बाटो बिराएका शिक्षक…

 सम्पादकीय

शिक्षक एउटा मैनबत्ती हो, जो आफू जलेर बिलाउँदै अरुलाई उज्यालो दिन्छ भन्ने भनाईले एउटा आदर्श शिक्षकको कल्पना गर्छ । त्यस्तो शिक्षक जसले दुनियाँलाई ज्ञानको उज्यालोतिर डोर्याउँछ । हरेक विद्यार्थी काँचो माटो हुन्, तिनलाई आकार दिने काम पनि शिक्षकले नै गर्छ भनिन्छ । विश्व शिक्षा इतिहासमा यस्ता धेरै आदर्श भनाई र पात्र छन्, जसले शिक्षकलाई समाजको सबैभन्दा सम्मानित तहमा राखिनुपर्ने कुराको वकालत गर्दछ । ज्यादै गहन दायित्वसहितको पेशा भएकै कारण शिक्षकहरुलाई यसरी ‘सम्मानित’ दर्जा र ‘संवेदनशील’ व्यक्ति मानिएको हो ।

शिक्षकबारेको यस्ता आदर्श कल्पना अब नगरे पनि हुने अवस्था आइसकेको छ । अहिले होइन, धेरै पहिलेदेखि । भर्खरै सम्पन्न भएको (र, जारी नै रहेको) नेपाली काँग्रेसको आन्तरिक चुनावले त शिक्षकहरुबारे झनै सोच्न बाध्य बनाएको छ । किनभने, सामुदायिक विद्यालयमा पढाइरहेका धेरै शिक्षकहरुले काँग्रेसको चुनावमा भाग मात्रै लिएनन्, चुनावै जितेर अर्को चरणको तयारी पनि थालिसकेका छन् । गएको शुक्रबार मात्रै विराटनगरमा प्रेस संगठनले आयोजना गरेको कार्यक्रममा दलका नेताहरु शिक्षकहरुलाई दलको झोला नभिराउने प्रतिबद्धता व्यक्त गर्दैथिए । त्यसको भोलिपल्टै मोरङका धेरै शिक्षक काँग्रेसको चुनाव लड्दै थिए । यसले दलहरुका लागि ‘प्रतिबद्धता’ केवल सार्वजनिक खपतका लागि मात्रै हो, कार्यान्वयनका लागि होइन भन्ने फेरि प्रमाणित गरेको छ । र, शिक्षकहरुले उदाहरणीय बन्नुपर्ने दायित्व बिर्सेर जसरी पेशागत मर्यादा भुले, त्यसले हाम्रा शिक्षकहरुको पेशागत प्रतिबद्धता र इमानमा प्रश्न उठाएको छ ।

निश्चय नै शिक्षक विचारविहीन हुनै सक्दैन । उसको निश्चित कुनै दल वा विचारप्रति झुकाव रहनसक्छ । बहुदलीय प्रतिष्पर्धायुक्त मुलुकमा यो अनौठो कुरा होइन । उनीहरुले राजनीतिक आस्थालाई मतदानमा सिमित तुल्याउनुपर्छ । तर, जब शिक्षकहरु आफ्नो पेशागत दायित्व भूलेर दलीय चुनावमा उम्मेद्वार बन्छन्, सक्रिय हुन्छन् भने त्यो आपत्तिजनक मात्रै होइन दण्डित गर्न लायक कमजोरी हो । शिक्षा ऐन तथा अन्य प्रावधानहरु मिचेर खुलेआम दलीय राजनीति गर्ने छुट शिक्षकलाई दिइनुहुन्न । यदि सक्रिय राजनीतिमा जाने इच्छा भए उनीहरुले पहिले सेवाबाट अवकाश लिनुपर्छ । अन्यथा स्कुलको जिम्मेवारी उनीहरुका लागि प्राथमिक दायित्व हो । राज्यले त्यसैका लागि उनीहरुलाई सेवासुविधा दिएर खटाएको हो ।

सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर किन खस्कियो भन्ने प्रश्न आम रुपमा उठिरहने गरेको छ । यसको सबैभन्दा ठूलो दोषी ती शिक्षक हुन्, जो नागरिकको करको तलब लिएर तिनै नागरिकका छोराछोरी पढाउँदैनन् । केवल दलको झोला भिर्छन् अनि सक्रिय राजनीतिक गतिविधिमा सामेल हुन्छन् । कक्षा कोठामाभन्दा तिनको समय राजनीतिक मैदानमै बढी बित्छ । यसरी आम नागरिकका छोराछोरीको भविष्यमाथि खेलवाड गर्ने शिक्षकहरु कारवाहीको भागिदार बन्नुपर्छ ।

निश्चय नै शिक्षकलाई दलको झोला बोकाउने काँग्रेस एक्लो दल होइन । सबै दलले उही शैली समातेका छन् । भर्खरै गठित नेकपा एकीकृत समाजवादीले शिक्षक–कर्मचारीलाई सदस्य नबनाउने भने पनि घुमाउरो रुपमा उसले पनि त्यही गतिविधि जारी राखेको छ । यसरी दलहरुले नै शिक्षालय र शिक्षाकर्मीहरुलाई राजनीतिक भरिया बनाएका छन् । त्यसमा समाजका अगुवा मानिने शिक्षक सामेल हुनु दुःखद् हो । यदि मोरङ प्रशासन, शिक्षाका सरोकारवाला निकायहरुले अहिले काँग्रेस चुनावमा सक्रियतापूर्वक लागेका शिक्षकहरुलाई कारवाहीको दायरामा ल्याउने हो भने त्यसले बाटो बिराएकाहरुलाई सही दिशानिर्देश गर्न सहयोग पुग्नेछ ।

सोमबार, ११ असोज, २०७८

प्रतिक्रिया:

सम्बन्धित खवर