ । तथाकथित प्रेमी वा प्रेमिकाले एक अर्कालाई ‘तँबिना म बाच्नै सक्दिनँ’ भनेर भ¥याकभ¥याक गर्छन् र थोरै पनि मौका पाउना साथ तिनै प्रेमी वा प्रेमिका भनिनेले निर्लज्जतापूर्वक अर्काे जोडी लिएर मनदेखि बनसम्म, खोलाको जलदेखि सपिङ्ग मलसम्मको यात्रा गरिहाल्छन् । यही कुरा आदर्श भएको छ, समाजमा । छोरोले ठूलो भएपछि बुढेसकालमा हामीलाई पाल्ला भन्ने बुढाबुढीको गहिरो सपना हुन्छ । छोरो चाहिँ आमाबाबुलाई फाल्ने डोको बुनिरहेको हुन्छ । अन्धविश्वास जागेर उठेपछि कसको के लाग्छ र ! पितृमोक्षको लागि श्राद्ध कर्म गर्नेहरु श्राद्धको पिण्ड र फल पितृहरुले पाउँछन् भन्ने अटल विश्वासमा हुन्छन् । यस्ता उदाहरणहरु मसिनो गरी खोज्दै जाने हो भने एकसे एक आफ्नै वरिपरि भेटिन्छ । हामी भ्रमको यति गहिरो दलदलमा छौँ नि जहाँबाट उम्किनै नसक्ने गरी भास्सिएका छौँ ।
भ्रमले शिकार गरेको एउटा प्राणी तपाईं पनि हो जस्तो लाग्छ, मलाई । तपाईँले जीवनमा कति भ्रम छर्नुभो ? त्यसको हिसाब तपाईँसँगै होला । मेरो कुरा गर्नुहुन्छ भने म कसैलाई पनि छिट्टै विश्वास गर्छु र अन्धविश्वासी बनेर समर्पित भैहाल्छु । त्यसैले भ्रमको खेती ममाथि अलि बढी नै हुने गर्छ । विश्वास नै यस्तो कुरा हो जसको जगमा भ्रमको खेती सजिलो हुन्छ । शिक्षण पेशामा २६ वर्ष बिताउँदा विचरा मैले कति धेरै भ्रम छरें हुँला ।
नाटक मेरो क्षेत्र हो । मेरो जीवनमा विगत ४० वर्षदेखि चल्दैरहेछ, यो यात्रा । म मैले लेखेको र अभिनयसमेत गरेको ‘पर्खाल’ नाटकको प्रसंग उठाउँछु ल । एक घण्टाको त्यो नाटकको अन्तिम दृश्य सकिएपछि म सामान्य अवस्थामा दर्शकमाझ उपस्थित हुन्छु, देख्छु–सबैजसो दर्शक रोइरहेका हुन्छन् । तपसिलमा जतिसुकै कुराहरु भएपनि त्यहाँ मैले छरेको भ्रमले ठूलो काम गरेको छ । मुलतः एउटा कथालाई बनाएको ‘नाटक’सत्य होइन भन्ने मान्दैन दर्शक र बित्थामा रुन्छ ।
हिजोआज राजनीतिका कुरा ग¥यो भने धेरै मान्छेहरु भागिहाल्छन् । तपाईँलाई कस्तो लाग्छ, मलाई थाहा छैन । यो प्रसंगमा थोरै राजनीतिका पनि कुरा राखौँ है । हिजोअस्तिदेखि अहिलेसम्म पनि नेताहरु सडकमा नै निस्किएर भ्रम छरिरहेका छन् । यदि तपाईं कुनै पार्टीमा हुनुहुन्छ भने तपाईँलाई लागिरहेको हुनसक्छ ‘यो मेरो पार्टी हो, मेरा नेताहरु सिद्धान्तको उच्च आदर्शले अनुप्राणित छन् ।’ मेरो प्रिय पाठक साथी ! भ्रमको पर्दा च्यात्नुस् अब । यो भन्दा ठूलो दिग्भ्रम के हुन सक्ला र !
मैले ‘सर्ट कमेन्ट’ मार्फत तपाईँलाई भ्रम छरिरहेको जस्तो लागको छैन भने यो मेरो ठूलो सफलता हो । आउनुहोस्, हामी भ्रमले घाइते भएकाहरुको एउटा विशाल पार्टी बनाऊँ ।